काठमाडौँ, जेठ २९ गते । मधेश प्रदेशले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत छात्र क्रिकेटको उपाधि जितेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा मधेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो ।
लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । मधेशका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन जोड्नुभयो ।
बलिङमा लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले समान दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो ।
लुम्बिनीका लागि आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन बनाउनुभयो । मधेशका लागि कृष्ण महतोले तीन, खिलराज सराफ र कप्तान कमलेश दासले दुई तथा मोहम्मद ओजैफ अलीले एक विकेट लिनुभयो ।
राखेपको आयोजनामा भएको यु–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो । विद्यालय खेलकुदमा क्रिकेटसहित एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस र बास्केटबलको प्रतिस्पर्धा भएको थियो ।