• ३० जेठ २०८२, शुक्रबार

चीनका राजदूत चेन इलाम भ्रमणमा

blog

परिवारसहित इलाम भ्रमणमा पुग्नुभएका चिनियाँ राजदूत चेन सोङ्ग। तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) जेठ २९ गते। नेपालका लागि चीनका राजदूत चेन सोङ्गले इलामको सूर्योदय नगरपालिकाको  कन्याम अन्तु सहितका पर्यटकीय स्थलको भ्रमण गर्नुभएको छ। आफ्नो परिवारका सदस्य र काउन्सिलरसहित बिहीबार आउनुभएका राजदूत सोङ्ग सूर्योदयको पर्यटकीय स्थल कन्याम, बुद्धपार्क र अन्तुको भ्रमण गर्नुभएको हो। 

चाइना डिप्लोमेट भ्रमण अन्तर्गत राजदूत सोङ्ग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र सूर्योदयका नगर प्रमुख रणबहादुर राईको समन्वयमा भ्रमणका लागि आउनुभएको छ। 

सूर्योदयको कन्याममा राजदूत सोङ्गलाई नगरपालिका सहित स्थानीयले स्वागत गर्नु भएको थियो। कन्याममा राजदूत सोङ्गलाई जातीय पोषाकमा घोडाचडी गराइएको थियो। उहाँले कन्याम अवलोकन गर्नुभयो। त्यसपछि सूर्योदय नगरपालिकामा औपचारिक स्वागत गरिएको थियो। उक्त अवसरमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, सूर्योदयका उपप्रमुख दुर्गाकुमार बराल लगायतले स्वागत गर्नुभयो। 


नगर उपप्रमुख बरालले सूर्योदयका विभिन्न क्षेत्रका विषयमा उक्त अवसरमा जानकारी गराउनुभएको थियो। राजदुत सोङ्गले सूर्योदयको बुद्धपार्कको भ्रमण गर्नुभयो। उक्त अवसरमा चिया टेष्टिङ र चिजको टेस्टिङ गराइएको थियो। साँझ अन्तुको भ्रमणमा पुग्नुभएका राजदूत सोङ्गलाई स्थानीयले जातीय सांस्कृतिक नृत्यसहित स्वागत गर्नुभयो। 

उहाँले अन्तु पोखरीको समेत भ्रमण गर्नुभयो। राजदूत सोङ्गको शुक्रबार बिहान अन्तु डाँडाबाट सूर्योदयको दृश्यावलोकन गरेर फर्कने कार्यक्रम रहेको छ।  सूर्योदयका उपप्रमुख बरालले राजदूत सोङ्गको भ्रमणले सूर्योदयको  पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो। यसअघि परराष्ट्र मन्त्रालयको आयोजनामा १७ देशका राजदूतले सूर्योदयको भ्रमण गर्नुभएको थियो।