• ३० जेठ २०८२, शुक्रबार

बागलुङका दस स्थानीय तह पूर्णखोप सुनिश्चितता पालिका घोषणा

blog

काठेखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), जेठ २९ गते । बागलुङका दस वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषणा भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

बच्चा जन्मेदेखि १५ महिनासम्मका र १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले पूर्णखोप पाएको सुनिश्चिता सहित दस वटै पालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ । बालबालिकाहरूले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोपहरू पाएका छन् ।

राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरू सबैले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन् । 

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समुहका चार ४४९ जना बालबालिका, गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिका, ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समुहका ६०८ जना र १६ देखि २३ महिना उमेर समुहका ४५४ जना बालबालिका र जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समुहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समुहका २२६ जना बालबालिकाहरूले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।

यस्तै ताराखोला गाउँपालिकामा कुल एक सय ९३ जना बालबालिका, बरेङ गाउँपालिकामा छ सय ४५ जना बालबालिका, तमानखोला गाउँपालिकामा दुई सय ७७ जना बालबालिका, काठेखोला गाउँपालिकामा चार सय ३४ जना बालबालिका, निसीखोला गाउँपालिकामा ८ सय २८ जना बालिबालिका र बडिगाड गाउँपालिकामा सात सय ९५ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाहरु घोषणा गर्नुअघि सबै वडालाई पुर्ण खोप वडा घोषणा गरिएको थियो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अगाडी गत माघ १ गतेदेखि वडा तहमा खोजपड्ताल कार्यक्रम सुरु गरी गरिएको थियो । 

स्वास्थ्य कार्यालय बागलुङले यही जेठ ३० गते बागलुङ जिल्लालाई नै पूर्णखोप जिल्ला घोषणा गर्न लागिएको निमित्त प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । उहाँले पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्यु दर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो ।