प्रेमकथामा आधारित चलचित्रका लागि परिचित हुनुहुन्छ, निर्देशक दिवाकर भट्टराई । ‘मेरो जीवनसाथी’ बाट निर्देशकीय फाँटमा हात हाल्नुभएका उहाँले स्टुपिड मन, ऐश्वर्य, क्याप्टेन, मायावी, रावायण र नरसिंहा : अवतार जस्ता चलचित्रको निर्देशन गरिसक्नुभएको छ । प्रेमकथामै चलचित्र बनाउन रुचाउने निर्देशक भट्टराई यस पटक द्वन्द्वप्रधान चलचित्रमा होमिनुभएको छ । उहाँकै सक्रियतामा महानायक राजेश हमालले चलचित्र नरसिंहा : अवतारबाट आठ वर्षपछि चलचित्रमा पुनरागमन गर्नुभएको छ । निर्देशक भट्टराईसँग वर्तमान चलचित्रको अवस्थामा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
० चलचित्र निर्देशनमा लाग्दा घरपरिवारको प्रतिक्रिया कस्तो थियो ?
– म सामान्य परिवारमा हुर्केको मानिस । अन्यका झैँ मेरो बुवाआमाको चाहना पनि जागिर वा व्यवसाय गरोस् भन्ने थियो । चलचित्रमा लाग्ने भन्ने कुरा असामान्य नै थियो । निर्देशक बन्छु भन्दा काम चाहिँ के गर्ने भन्ने मानसिकता थियो । त्यो परिवेशबाट निर्देशनसम्मको यात्रा मेहनत र सङ्घर्षले बनाएको हो । खासमा कला, साहित्य क्षेत्रमा केही गर्ने सोचले गाउँ छाडेको थिएँ ।
० अभिनेता राजेश हमाललाई लामो अन्तरालपछि अभिनय गराउन कसरी सफल हुनुभयो ?
–महानायक हमाल चलचित्रमा फर्कनु ठुलो कुरा थियो । मैले जुन सोच राखेको थिएँ पछि त्यही कुरा चलचित्रको मुख्य आकर्षण बन्यो । उहाँसँग मेरो यो दोस्रो सहकार्य हो । उहाँ नयाँ कलाकारका हकमा धेरै आज्ञाकारी भएको पाएको छु । हामीले उहाँबाट सिक्नुपर्ने धेरै कुरा छन् । उहाँमा सबैलाई बराबर सम्मान गर्ने बानी सबैले सिक्न जरुरी छ ।
० प्रचार गरिए जस्तो प्रस्तुति चलचित्रमा नभएको कतिपयले टिप्पणी गरेका छन् ? वास्तविकता के हो ?
– सङ्कुचित सोचले भरिएका केही मानिस र मिडियाले गरेको टिप्पणी हो यो । हामीले कहिले पनि महानायक को ‘कम्ब्याक’ भनेर यसलाई बेचेनौँ । महानायकसँगै अन्य कलाकार पनि हुनुहुन्थ्यो । एउटा नयाँ आउँदै गरेको कलाकारलाई बोको र बाख्रोको संज्ञा दिएको सुनेको छु, त्यो भनेको कलाकारमाथि गरिएको एक किसिमको ‘हेरेसमेन्ट’ हो । नामसँग आफूलाई प्रस्तुत गर्नु आफैँमा एउटा चुनौती हो । त्यस कुरामा कोही कलाकार अब्बल देखिन्छन् भने उसलाई प्रोत्साहन गर्नु हाम्रो धर्म हो ।
० नरसिंहाको सफलताबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
– सफलताले मानिस उत्साहित हुन्छ तर सफलतासँगै संयमित हुन जरुरी छ । सफलताले अझ संवेदनशील भएर काम गर्नुपर्ने शिक्षा दिएको छ । त्यसैलाई मनन गरेर भविष्यमा मेहनत र इमानदारीसाथ अघि बढ्छु ।