भैरहवा समाचारदाता
भैरहवा, जेठ २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपत्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाई आह्वान गर्नुभएको छ ।
लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास ‘हातेमालो–७’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपत्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “कुनै पनि विपत् पूर्वजानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ । अहिले गरिने पूर्वतयारीले विपत्बाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ ।”
उहाँले विपत् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि चाहिने सामग्री अभाव हुन नदिन सरकारले ध्यान दिने स्पष्ट पार्नुभयो । उहाँले स्थानीय स्रोतसाधन उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरकार गम्भीर रहेको, तीन वटै सुरक्षा निकायलाई खोज तथा उद्धारका सामग्री उपलब्ध गराइने जानकारी पनि दिनुभयो ।
साथै उहाँले स्थानीय तह र समुदायसँगको सहकार्यबाट विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने भएकाले समुदायको सक्रिय परिचालनमा विशेष ध्यान दिइने बताउनुभयो ।
यस वर्ष लुम्बिनी प्रदेश मनसुनजन्य विपत्बाट बढी प्रभावित हुने प्रक्षेपण गरिएको भन्दै प्रदेश सरकारले तयारीलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै असर पर्ने देखिएको छ । अनुमान अनुसार लुम्बिनीमा एक लाख १९ हजार ८३० घरधुरीका पाँच लाख २३ हजार ६५६ जनसङ्ख्या प्रभावित हुने सम्भावना छ ।
गत १० वर्षको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा मनसुनजन्य विपत्का एक हजार ६१८ वटा घटना भएका छन् । ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् भने आठ हजार ३१५ परिवार प्रभावित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् फोकल पर्सन गङ्गाधर पाण्डेका अनुसार सबैभन्दा धेरै घटना २०८० सालमा २९२ वटा र सबैभन्दा बढी मानवीय क्षति २०७३ सालमा १०७ जनाको मृत्यु भएको छ ।
गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो र भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, नौ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । त्यसबेला करिब ५४ करोड रुपियाँ बराबरको क्षति भएको थियो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपत् प्रतिकार्यमा तीन वटै सुरक्षा निकायको साथ र सहयोगले क्षति न्यूनीकरण गर्न टेवा पुगेको बताउनुभयो ।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘हातेमालो–७’ एकीकृत अभ्यास गर्दै विपत्को बेलाको अवस्था अनुसार खोज तथा उद्धार कार्यमा देखिने व्यावहारिक पक्ष प्रस्तुत गरेका थिए ।