लेखनाथ समाचारदाता
लेखनाथ, जेठ २४ गते । गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समिति सभापतिमा नेकपा (माओवादी केन्द्र) की प्रदेश सभा सदस्य दमयन्ती रुचाल निर्वाचित हुनुभएको छ । बिहीबार नेकपा (माओवादी केन्द्र) की प्रदेश सभा सदस्य रुचालको सभापतिमा एकल मनोनयन भएकोमा शुक्रबार निर्वाचित भएको घोषणा गरिएको हो । समितिका ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले रुचाललाई सर्वसम्मत अध्यक्ष चयन गरेपछि सभामुख कृष्णप्रसाद धितालले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । रुचाल नवलपरासी (बर्दघाट सुस्तापूर्व) की समानुपातिक प्रदेश सभा सदस्य हुनुहुन्छ । दलहरूबिच सामाजिक विकास समिति माओवादी केन्द्रले लिने सहमति बनेपछि नेपाली (कांग्रेस) प्रदेश सभा सदस्यका महेश भट्टराई प्रस्तावक र एमालेका लिलबहादुर थापामगर समर्थक रही रुचालको मनोनयन दर्ता भएको थियो ।
गत वर्षको जेठ ३० गते समितिका तत्कालीन सभापति फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि सभापति रिक्त थियो । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले लेखा समिति सभापति लिन चाहेको भए पनि नेकपा (एमाले) त्यसमा तयार भएन । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान समितिको सङ्ख्या बढाउँदा राम्रो सन्देश नजाने भएकाले सहमतिका आधारमा सामाजिक विकास समिति लिएको बताउनुभयो । गण्डकी प्रदेश सभामा रहेका चार समितिमध्ये प्रदेश मामिला तथा कानुन समिति र अर्थ विकास समितिमा नेपाली कांग्रेसको नेतृत्व छ । लेखा समिति सभापतिमा एमाले सांसद सुधीरकुमार पौडेल हुनुहुन्छ ।