नवराज नेपाली
बागलुङ (गलकोट) जेठ २४ गते । जिल्लाको निसीखोला गाउँपालिकाले दुर्गम कुडुंलामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको छ ।
गाउँमै गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि तीन घण्टा लगाएर राजकुत स्वास्थ्य चौकी जानुपर्ने बाध्यता हटेको स्थानीयहरुले बताएका छन् ।
सो सामुदायिक स्वास्थ्य इकाइ शुक्रबार गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले उद्घाटन गर्नुभएको हो ।
एक सय ५० घरपरिवारको बसोवास हरेको कुडुंलाका स्थानीयहरुले सामुदायिक स्वास्थ्य इकाइ स्थापनापछि सामान्य उपचार र सितामोल ल्याउनकै लागि अस्पताल जार्नुपर्ने बाध्यता हटेको बताउछन् ।
स्थानीय निरमाया तामाङले अब कसैले पनि अकालमै ज्यान गुमाउन नपर्ने बताउनुभयो ।
वडा अध्यक्ष दिपक कुंवरले सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहजरुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले टोलटोलमा मोटरबाटो पुगे पनि बजेट अभावका कारण स्तरउन्नति नहुँदा बर्खाको समयमा बिरामी बोकेर ल्याउन पर्ने बाध्यता समेत हुने बताउनुभयो ।
सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधी र उपकरणको कमी हुन नदिन स्थानीय संगीता विकले आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले भौगोलिक विकटता र छरिएको बस्ती हुँदा सबै ठाउँमा एकै पटक सेवा प्रवाह गर्न समस्या भएको बताउनुभयो ।
उक्त सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ६ लाख ५० हजार विनियोजन गरेको थियो । गाउँपालिकाले तत्कालका लागि एक घर भाडामा लिएर एक जना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको प्रमुख प्रशासकीय अधिकृत जिवन पुनले जानकारी दिनुभयो ।
आगामी आवमा गाउँपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरी भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने उहाँको भनाइ छ ।
निसीखोला गाउँपालिकामा हालसम्म स्वास्थ्यचौकी चार वटा, आधारभूत स्वास्थ्य इकाइ तीन वटा, सामुदायिक स्वास्थ्य इकाइ चार वटा गरी ११ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेको र वडा नं ४ को झिम्पामा पालिकास्तरीय १० शय्याको आधाभूत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ ।