फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्नुभयो । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
“माछापुच्छ्रे कालापत्थर जस्तो देखिन थाल्यो । हिमालले भोगेको यो असर पूरै पृथ्वीले भोग्नुपर्छ,” उहाँले भन्नुभयो । पर्यटन राजधानीको नमुना गन्तव्यका रुपमा पर्वतीय सङ्ग्रहालयलाई विकास गर्न सघाउने उहाँको भनाइ छ । कार्यक्रममा अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार आउनुभएका मौरिस हर्जाेगका छोरा माथियसले ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) सङ्ग्रहालयलाई हस्तान्तरण गर्नुभयो ।
सङ्घीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री पाण्डेसहित माथियसले हर्जाेगको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवादको आवरणसमेत सार्वजनिक गर्नुभयो । हिरक वर्षको अवसरमा सङ्ग्रहालय परिसरमा मौरिससँगै आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको समेत शालिक बनाइएको छ । आङथार्के अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली हुनुहुन्छ भने वालुङ सोनाम मौरिसको आरोहण दलमा शेर्पा टोलीको नेतृत्वकर्ता हुनुहुन्थ्यो ।
स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । सोही अवसरमा सङ्ग्रहालमा मौरिसको अन्नपूर्ण आरोहण समेटिएको अडियो, भिडियोसमेत प्रदर्शन गरिएको छ । अन्नपूर्ण प्रथम आरोहणको फोटो प्रदर्शनी पनि बिहीबारै सुरु भएको छ । तस्बिर र भिडियो अब सङ्ग्रहालयमै राखेर सबै आगन्तुकका लागि खुला गरिने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गण्डकीका हिमालहरु आरोहणका लागि प्रोत्साहन गर्ने योजना सुनाउनुभयो । नेपालका लागि फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभलले अन्नपूर्ण आरोहण इतिहासकै महत्वपूर्ण क्षण बनेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पाहारी, पर्वतारोही पूर्णिमा श्रेष्ठ, विश्वकै १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोही गरिसक्नुभएका मिग्मा जि शेर्पा लगायतले बोल्नुभएको थियो ।
नेपाल पर्वतारोहण सङ्घले सञ्चालन गरेको यो सङ्ग्रहालयलाई जाइकाको सहयोगमा डिजिटाइजेसन गर्न लागिएको सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । कार्यक्रममा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपणसमेत गरिएको छ ।