चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २१ गते । बढ्दो गर्मी छल्न पर्यटकहरु सिन्धुपाल्चोकको सुनकोशी नदीमा र्याफ्टिङमा रमाउन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिकाको फेद सुकुटेमा अवस्थित सुनकोशी नदीमा र्याफ्टिङ खेल्दै सयौं पर्यटकहरु रमाउन थालेका हुन् ।
विश्वभर ६ हजार नदीनाला र्याप्टिङका लागि उपयुक्त मानिन्छन् । त्यसमा १० उत्कृष्ट र्याफ्टिङ खेलका लागि सातौं स्थानमा सुनकोशी र भोटेकोशी नदी पर्दछन् । र्याफ्टिङका लागि विश्वकै सातौं स्थानमा परेका कारण उक्त नदीहरुमा र्याफ्टिङ खेल्न आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो नै लाग्ने गरेको सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका उपाध्यक्ष अन्जान खड्काले जानकारी दिनुभयो । र्याफ्टिङ खेल्नका लागि विगतका तुलनामा पर्यटकहरुको सङ्ख्या बढेको छ ।
सुनकोशी र भोटेकोशी नदीमा र्याफ्टिङ बाहेक माउण्ट बाइकिङ, बञ्जिजम्प, क्यानोनिङ, रक क्लाईलिङ, जङ्गल सफारीबिच स्टे लगायत खेलका लागि पर्यटकहरुको खचाखच हुन्छन् । दैनिक जसो सयौं पर्यटकहरु दुवै नदीमा र्याफ्टिङ खेलिरहेका हुन्छन् । खड्का अनुसार करिब ७५ प्रतिशत आन्तरिक पर्यटकहरु र्याफ्टिङमा रमाइरहेका छन् । सुकुटे क्षेत्रमा मात्रै आधा दर्जन रिसोर्टहरुले र्याफ्टिङ खेलाउँछन् । सुनकोशी नदी र भोटेकोशी नदीमा दुई दर्जनभन्दा बढी रिसोर्ट छन् । उक्त रिसोर्टहरुले नै र्याफ्टिङ लगायतका साहसिक खेल खेलाउँदै आएका छन् ।
र्याफ्टिङ , माउन्ट बाइकिङ, बञ्जिजम्प, क्यानोनिङ, रक क्लाईलिङ, जङ्गल सफारी, बिच स्टेका कारण सुकुटे क्षेत्र पर्यटकीय हब बनेको छ । उक्त सेवाहरु सुकुटे रिसोर्ट, सुकुटे बिच, सुनकोशी बिच रिसोर्ट, सुकुटे रिभर फन, माया बिच, रक रिभर, रिभर वे, थ्रिल भ्याली ह्याममक, स्याण्डी बिच लगायतका दर्जनौ रिसोर्टहरुले र्याफ्टिङलगायतका साहसिक एडभेन्चरका खेलहरु दिँदै आएका छन् ।
सुकुटे क्षेत्रमा र्याफ्टिङलगायतका एडभेन्चर खेलमार्फत सिन्धु पर्यटन विकासमा टेवा पुगिरहेको छ । रिसोर्टमा स्टेका लागि आउने पर्यटकबापत रिसोर्टहरुले चौतारा साँगचोकगढी नगरपालिकालाई प्रति पर्यटक मासिक एक सय रुपियाँ बुझाउनुपर्छ ।
त्यसबापत नगरलाई सरदर वार्षिक एक करोड रुपियाँ सङ्कलन हुने गर्छ । त्यस रकमको ४५ प्रतिशत सुकुटे करिडोर विकासमा लगानी गर्ने र बाँकी रकमबाट नगरको विकासमा लगाउने नगरको नीति छ । नगरपालिकाले सुकुटे क्षेत्रलाई पर्यटकीय हब बनाउने उद्देश्य लिएर काम गरिरहेको छ ।
सुकुटे पर्यटन विकासका लागि विभिन्न चुनौती पनि छन् । अरनिको रामार्ग अन्र्तगत सूर्यविनायकदेखि धुलिखेल–खावा सडक तहसनहसको अवस्थाले पर्यटकहरु र्याफ्टिङ लगायतका एडभेन्चर खेल खेल्न आउन कठिन भइरहेको संघका उपाध्यक्ष खड्काले दुखेसो पोख्नुभयो । उक्त सडकको स्त्तरोन्नति भएमा सुकुटेमा पर्यटकहरुको सङ्ख्या उल्लेखनीय वृद्धि हुनेछ । सडकको अवस्था अनुकूल भएमा राजधानीबाट ६७ किलोमिटर दूरीमा रहेको सुकुटेमा डेढ घण्टामै पर्यटकहरु सहजै आउन सकिन्छ ।