• २१ जेठ २०८२, बुधबार

राजा फर्काउने दिवा सपना मात्र: प्रदीप ज्ञवाली

blog

सुलीकोट, जेठ १९ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजा फर्काउने दिवा सपना नदेख्न चुनौती दिनुभएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको वडा स्तरीय पार्टी निर्माण अभियानलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

दिनै तोकेर राजा फर्काउन सकिन्छ भनेर दिवा सपना देख्नेहरू पनि छन्, उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सर्वथा असम्भव कुरा हो, इतिहासको यो गतिलाई कसैले पछाडि फर्काउन नसक्ने जिकिर गर्नुभयो ।’

नेपाली जनताले दुई दुई चोटि राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजान सकिन्छ भनेर कोसिस गरेको भन्दै उपमहासचिव ज्ञवालीले २००७ सालमा भागेर दिल्ली गएका राजा त्रिभुवनलाई फर्काएर ल्याएर राजालाई गद्दीमा राखेको स्मरण गराउनु भयो । 

तर त्यसको परिणममा विस्तारै विस्तारै अधिकार केन्द्रित गर्दै जनताको शक्ति खोस्दै खोस्दै लगेर २०१७ सालमा जुन पार्टीहरूले क्रान्ति गरे तिनै पार्टीहरूलाई थुनेर ३० वर्ष पञ्चायती व्यवस्था लागु गरे राजा असफल भएको टिप्पणी गर्नुभयो  । जनताको लामो योगदान र आन्दोलन पछि २०४६ सालमा जब पञ्चायत ढल्यो फेरि शङ्काको सुविधा दिँदै सम्झौता गरियो । 

अधिकार जति जनतालाई सम्मान जति राजालाई भनेर २०४६ सालको अन्दोलनमा सम्झौता भयो र २०४७ सालमा संविधान बन्यो । तत्कालीन नेता मदन भण्डारीले त्यति बेला स्टेटमेन्ट जारी गर्दै संवैधानिक राजा पाल्नु भनेको सेतो हात्ती पाल्नु जस्तै भएको भन्दै निकै खर्चिलो हुने बताउनुभएको थियो ।

जुन दिन जनताको अधिकार माथि कुदृष्टि लगाउन सुरु हुन्छ त्यही दिन गणतन्त्र सुरु हुने भन्दै त्यही मनसाय राखेर आँखा चम्काई बक्सियोस् हात नलम्काई बक्सियोस् भन्दै चुनाव लड्ने भए श्रीपेच खोलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ भन्दै चुनौती दिनुभएको उहाँले बताउनुभयो । 

गद्दीका स्वाभाविक अधिकार नभएका ज्ञानेन्द्रलाई चिट्ठा परेको भन्दै जनताले राजाका विरुद्ध नारा लगाई रहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजगद्दीमा लगेर राखेका ज्ञानेन्द्रले उल्टै राजनीतिक दलहरू नजरबन्द राख्ने दलहरूप्रति प्रतिबन्ध लगाउने गलत हर्कत गरेर पटक पटक गल्ती गरेका उहाँका भनाइ छ । 

आज राजा नहुँदा त पत्रकारलाई जिउँदै जलाउने, डिपार्टमेन्ट फुटाउने घरमा आगो लगाउने राजावादी प्रवृत्तिलाई नेपाली जनताले बहिस्कार गरिसकेकाले किमार्थ गणतन्त्र उल्टिन नसक्ने उहाँको तर्क छ । 

राजाको शासनमा गणतन्त्र माग्दा गोली उपहार पाउँथ्यौ अहिले गणतन्त्रमा संसद्को रोस्टमा बसेर अधिकार माग्नु भएको छ त्यही फरक भएकाले पनि नेपाली जनताको गणतन्त्रमा कुचेष्टा नगर्न पनि राजावादीहरूलाई उपमहासचिव ज्ञवालीले आग्रह गर्नुभयो । 

Author

गुणबहादुर रोका