रामेछाप समाचारदाता
रामेछाप, जेठ १८ गते । रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित ङग्युर साम्तेलिङ गुम्बा तथा अध्ययन केन्द्र अलपत्र बनेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ भदौबाट गुम्बा तथा अध्ययन केन्द्रको निर्माण सुरु भएको थियो ।
समयमै काम हुन नसक्दा गुम्बा तथा अध्ययन केन्द्र अलपत्र बनेको मात्रै होइन, निर्माण भइसकेका संरचनासमेत संरक्षण अभावमा जीर्ण बनेका छन् । यो भवन अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा ठेक्का लागेको थियो । तामाङ जातिको संस्कार अनुसार विवाह गर्ने हल भएको दुई वटा सुविधासम्पन्न भवन बन्ने तयारीमा छ । यी संरचना निर्माण गर्न झन्डै सात करोड रुपियाँ लागत अनुमान थियो तर एक वर्षमा काम सम्पन्न गर्ने गरी पाँचपोखरी निर्माण सेवा प्रालिले तीन करोड ४८ लाख रुपियाँमा ठेक्का हात पारेको थियो ।
निर्माण व्यवसायीले सम्झौता अनुसार काम गर्न नसक्दा गुम्बा तथा अध्ययन केन्द्रको भवन अलपत्र बनेको खाँडादेवी गाउँपालिका–५, पकरबासका वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौता नै तोकिएको समयभित्र काम नभए भुक्तानीको जिम्मा पालिकाले लिनुपर्ने गरी भएको रहेछ । ठेकेदारले समयमै काम गर्न नसकेपछि मन्त्रालयले भुक्तानी दिएन । यति ठुलो बजेट पालिकाले भुक्तानी गर्न सक्ने अवस्था छैन ।”
गाउँपालिकाले आवश्यक ताकिता तथा समन्वय गर्न नसक्दा ङग्युर साम्तेलिङ गुम्बा तथा अध्ययन केन्द्र निर्माणको काम अलपत्र बनेको खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा काम सक्ने गरी २०७८ भदौबाट काम सुरु भयो । त्यसबेला निर्माण व्यवसायीले पनि राम्रोसँग काम गर्न सकेनन् । पछि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । त्यसपछि गाउँपालिकाले ताकिता तथा समन्वय गर्न सकेन । यही कारणले अहिले निर्माणको काम अलपत्र बन्यो ।” यसबारेमा आफूले संस्कृति तथा पर्यटन मन्त्रालयसँग बुझ्दा सम्झौता अनुसार प्रगति नभएकै कारणले थप बजेटको व्यवस्थापन नगरिएको भन्ने कुरा आएको उहाँले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले अघिल्लो जनप्रतिनिधि हुँदा नै आएको २१ लाख रुपियाँ बजेट निर्माण व्यवसायीलाई भुक्तानी नदिई पालिकाको सञ्चित कोषमै राखिएको बताउनुभयो । महालेखाको प्रतिवेदनले नै २१ लाख रुपियाँ दुरुपयोग भएको सङ्घको राजस्व खातामा फिर्ता गर्न भनेको छ । यसबारे निर्माण व्यवसायी जानकार छ । “पालिकाले २० प्रतिशत थपेर निर्माण व्यवसायीलाई दिनुपर्नेमा उल्टो आएको पैसा पनि दुरुपयोग भयो,” उहाँले भन्नुभयो ।
सम्झौताको ३३ प्रतिशत मात्रै काम भएको र पहिलो किस्ताबापतको रकम भुक्तानी दिइसकेको भन्दै अब केही गर्न नसकिने भनेर छ महिनाअगाडि अर्थ मन्त्रालयबाट चिठी आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । आफूहरू आएपछि पहिलो बजेट बनाउँदा ठेक्का लागेको रकमको पालिकाले दिनुपर्ने २० प्रतिशत अर्थात् ४७ लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले उहाँको भनाइ छ । त्यसपछि चालु आर्थिक वर्षमा पनि ३० लाख रुपियाँ बजेट रहेको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीले अहिले भएको कामको ८५ लाख रुपियाँ भुक्तानी दाबी गरेको छ । काम सम्पन्न नभएकाले दाबी गरेको रकम भुक्तानी दिन पालिकालाई कुनै पनि आधार नभएको उहाँको भनाइ छ । अहिले पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएर भए पनि गुम्बा तथा अध्ययन केन्द्रको निर्माण पूरा गर्ने सोचमा गाउँपालिका रहेको श्रेष्ठले बताउनुभयो ।