• २१ जेठ २०८२, बुधबार

गणतन्त्रपछि महत्त्वपूर्ण उपलब्धि हासिल

blog

प्रदीप ज्ञवाली उपमहासचिव, नेकपा (एमाले)

निरङ्कुशतन्त्र र लोकतन्त्रको कुनै तुलना नै हुँदैन । समावेशिताकै कुरा गरौँ । जुन सामन्ती राज्यव्यवस्थामा उही राजा वा उही रानीको कोखबाट जन्मेको छोरीले गद्दीतिर फर्केर पनि हेर्न नपाउने एउटा व्यवस्था थियो । आज सर्वसाधारणको घरमा जन्मेको एक जना महिला देशको सर्वोच्च राष्ट्राध्यक्ष बन्नुभयो । सर्वसाधारणको घरमा जन्मेका एक जना किसानको छोरा देशको गणतन्त्रको पहिलो राष्ट्रपति हुनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली विद्वत् नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको विश्लेषणमा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो । गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको उहाँको धारणा छ । नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरिसकेको सन्दर्भमा गणतन्त्र नै वास्तवमा हरेक किसिमले उत्तम व्यवस्था भएको उहाँको भनाइ छ । गणतन्त्र सफल बनाउनु र जनताको उपलब्धि रक्षा गर्नु सबैको कर्तव्य भएको उहाँ बताउनुहुन्छ । यसै विषयमा केन्द्रित रहेर गोरखापत्रका उपसम्पादक अजय शर्मा र समाचारदाता भउचप्रसाद यादवले नेता ज्ञवालीसँग गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ : 

मुलुक अहिले १८ औँ गणतन्त्र दिवस मनाउने क्रममा छ । नेकपा (एमाले) ले गणतन्त्र दिवस मनाउने तयारी कसरी गरेको छ ?

गणतन्त्र दिवस नेपाली जनताको एउटा सर्वाधिक महत्वपूर्ण चाड हो । नेपाली जनताले दशकौँ लामो सङ्घर्षपश्चात् प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि पनि हो । यो जनताले जितेको दिन भएका कारण यस बेला हामीले एक खालको उत्सवका रूपमा मनाउने तयारी गरिरहेका छौँ । यस दिवसका अवसरमा सबै पालिकामा विभिन्न कार्यक्रम आयोजना गरिने छ । केन्द्रीय रूपमा जेठ १५ गते बिहान ११ बजेदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सांस्कृतिक झाँकी, नाचगानसहित विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने छ । यसका लागि उपत्यकाको पार्टी पङ्क्ति, विभिन्न सम्पर्क मञ्च र जनसङ्गठन परिचालन गरेका छौँ ।

मुलुकमा गणतन्त्र आएको १८ वर्ष भयो । अब के कुरालाई ‘फोकस’ गर्ने ? जनतालाई गणतन्त्रबारे कसरी बुझाउने ? जनतामा निराशा पनि देखिएको जस्तो देखिन्छ । यसलाई संस्थागत गर्न के पहल गर्नु पर्छ ?

पहिलो कुरा त एउटा प्रणाली र राजनीतिक व्यवस्थाका लागि १८ वर्ष धेरै लामो समय होइन । एक व्यक्तिको जीवनमा १८ वर्षको वयस्क भयो भनेर उसको वयस्कतामा प्रवेश गर्ने उमेर हो । तर के के कुरामा त्यो उमेरमा उसलाई बन्देजै लगाइएको हुन्छ नेपालको कानुनले । बिहेबारीलगायतका कतिपय विषयमा थप उमेरको समेत माग गर्छ । भन्नुको तात्पर्य एउटा व्यक्तिको जीवनमा उसलाई परिपक्व हुन समय आवश्यक पर्छ भने एउटा नयाँ राजनीतिक प्रणालीका निम्ति, संस्थागत हुन, सुदृढ हुन, यसले पूर्ण रूपले कार्यकारी बनेर काम गर्न र यसका उपलब्धि जनतासमक्ष पुग्न केही समय लाग्छ नै ।

यसको तात्पर्य हामीले यस अवधिमा कुनै उपलब्धि नै हासिल गरेका छैनौँ भन्ने होइन । महìवपूर्ण उपलब्धि हासिल भएका छन्; जसको लामो सूची बनाउन सकिन्छ । अहिले जनतामा देखा परेका केही गुनासा स्वाभाविक छन् तर त्योभन्दा बढ्ता गणतन्त्र मन नपराउनेहरू, जनताको शासन मन नपराउनेहरू, लोकतान्त्रिक प्रणाली मन नपराउनेहरू, जन्मजात श्रेष्ठता, एउटा खास कुलमा, घरानामा, वंशमा जन्मेपछि शासक हुन योग्य हुन्छन् भन्ने खालको सामन्ती सोच राख्नेहरूले योजनाबद्ध ढङ्गले गणतन्त्रविरुद्ध प्रहार पनि गरिरहेका छन् । नकारात्मक भाष्य निर्माण गर्ने कोसिस पनि गरिरहेका छन् ।

यो उत्सव मनाइरहेको बेला हामीले चार/पाँच वटा विषयमा ‘फोकस’ गर्ने छौँ । पहिलो त लोकतन्त्र, स्वतन्त्रता, गणतन्त्र किन महत्वपूर्ण छन् भन्ने कुरा नयाँ पुस्तालाई त्यो सन्देश सम्प्रेषण गर्ने छौँ । नयाँ पुस्ता प्रजातन्त्रमै, गणतन्त्रमै जन्मियो । उसलाई हिजो लोकतन्त्र खोसिँदाको पीडा, लोकतन्त्र नहुँदाको पीडा, स्वतन्त्रता गुम्दाको पीडा अनुभूत भएको छैन । जसरी एउटा चरा जो जङ्गलमै जन्मिन्छ हुर्किन्छ, उसलाई पिँजडाभित्र बस्दाको पीडाबोध हुँदैन । स्वतन्त्रताको युगमा जन्मेको पुस्तालाई त्यो थाहा नहुनु स्वाभाविक होला तर हामीले कथा वाचनमार्फत इतिहासलाई पढाइरहनु पर्छ । हिजोका पीडादायी कालखण्डको स्मरणमार्फत लोकतन्त्रप्रति सजग बनाइरहनु पर्छ । दोस्रो कुरा, यसबिचमा हामीले प्राप्त गरेका उपलब्धिलाई स्थापित पनि गर्नु पर्छ । 

वास्तवमा भन्नुहुन्छ भने निरङ्कुशतन्त्र र लोकतन्त्रको कुनै तुलना हुँदैन । समावेशिताकै कुरा गरौँ; जुन सामन्ती राज्यव्यवस्थामा उही राजा वा उही रानीको कोखबाट जन्मेकी छोरीले गद्दीतिर फर्केर पनि हेर्न नपाउने एउटा व्यवस्था थियो । आज सर्वसाधारणका घरमा जन्मेको एक जना महिला देशको सर्वोच्च राष्ट्राध्यक्ष बन्नुभयो । सर्वसाधारणको घरमा जन्मेका एक किसानको छोरा देशको गणतन्त्रको पहिलो राष्ट्रपति हुनुभयो । आज राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिलाको सहभागिता छ । समावेशिताको दृष्टिले एउटा उत्तम प्रणालीका रूपमा विश्वव्यापी रूपमै एउटा प्रेरणाको विषय बनाएका छौँ । यो उपलब्धि होइन र ? 

मुलुकमा गणतन्त्र, लोकतन्त्र र नयाँ संविधान जारी नभएको भए दलित, सीमान्तकृत समुदाय, मधेशी, मुस्लिम, थारू, जनजाति, ‘ह्वाट एभर’ । राज्यका अङ्गहरूमा आज उहाँहरूको जुन ढङ्गको पहुँच छ, त्यो सम्भावना थिएन । सामाजिक सुरक्षामार्फत हामीले झन्डै ३८ लाख नागरिकलाई बुढेसकालको सहारा दिइरहेका छौँ, त्यो सम्भव थिएन । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्य उपचारको जुन प्रबन्ध गरेका छौँ, त्यो सम्भव थिएन । ९७ प्रतिशत नागरिकका घरमा बिजुली पु¥याएका छौँ, त्यो सम्भावना थिएन । करिब १० वटा छोडेर, आठ वटा छोडेर सबै पालिकामा मोटरबाटोले छोएको छ; जुन हिजोका दिनमा कल्पना पनि गर्न सकिँदैनथ्यो । हामी यी उपलब्धि स्थापित गर्न चाहन्छौँ र यसलाई अझ बढी ‘फक्सनल’, अझ राम्रो ‘डेलिभरी’ दिन सक्ने खालको बनाउनका निम्ति सङ्कल्प पनि गर्छौं ।

यहाँ भन्नुहुन्छ कि लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो । त्यसै गरी यहाँले भन्नुहुन्छ कि हामी नेता र नेतृत्व चरित्र, अनुशासन र आचरणमा बसेनौँ कि ? यसलाई कसरी लिनुहुन्छ ?

निःसन्देह, लोकतन्त्र र गणतन्त्रको सफलता लोकतन्त्र र गणतन्त्र सञ्चालन गर्ने नायक र कर्ताहरूमा भर पर्छ । लोकतन्त्र एउटा उच्चतम प्रणालीको मात्र नाम होइन, उच्चतम संस्कृति, उच्चतम मूल्यमान्यताको र उच्चतम चरित्रको पनि नाम हो । यसमा केही प्रश्न निःसन्देह उठेका छन् । मलाई खुसी कहाँनिर लाग्छ भने यो लोकतन्त्र हो । त्यस कारण कानुनले गल्ती गर्नेहरूलाई ढिलोचाँडो दण्डित पनि गरिरहेको छ । हामीले देखिरहेका छौँ, लोकतन्त्रकै निम्ति सङ्घर्ष गरेका कतिपय साथी पछि गल्ती गर्दा, अनियमितता संलग्न हुँदा, भ्रष्टाचारमा मुछिँदा दण्डित हुनुभएको छ । लोकतन्त्रको सामथ्र्य के हो भन्ने लोकतान्त्रिक व्यक्तिहरूले पनि गल्ती गर्छन् भने छोड्दैन । कानुनका नजरमा सबै बराबर हुन्छन् । अझ यो प्रणालीले मूल्यमान्यतालाई प्रवर्धन र दण्डहीनता अन्त्य गर्ने कुरामा अझ बढी ध्यान जानु जरुरी छ ।

अहिले फरक आवाज उठेका छन् । राजनीतिक दल ‘भर्सेज’ आफूलाई वैकल्पिक शक्ति राजावादी भन्नेहरूको पनि आन्दोलन उठ्यो, यसलाई कसरी लिनुहुन्छ ? 

पहिलो कुरा, हामीले के बुझ्न जरुरी छ भने राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजान सकिन्छ कि, राजासहितको लोकतन्त्रको अभ्यास गर्न सकिन्छ कि ? भनेर नेपाली जनता र राजनीतिक दलले पटक पटक यसको अभ्यास र प्रयास गरे तर त्यो असफल भयो । उदाहरणका निम्ति २००७ सालमा नेपाल छोडेर दिल्लीमा शरण लिन पुगेका त्रिभुवनलाई आन्दोलनको सफलतापछि फर्काएर दलहरूले नै गद्दीमा बसाए तर गद्दीमा बसेको भोलिपल्टदेखि क्रमशः शक्ति सञ्चय गर्दै संविधान सभाको चुनाव गर्छु भन्ने वचनलाई आफैँ लत्याउँदै अधिकार केन्द्रित गर्ने कोसिसमा लागे । महेन्द्रले त संविधान सभाको चुनाव नै खारेज गरे । आफूले बनाएको संविधान अन्तर्गत बनेको पहिलो ‘पार्लियामेन्ट’ र जननिर्वाचित सरकारलाई समेत डेढ वर्षमै बर्खास्त गरेर निरङ्कुश तानाशाही व्यवस्था लागु गरे । हाम्रो पहिलो प्रयास असफल भयो । 

२०४६ सालमा आन्दोलनबाट बहुदलीय प्रजातन्त्र स्थापना ग¥यौँ । फेरि एक पटक तत्कालीन राजतन्त्रसँग एउटा सर्तमा हाम्रो सम्झौता भयो कि राजालाई सम्मान र जनतालाई सत्ता । त्यस बेला मदन भण्डारीले भन्नुभएको थियो कि संवैधानिक राजतन्त्र राख्नु भनेको ‘सेतो हात्ती’ पाले जस्तै हो । तर पनि सहज राजनीतिक व्यवस्थापनका लागि हामीले खर्चिलो व्यवस्था पनि बेहोर्न तयार भयौँ । तर सर्त थियो कि जनताको अधिकारमाथि कुदृष्टि लाउनु भएन । जुन दिन कुदृष्टि सुरु हुन्छ, गणतन्त्र त्यहीँबाट सुरु हुन्छ भनिएको थियो तर १२ वर्षपछि तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सता हातमा लिने दुस्साहस गरे । दरबार हत्याकाण्डपछि पनि ज्ञानेन्द्रको सत्तारोहण पनि स्वाभाविक थिएन । तैपनि राजनीतिक दल र नेताहरूले ज्ञानेन्द्रलाई सत्तामा बसाले । दुई वर्षपछि सबै नेतालाई जेलमा थुनेर, मिडियाको मुख थुनेपछि नेपाली जनता यो निष्कर्षमा पुगे कि नेपालको सन्दर्भमा राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैन । नेपालको सन्दर्भमा यो दुइटाको सहकार्य सम्भव नहुँदो रहेछ । जहिलेसम्म राजतन्त्र राख्छौँ, उसले अनुकूल परेपछि लोकतन्त्रमाथि हमला गर्छ भन्ने निष्कर्षका आधारमा हामीले गणतन्त्र स्थापना गरेका हौँ ।

अहिले राजावादीले गरेका गतिविधिमा तीन वटा आयाम देखिन्छन् । पहिलो, समाजको पछौटे तत्व जुन जहिले पनि पुरानै व्यवस्थातिर फर्कन चाहन्छन् । संसारका जुनसुकै ठाउँमा यस्ता ‘कन्जर्भेटिभ’ हुन्छन् । दोस्रो, केही अत्यन्त उग्र अस्थिरतावादी र साँचो अर्थमा प्रतिगामी । षड्यन्त्रको बलमा जनताले स्थापित गरेको लोकतन्त्रलाई उल्ट्याउने केही तत्व पनि छन् । उनीहरू कुनै लोकतान्त्रिक बाटोबाट होइन । संविधानले राजतन्त्र ल्याउँछु भन्नेहरूलाई पनि ठाउँ दिएको छ । दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गरी उनीहरूले चाहेको व्यवस्था ल्याउन संविधानमा त्यो व्यवस्थासमेत छ तर जनतामा उनीहरूको समर्थन छैन । यसअघि ४२ ठाउँमा भएको उपनिर्वाचनमा एउटा ठाउँमा पनि उनीहरूले जित्न सकेनन् । अधिकांश ठाउँमा उनीहरूको जमानत जफत भएको थियो । यसरी उनीहरूको जनतामा समर्थन छैन । तेस्रो, हिजोका दुःखका दिनहरू नदेखेको र नबेहोरेका पुस्ताको सानो एउटा हिस्सा पनि लहैलहैमा जोडिएको देखिन्छ । यो कुनै पनि अर्थमा सफल हुने बाटो होइन । लोकतान्त्रिक गणतन्त्र पछाडि फर्किने, यो व्यवस्था उल्टिने र सामन्ती राजतन्त्र फर्किने कुनै पनि सम्भावना छैन । एउटा अन्योल सिर्जना गर्ने र मुलुकलाई अराजकतातर्फ धकेल्ने प्रयत्न पछिलो समय देखा परेको छ ।

केही दिनअघि नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ हाम्रो कब्जामा हुन्छ भन्नुभएको थियो । यसबारे के भन्नुहुन्छ ?

प्रधानमन्त्रीले साङ्केतिक रूपमा भन्नुभएको कुरा के हो भने जेठ १५ को दिन भनेको जनताको दिन हो । गणतन्त्र ल्याइएको एउटा उपलब्धिको दिन हो । त्यो एउटा उत्सवको दिन हो । उत्सवका निम्ति जनता स्वाभाविक रूपले सडकमा आउँछन् । उहाँले त्यस रूपमा भन्नुभएको हो । उहाँले साङ्केतिक रूपमा गणतन्त्रलाई उत्सवका रूपमा सबै मिलेर बनाऊँ र त्यो मनाउने व्रmममा नेकपा (एमाले) अग्रपङ्क्तिमा हुन्छ भन्ने अर्थमा उहाँले त्यस्तो भन्नुभएको हो । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो र कार्यकारी प्रमुखले कानुन हातमा लिने भन्ने कुरा कल्पना पनि गर्न सकिने कुरा होइन । त्यसलाई हामीले स्पष्ट बुझ्नु पर्छ । अरू दलले के गर्नुहुन्छ उहाँहरूको कुरा भयो तर एमाले मुलुकमा गणतन्त्र ल्याउने अभियानको एउटा अग्रपङ्क्तिमा रहेको राजनीतिक शक्तिको हैसियतले यस रक्षा पनि हाम्रो दायित्व हो । सरकारको नेतृत्व गरेको हुनाले नेकपा (एमाले) को दायित्व अझ बढी हुँदै हो । त्यस अर्थमा हामीले यो कार्यक्रम गर्न खोजेका हौँ । देशका प्रत्येक पालिकामा त्यहाँको स्थानीय विशेषता अनुसारको विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइन्छ । सरकारले त्यस दिन बिहान काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गर्छ र दिउँसो जनताले विभिन्न कार्यक्रम गरेर खुसियाली मनाउँछन् ।

गणतन्त्र दिवसका अवसरमा सबै नेपाली र खास गरी नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?

गणतन्त्रले सबै नेपालीलाई सार्वभौम बनाएको छ । यसले एउटा यस्तो खुला र बहुलवादी समाज निर्माण गरेको छ जहाँ कानुनको नजरमा हामी सबै बराबर छौँ । गर्न चाहनेका लागि देशभित्र पर्याप्त अवसर छन् । हिजोको माओवादी सशस्त्र द्वन्द्वले लामो समयसम्म मुलुकभित्र बस्न नसक्ने अन्योलको स्थिति सिर्जना गरेको अवस्था, हाम्रो शिक्षा र हुर्काइमा रहेका कमी जसले देशलाई माया गर्ने कुराभन्दा पनि आफ्नो ‘क्यारियर’ को पछाडि दौडिने खालका स्थिति र अहिले सूचना प्रविधिमा आएको विकासले नेपालको एउटा गाउँमा बसेर उसले आफ्नो जीवनलाई संसारका विकसित समाजसँग तुलना गर्छन् । यस्ता कतिपय कुराले देशभित्रका युवा पङ्क्तिमा देशभित्र केही हुन्न कि क्या हो ? भन्ने अन्योल सिर्जना भएको छ तर देशभित्र केही हुन्छ र केही भइरहेको छ । मुलुकमा बहुदल आएको पाँच वर्ष नबित्दै १० वर्ष सशस्त्र द्वन्द्वमा फस्यो । त्यो १० वर्षको द्वन्द्वलाई व्यवस्थापन गर्न हामीलाई थप १० वर्ष लाग्यो । 

साँच्चिकै भन्नुहुन्छ भन्ने बहुदलीय व्यवस्थाको ३५ वर्षमध्ये द्वन्द्व र द्वन्द्वत्तर व्यवस्थापनमा खर्चिनु प¥यो । २०६५ सालमा गणतन्त्रको घोषणा भए पनि संविधानमार्फत त्यसको व्यवस्थापन सात वर्षपछि मात्र भयो । साँचो अर्थमा गणतन्त्रले काम गर्न पाएको त १० वर्ष मात्र भएको छ । त्यसबिच भूकम्प, नाकाबन्दी, कोरोना महामारी, राजनीतिक अस्थिरता भए पनि आज नेपाल जहाँ छ केही सूचकाङ्कमा हामी पछाडि छौँ, प्रतिव्यक्ति आय अलिकति कम छ । ‘माइग्रेसन’ को दर अलिकति बढी छ । 

तर विभिन्न समुदायको समावेशिता र शान्तिको हिसाबले नेपाल उत्कृष्ट छ । खुसियाली सूचकमा नेपाल जहिले पनि अगाडि छ । खाद्य सुरक्षाको दृष्टिले हामी अगाडि छौँ । नियमित रूपमा निर्वाचन भइरहेका छन् । लोकतन्त्र दिनप्रतिदिन ‘म्याचुअर्ड’ बन्दै गएको छ । यी सबै कुरालाई हामीले देख्नु पर्छ । युवाले बुझ्नु पर्छ । विदेश जाँदै नजाने भन्ने होइन । उच्च शिक्षाका लागि विदेश जानु, त्यहाँका ज्ञान सिक्नु र त्यसलाई आफ्नो देश विकासमा प्रयोग गर्नु पर्छ । देश बन्दै छ । देश राम्रो भइरहेको छ । जति हुनु पथ्र्यो त्यति गर्न सकिएन होला, विकासको गति जति तीव्र हुनु पथ्र्यो त्यति हुन सकेन होला तर हामीले देशलाई राम्रो बनाइरहेका छौँ । यो एउटा आशा र विश्वासका साथ अगाडि बढ्न युवा साथी र आमनेपालीलाई आग्रह गर्न चाहन्छु ।