प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ १४ गते । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क गरेको हो ।
कूल दुई सय ५३ किसानले प्रयोग गरेका कृषि महसुल बापतको ६ लाख ९२ हजार ८२२ रुपियाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले मङ्गलवार विद्युत् प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख राम अयोध्या रायलाई चेक हस्तान्तरण गर्नुभयो । राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले २०८१ फाल्गुन महिना सम्मको बक्यौता कृषि विद्युत् महसुल तिरेको बताउनुभयो । राजपुरका किसानले विद्युत् ‘हुकिङ’ नगरुन् साथै भूमिगत सिचाइको माध्यमबाट कृषि उत्पादन बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख डाक्टर आलमले जानकारी दिनु भयो । नगर प्रमुख आलमले भन्नु भयो ,“ यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ, आगामी दिनमा यो कार्यले निरन्तरता पाउने छ ।
कृषि बिद्युत् महसुल नगरपालिकाले तिरी दिए पछि आगामी दिनमा नगरभित्रका बाँकी किसान पनि सिचाइका लागि कृषि मिटर प्रयोग गर्ने सम्भावना बढेर जाने नगरपालिकाले जनाएको छ । भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेको बेलामा नगरपालिकाले विद्युत् महसुल तिरेर राहत दिएको राजपुर–१ का किसान राम एकबाल राय यादवले बताउनु भयो ।