गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १४ गते । काठमाडौँको रङ्गमञ्चमा पहिलो पटक दोलखे (नेपाल भाषा) मा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखे भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।
नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ ले तत्कालीन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ । विसं २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दसैँको खड्गजात्राको दिन मञ्चन भएको थियो । हाल न्यूयोर्क विश्वविद्यालयका लागि न्यूज नेपाल प्रालिले ‘मिसामी’ लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो ।
दोलखा र काठमाडौँका कलाकारको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा सुशीला लक्ष्मी महर्जन, सुलोचना चाकुबजी मानन्धर, अमिर ताम्रकारलगायतको अभिनय रहेको छ । निर्देशक श्रेष्ठलाई भाषा सहजकर्ताका रूपमा दीपनारायण श्रेष्ठले सघाउनुभएको थियो ।