गोखापत्र समाचारदाता
काठमाडौँ, जेठ १४ गते । आइपिओ निष्कासनको पाइप लाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अन्डरराइटिग (धितोपत्र प्रत्याभूति) का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।
मङ्गलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबिच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपियाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । सम्झौतामा मङ्गलबार कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभयो । कान्तिपुर फर्मास्युटिकल्सले आइपिओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।