कास्की समाचारदाता
कास्की, जेठ १३ गते । गत वर्ष परीक्षणका रूपमा तरबुजा रोपेका किसानले यस पटक व्यावसायिकता दिन थालेका छन् । पोखरा आसपासका स्थानीयवासी तरबुजा खेती गर्न थप अग्रसर भएका हुन् । किसानले नयाँ खेतीका रूपमा तरबुजा रोप्न थालेका हुन् ।
पोखरा महानगरका अनुसार अहिले पोखरा–१३, १४, १६, ३०, ३२ र ३३ का किसानले तरबुजा खेती सुरु गरेका छन् । महानगरपालिकाको करिब दुई सय रोपनी क्षेत्रफलमा ५० भन्दा बढी व्यावसायिक किसानले अहिले तरबुजा खेती गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा मात्र करिब दुई सय टन तरबुजा उत्पादनको अनुमान गरिएको छ । यस खेतीबाट किसानले दुई करोड रुपियाँ आम्दानी गरेका छन् ।
“पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष थुप्रै क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले कृषकलाई बिउ र मल्चिङमा सहयोग गरेको छ । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ब्रान्डिङ र बजारीकरणका लागि स्टिकर तयार गरेको छ । पोखरामा तरबुजा खेती एउटा विकल्पका रूपमा प्रमाणित भएको छ । यसले रोजगारी अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ,” उहाँले भन्नुभयो ।
आइपिएममा सरस्वती जातसँगै स्विट हनी जात पनि लगाएर परीक्षण गरिएको उहाँले बताउनुभयो । तरबुजा खेतीमा गरिएको अध्ययनले प्राङ्गारिक उत्पादन अन्यभन्दा स्वादिलो देखिएको उहाँको भनाइ छ । “पहिला पहिला तरबुजालाई तराईमा मात्र फल्ने खेतीका रूपमा बुझिए पनि अब पोखरामा पनि हुन थालेको छ,” कडरियाले बताउनुभयो । पोखरा–२१ का ज्ञानबहादुर कार्कीले लामो विदेश बसाइको अनुभवलाई सँगालेर पोखरामा तरबुजा खेती गर्नुभएको छ ।
कार्कीले पोखरा–३३, पिउरी दोभानमा ३३ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्नुभएको छ । पिउरी दोभानको खेत र खोला किनारको अलपत्र जग्गालाई उहाँले तरबुजा खेतीको थलो बनाउनुभएको हो । कार्कीले गत फागुन अन्तिम साता पिउरी दोभानमा तरबुजा रोप्नुभएको थियो । पिउरी दोभानबाहेक उहाँले पोखरा–२१, क्रिस्तीमा ११ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्नुभएको छ ।