• १० जेठ २०८२, शनिबार

जैविक विविधताको मूल्य

blog

विविध प्रकारका वंशाणु, प्रजाति तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी सन् १९९२ को ‘रियो दी जेनेरियो’ मा सम्पन्न विश्व सम्मेलनपछिका दिनमा जैविक विविधता विश्वको ठुलो अनुसन्धान र छलफलको विषय बनेको छ । विश्वको वैज्ञानिक समुदायले उत्पादकत्व वृद्धि, अनुकूलनता तथा जैविक विकासमा जैविक विविधताको महत्वलाई राम्रोसित बुझेका छन् । जैविक विविधताले मानिसको जीवन र जीविकोपार्जनको आधार बनाउँछ, जसले उनीहरूको संस्कार र परम्परासित नजिकको सम्बन्ध जोडेको हुन्छ । विश्वको पारिस्थितिकीय प्रणालीले वातावरणीय सेवाहरू दिइरहेको हुन्छ, जसको बिना हाम्रो जीवनको सम्भावना रहँदैन । यो प्रकृतिको एउटा महत्वपूर्ण तत्व भएको कारण हाम्रो भाग्य वा भविष्य यससँग बलियो गरी जोडिएको हुन्छ । त्यो भनेको यस पृथ्वीमा रहेका विविध प्रकारका बोटबिरुवा, जनावर तथा सूक्ष्म प्राणी जुन हाम्रो पृथ्वीमा भएका हिमाल, नदी, तालतलैया, समुद्र, सिमसार क्षेत्रहरू, कृषियोग्य जमिन तथा वनजङ्गल र अन्य पारिस्थितिकीय प्रणालीमा रहेका हुन्छन्, जसले मानव, जनावर र बिरुवाबिचको बहुआयामिक सम्बन्धलाई बलियो गरी बाँधेको हुन्छ । वनजङ्गल जैविक विविधताको आधार हो । जैविक विविधताका स्रोतहरू नै हाम्रो मानव सभ्यताका खम्बा हुन् । त्यसैले हाम्रो अस्तित्व यिनै जैविक विविधता माथि निर्भर गर्छ, जसले मानव जातिका लागि अति आवश्यकीय वस्तुहरू जस्तै पानी, खाद्य, इन्धन र औषधीजन्य वस्तुहरू दिइराखेको हुन्छ । विकासशील देशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने ८० प्रतिशत मानिस आफ्नो प्राथमिक स्वास्थ्य उपचार परम्परागत बिरुवाजन्य औषधीमा भर पर्छन् । मानिसको ८० प्रतिशतभन्दा बढी खाद्य तìव बिरुवाबाट नै प्राप्त हुन्छ ।

हामी बसोबास गर्ने स्थानको जमिन, जमिनमा भएका जैविक तथा अजैविक प्राकृतिक अवयवहरू, जल तथा जलाशयमा बसोबास गर्ने जीवजन्तुहरू तथा वनस्पतिहरू, हाम्रो आकाश र आकाशमा भएका सबैखाले अजैविक तथा जैविक जीवात्माहरू र तिनीहरूको पारस्परिक सम्बन्ध नै हाम्रो वातावरण हो । यही पारस्परिक सम्बन्धको चक्रबाट सबै प्राणी, वनस्पति र सूक्ष्म जीवको अस्तित्व सम्भव भएको छ । प्रकृतिले विभिन्न प्रजातिबिचको अन्तर्क्रिया तथा अन्तर सम्बन्धको जटिल जालो सिर्जना गरेको हुन्छ, जसलाई पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) भनिन्छ । सत्य कुरा के हो भने सन्तुलित पारिस्थिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढावा दिन सक्छ, जलवायु सङ्कटको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न मद्दत गर्छ र जैविक विविधता विनाश हुनबाट जोगाउँछ । जैविक विविधता हाम्रो जीवन हो, वनजङ्गल पृथ्वीको फोक्सो हो, सिमसार मिर्गौला हुन् यिनीहरूको संरक्षण गर्न सकिएन भने मानवलगायत जीवित प्राणीको अस्तित्व रहन सक्दैन । त्यसैले प्रकृतिको सम्मान गर्नु अति आवश्यक छ । हाम्रो वरिपरिको वातावरणीय सन्तुलन नै मानव सभ्यताको सूचक हो । प्रकृति मानव जातिको जीवनरेखा हो, मानव स्वास्थ्य, आर्थिक उन्नति र खाद्य सम्प्रभुता प्रकृति माथि नै अडेको छ तर यही प्रकृति आज जटिल समस्यामा परेको देखिन्छ । यस विश्वमा भएका ८० लाख बिरुवा तथा जनावरका प्रजाति आज लोप हुने खतरनाक अवस्थामा पुगेका छन् । साथसाथै पारिस्थितिकीय प्रणालीको ह्रासले गर्दा विश्वका ४० प्रतिशत मानिस आफ्नो समुन्नतिबाट वञ्चित भएका छन् ।

पछिल्लो समय वनजङ्गल तथा सिमसार क्षेत्र विभिन्न मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । वातावरणीय क्षयीकरणको अर्को कारक तत्वका रूपमा खाद्य तथा ध्वनि प्रदूषण रहेको छ । धातुजन्य फोहोर, हानिकारक रसायन तथा विषादी आदिका कारणले माटो प्रदूषित हुँदै जाँदा त्यसले खाद्य प्रदूषण बढाएको छ । विभिन्न जैविक तथा औद्योगिक–

रासायनिक, धातुजन्य तथा कृषिजन्य प्रदूषणका कारण समुद्रमा बस्ने जलचर तथा उभयचर पनि सङ्कटमा परेका छन् । अव्यवस्थित बसोबास, सहरी क्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण सबै किसिमका प्रदूषण बढिरहेका छन् । खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउनुका साथै विभिन्न खालका रोगव्याधि निम्त्याइरहेको छ । आज विश्वमा वातावरणीय विनाश तथा क्षयीकरण जनस्वास्थ्यका लागि सर्वाधिक चिन्ताको विषय बनेको छ । युनिसेफको एक तथ्याङ्क अनुसार, विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट समेत वञ्चित छन् । जलवायु सङ्कटका कारण सुक्खा खडेरीको अवस्थाले विकराल रूप लिँदै छ । प्राकृतिक सम्पदाको अत्यधिक दोहन गरेर भौतिक विकासको चरम महत्वाकाङ्क्षा लिँदा मानव भविष्य नै सङ्कटमा पर्न थालेको छ । कतिपयले पृथ्वीलाई ज्वरो आएको छ अर्थात् पृथ्वी तात्दै छ भन्ने निष्कर्षसमेत निकालेका छन् । जलवायु सङ्कटले वातावरणीय असन्तुलन व्यापक बन्दै गएको छ ।

उर्वर भूमि तथा वनजङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुक्खा खडेरीले आक्रान्त पार्दा उक्त भूमि बाँझोमा परिणत हुने कारणहरू नै जमिन मरुभूमीकरण हुने अवस्था हो, जुन विश्वमा बढ्दो वातावरणीय समस्याको रूपमा देखा परेको छ । दिगो विकासको लागि मरुभूमीकरण, सुक्खा खडेरीबाट सिर्जित समस्या विकासोन्मुख तथा विकसित राष्ट्रहरूका लागि ठुलो चुनौतीको रूपमा खडा भएको छ । प्रत्येक वर्ष विश्वका पाँच करोड पाँच लाख मानिस मरुभूमीकरण तथा सुक्खा खडेरीबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने सन् २००० देखि सुक्खा खडेरीका सङ्ख्या र अवधि २९ प्रतिशतले वृद्धि भएको जनाइएको छ । सन् १९०० र २०१९ का बिचमा विश्वका दुई अर्ब ७० करोड मानिस यसबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने एक करोड १७ लाख मानिसको मृत्यु भएको छ । तथ्यहरूले के देखाउँछन् भने २०४० सम्ममा हामीमध्ये धेरैभन्दा धेरै मानिस तथा प्राणीहरू पिउने पानीको अभावबाट ग्रसित भएका हुने छौँ भने प्रत्येक चार बालबालिकामध्ये एक जना यसबाट प्रताडित हुने छन् भनी अनुमान गरिएको छ । सन् २०५० सम्ममा विश्वका तीन चौथाइ जनसङ्ख्यालाई यसले असर पु¥याउने पूर्वानुमान गरिएको छ । मरुभूमीकरणको अवस्था सुक्खाग्रस्त क्षेत्रफलमा विस्तार हुने मात्र नभएर त्यस्ता क्षेत्र, जसले विश्वका एक तिहाइ हिस्सा ओगटेको छ र अति संवेदनशील अवस्थामा पुगेको छ । त्यहाँको जनसङ्ख्यामा वृद्धि, गरिबी, राजनीतिक अस्थिरता, जमिनको अनुचित प्रयोग, वन विनाश, अति चरिचरण अनुचित सिँचाइका कारण जमिनको उत्पादकत्व घट्दो अवस्थामा पुगेको छ । जसले कार्बन उत्सर्जनमा बढावा गर्छ भने जैविक विविधतामा ह्रास ल्याउँछ । यस कारण यो हामी सबैको चासोको विषय बन्न पुग्नु स्वाभाविक हो । सन् २०२० को अन्त्यतिर सोमालियामा भएको भयङ्कर खडेरीलाई नियालेर हेर्ने हो भने त्यसले अति कम विकसित र विकासोन्मुख नेपाल जस्ता देशहरूलाई पनि सोझो वा घुमाउरो तरिकाले प्रभाव पारिराखेको हुन्छ भन्न सकिन्छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले अति सुक्खा प्रभावित देशमा बढी ध्यान दिँदा नेपाल जस्तो देशले पनि यथोचित लाभ लिन नसक्ने स्थिति उत्पन्न हुन गएको यथार्थ हाम्रोसामु छ । अरू देशले भोगेका गम्भीर घटनाबाट हाम्रो देशले पनि समयमा नै पाठ सिक्न जरुरी छ । यी सबैबाट हुन सक्ने र निम्तिन सक्ने खतरालाई समयमै सम्बोधन गर्न जनतामा व्यापक जनचेतना, स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको पूर्वतयारीको आवश्यकता हुन्छ । यी सबै कार्य गर्न राजनीतिक इच्छाशक्ति भने राज्य सञ्चालन गर्ने र गर्न चाहने सबै दलमा हुनै पर्छ ।

प्रत्येक वर्षको मे २२ लाई विश्व जैविक विविधता दिवसको रूपमा संसारभरि मनाउने गरिन्छ । विश्व जगत्ले यस दिनलाई जैविक विविधता संरक्षणमा जुट्न एकता हुने दिनको रूपमा मनाउने गरेका छन् । यस वर्षको यस दिवसको नारा ‘प्रकृतिसँगको सामीप्य र दिगो विकास’ भन्ने रहेको छ । यस नाराले जैविक विविधता, मानव कल्याण र दिगो विकासका उद्देश्यहरू प्राप्तिका लागि महत्वपूर्ण सम्बन्धलाई उजागर गर्छ । नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको सङ्ग्रहालय भनिन्छ तर जलवायु सङ्कटका कारण नेपालले धेरै जैविक विविधता माथि क्षति बेहोर्न परेको छ । नेपालले पनि यो दिवसलाई विभिन्न सङ्घ, संस्था, सङ्गठनको सहकार्यमा विविध कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ । प्राकृतिक स्रोतको दिगो सदुपयोग गर्दै वातावरण संरक्षण गर्नु पर्छ । हाम्रो जिम्मेवारी जनचेतना फैलाउने उद्देश्यका साथ चेतनामूलक जुलुस प्रदर्शन तथा विभिन्न कलेज तथा स्कुलमा साहित्यिक कार्यक्रम सञ्चालन, सरसफाइ तथा वृक्षरोपण गर्ने गरेको देखिन्छ, जसले प्रकृति संरक्षणमा सकारात्मक चेतना फैलाउने काम गरेको छ । नेपालले नाराहरू तय गर्दा हिमालको रक्षा गरौँ जैविक विविधता संरक्षण गरौँ भन्नेमा जोड दिएको हुन्छ । नेपाललाई चिनाउने विश्वको शिर सगरमाथादेखि अन्य हिमशृङ्खलाले पृथ्वीको वातावरण बिग्रँदा यसमाथि कस्तो असर परेको छ भन्ने सङ्केत दिइसकेका छन् । नेपालमा लामो खडेरी पर्ने गर्छ, जसले गर्दा वन डढेलोका कारण जैविक विविधतामा धेरै क्षति हुने गर्छ । जनचेतनाको अभावमा वन अतिक्रमण र खोरिया फडानी गर्ने क्रम रोकिएको छैन । हाम्रा जमिन बाँझोमा परिणत हुँदै छन्, हामी हरेक वस्तुमा परनिर्भरतातर्फ गइरहेका छौँ । यसले हामीलाई कुन दिशातिर लैजाँदै छ मनन गर्नु पर्ने सत्य यही हो । यस चुनौतीको सामना गर्न सबै सरोकारवालाको ध्यान समयमै जान जरुरी देखिन्छ । 

जैविक विविधता विश्वव्यापी सम्पत्ति हो । यो भविष्यका पुस्ताहरूका लागि अति नै मूल्यवान् छ । हाम्रो उन्नति, प्रगति र हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि सीमित प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र जैविक विविधता संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो, किनभने पृथ्वीको वातावरण बिगार्नमा यसमा बसोबास गर्ने सबैभन्दा बुद्धिमान भनिएको प्राणी मानिस नै जिम्मेवार छ । प्रत्येक राष्ट्रका सरकार, राजनीतिक दलहरू, नागरिक समाज तथा सङ्घ संस्थाले जलवायु सङ्कट र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धतापत्रमा जल्दोबल्दो मुद्दाको रूपमा लिन जरुरी देखिन्छ । परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकास गर्दै स्थानीय स्रोतसाधनलाई दिगो सदुपयोग गरी स्वरोजगारका नयाँ अयाम खुल्न सक्छन् र आफ्नो क्षेत्रको वातावरण संरक्षणमा उल्लेख्य योगदान पुग्न सक्ने छ ।