परेवाटार, राक्सिराङ गाउँपालिकाका सीताराम स्याङतानलाई तीन पटक चट्याङ लागिसकेको छ । २०१३ सालमा जन्मिएका सीतारामलाई २०३२, २०३३ र २०७५ सालमा गरी तीन पटक चट्याङले हान्यो । पहिलो पटक राक्सिराङ गाउँपालिका–४ जर्सिङटारमा बारीमा काम गर्दै रहँदा चट्याङ लागेको थियो । सँगै दाजुभाइ पनि काम गर्दै थिए, सबै बेहोस भए । बारीमा ठुलो सालको रुख थियो । चट्याङ सालको रुखमा लागेको रहेछ र बेहोसीबाट उठेपछि देखे, रुख त धुस्नो भएछ । तीन/चार घण्टा तिनै जना बारीमै बेहोस भए । अर्को पटक पनि बारीमै हुँदा लाग्यो र बेहोस भए । २०७५ सालमा भने घरमै बसिरहेको बेलामा लाग्यो । साथमा उहाँका साथी गुणबहादुर गोले पनि हुनुहुन्थ्यो । चट्याङ गुणबहादुरको कानमा लागेर गएको सीतारामले हेरिरहनुभयो । गुणबहादुरको मृत्यु नै भयो भने उहाँसँगै भएको पङ्खा पनि ध्वस्त भयो । यो पटक सीताराम बेहोस मात्र हुनुभएन, उहाँको शरीरको तल्लो भाग नै चलेन ।
राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान) को सहयोगमा विपत् पत्रकारिता सञ्जालले गरेको ‘राक्सिराङ गाउँपालिकाको विपत् जोखिम अवस्था’ विषयक अध्ययनका क्रममा देवीटार भेटिएकी ५५ वर्षीया दिलकुमारी प्रजालाई २०७६ साल असार महिनामा माइसिराङको घरमै चट्याङ लाग्यो । पानी परिरहेको थियो, उहाँ बलेसीमा भिजेको लुगा सुकाउँदै हुनुहुन्थ्यो । चट्याङ माइसिराङको घरको छतमा झरेको रहेछ, उहाँ ढलेर तीन घण्टा बेहोस हुनुभयो । उपचारका लागि माइसिराङबाट डोकोमा बोकेर देबीटार पु¥याइयो । घाउ कतै देखिएन तर उहाँ बोल्नै नसक्ने हुनुभयो । उपचारका लागि भरतपुर अस्पताल लगियो । दिलकुमारीका अनुसार उहाँलाई चट्याङ लागेको एक हप्तापछि उहाँको छोरी र नातिनीलाई पनि चट्याङ लाग्यो । चट्याङ लाग्दा उहाँकी छोरी १० वर्षकी र नातिनी आठ वर्षकी थिइन् । चट्याङ लागेपछि छोरीले रगत छादिन्, तत्काल भरतपुर अस्पतालमा तीन दिन आइसियुमा राखेर उपचार गरियो । चट्याङले छोरीलाई मुटुमै असर गरेको छ, पहिला मुटुको कुनै समस्या नभएको छोरीको मुटु दुख्ने रोग अहिले पनि निको हुन सकेको छैन । नातिनीलाई टाउकोमा घाउ भयो । अहिले पनि दिलमाया प्रजालाई चट्याङको आवाज आउँदा मुटुमै लागे जस्तो हुन्छ । उहाँको घरमा अर्थिङ तथा चट्याङबाट जोगिने प्रविधि जडान गरिएको छैन ।
२०७६ सालमा माइसिराङमा मात्र पाँच जनालाई चट्याङ लाग्यो । उक्त ठाउँमा गाडी नजाने हुँदा रातारात एम्बुलेन्स बोलाएर अस्पताल पु¥याइएको थियो । यस्तै, २०७५ सालको भदौ महिनामा देवीटारकै कामना प्रजालाई पनि चट्याङ लाग्यो । सधैँ झैँ शुक्रबारको दिन पढाएर आएर, बेलुकी खानका लागि ढिँडो पकाउनुभयो । यत्तिकैमा चार्ज गर्न राखिएको फोन बज्यो । फोन निकाल्दा निकाल्दै उहाँलाई चट्याङ लाग्यो । उहाँको हातको बूढी औँलाको नङ नै गयो, हातमा आगोले पोल्दा जस्तो फोका पनि उठ्यो । घरभित्र आएको चट्याङ उहाँलाई लाग्यो तर अरू जस्तो बेहोस् भने हुनुभएन । उहाँ अहिले पनि आकाश गड्गडाउनेबित्तिकै डराउनुहुन्छ ।
चट्याङ राक्सिराङ गाउँपालिकाका लागि विपत्को कारक भएको छ । चट्याङ पर्नुका विभिन्न कारण हुन्छन् । आँधीबेहेरी जाँदा पनि चट्याङ पर्छ । वायुमण्डलमा चिसो र तातो हावा उत्पन्न हुने कारणले चट्याङ उत्पन्न हुन्छ । वायुमण्डलमा तल र माथि हावा प्रवाह हुँदा चट्याङ उत्पन्न हुन्छ । चट्याङ उत्पन्न हुने अर्को कारण वायुमण्डलमा पानीका थोपाबिच घर्षण हुनु हो । इलेक्टिक चार्ज बन्ने थोपा उत्पन्न हुँदा चट्याङ उत्पन्न हुन्छ । यसबाहेक वायुमण्डलमा बादलभित्रका अलग ऊर्जा उत्पन्न हुँदा र उच्च भोल्टेज विकास हुँदा पनि चट्याङ उत्पन्न हुन्छ ।
२०७६ सालमा माइसिराङमा पाँच जनालाई चट्याङ लाग्यो । चट्याङकै कारण राक्सिराङ गाउँपालिकाका थुप्रै परिवारले आफ्नो थातथलो नै छाडेर अन्यत्र बसाइँ सारेका छन् । स्थानीय बासिन्दा आफ्ना वरिपरि कति घर बसाइँ सरे भनेर बताउँछन् तर पूरै गाउँपालिकामा कति घर बसाइँ सरे भन्ने तथ्याङ्क छैन ।
सिलिङ्गे, वडा नं ६ मा भएको छलफलमा सहभागी चन्द्रिका माया प्रजाका अनुसार २०७२ भदौ २९ गते उनको नन्द सुनिता प्रजाको चट्याङ लागेर नै मृत्यु भएको थियो । ठुलो पानी परेको कारण बलेसीमा बसेर नुहाएपछि ढोका छेउमा बसेर कपाल कोर्न लागेका बेला सुनितालाई चट्याङ लाग्यो । उहाँ बिस्तारै ढन्नुभयो । रगत छादेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै सुनिताको ज्यान गयो । घरको भित्ता फोरेको थियो, सोलार प्यानल आधा बनाएको थियो, घरमा जोडिएका तार पनि ठाउँठाउँमा चुँडिएका थिए । घर नजिकै रहेको एउटा रुख म¥यो भने अर्को छिया छिया भयो ।
सोही छलफलमा जमुना थिङले जानकारी गराए अनुसार गत वर्ष हिलेदमारकी एक महिलालाई चट्याङ लाग्यो । बारीमा काम सिध्याएर आएपछि नुहाएर उहाँ बच्चालाई काखमा लिएर पिँढीमा बस्नु भएको थियो । त्यही समय चट्याङ लाग्यो, उहाँको शरीर नै चिरिएको थियो । उहाँ बसेको चकटी, घरको अन्न सबै डढेको थियो । गाउँपालिकाले क्षतिपूर्ति दियो तर उक्त क्षतिपूर्ति रकम उहाँका श्रीमान्ले रक्सी खाएर सिध्याउनुभयो ।
राक्सिराङ गाउँपालिका वडा नं ८ का अध्यक्ष हाबिर प्रजाका अनुसार दुई वर्षअगाडि पाम्बुङको दुई वटा घरमा चट्याङ लाग्यो । उक्त घटनामा एक जनाको मृत्यु भयो भने छ जना घाइते भए । चट्याङ लागेपछि एक घरका बासिन्दा सबै छोडेर काठमाडौँ गए, गाउँबाट विस्थापित भए । प्रजाका अनुसार वडा नं ८ बढी चट्याङ लाग्ने क्षेत्र हो । प्रजाको भनाइ अनुसार २०७८/७९ मा वडा नं ८ को पाम्बुङमा मात्रै छ जना घाइते भएका थिए तर गाउँपालिकाको तथ्याङ्कले समग्र गाउँपालिकामै तीन जना मात्र घाइते देखाएको छ । यसले गाउँपालिका तथा स्थानीय निकायको तथ्याङ्क प्रणाली चुस्त नभएको देखाउँछ ।
परेवाटारमै भएको छलफलमा जानकारी गराए अनुसार चक्रबहादुर सुनारकी श्रीमतीलाई २०७९ मा चट्याङ लाग्यो । त्यसैको प्रभाव उपचार गराए पनि हिजोआज उहाँको शरीर झमझमाउने गर्छ । शिखरडाँडाका ३९ वर्षीय चक्रका अनुसार उहाँको घर वरिपरि प्रत्येक वर्ष दुई/तीन जनालाई चट्याङ लाग्ने गरेको छ ।
दामराङ, चौतारीमा भएको छलफलमा जानकारी गराइए अनुसार कोरसे, भुइँछाप, राक्सिराङ–७ की माइली प्रजा पनि चार वर्षअघि साउन महिनामा चट्याङ लागेर बितिन् । बारीको काम सिध्याएर घरको पिँडीमा बसेर कपाल कोर्दै गर्दा उनलाई चट्याङ लागेको थियो । माइलीकी भदै देवीमाया प्रजाका अनुसार चट्याङ लागेपछि उहाँको कुममा, दाँतमा निलो दाग देखिएको थियो । चट्याङ लाग्नेबित्तिकै उहाँले पानी माग्नुभयो, पानी खानेबित्तिकै उहाँको मृत्यु भयो । माइलीका तीन सन्तान छन् ।
राक्सिराङ गाउँपालिकाबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा चट्याङ लागेर तीन जना घाइते र दुई जनाको मृत्यु भएको थियो भने आव २०७९/८० मा दुई जना घाइते र दुई जनाको मृत्युभएको थियो । यस्तै, आव २०८०/०८१ मा भने दुई जना मात्र घाइते भएको तथ्याङ्क छ । यस्तै गाउँपालिकाले बढी चट्याङ पर्ने भनिएको २ नं वडामा आव २०७८/७९ देखि २०८०/८१ सम्ममा घाइते नभएको तर दुई जनाको मृत्यु भएको उल्लेख गरेको छ । यो तथ्याङकलाई हाबिर प्रजाको २०७८/७९ मा वडा नं ८ को पाम्बुङमा मात्रै छ जना घाइते भएको कुराले काट्छ । अर्थात्, वास्तविक तथ्याङ्क वडा तथा पालिकाले नराख्दा यस्ता खाले अन्योल देखिएको हो ।
गाउँपालिकाका गुनासो सुनुवाइ अधिकारी गोविन्द अधिकारीका अनुसार चट्याङकै कारण कान नसुन्ने व्यक्तिको सङ्ख्या गाउँमा बढ्दै गएको छ ।
चट्याङबाट हुने क्षति न्यूनीकरणको असफल प्रयास
राक्सिराङ गाउँपालिकाले आव २०७९/८० को नीति तथा कार्यक्रममा सम्भाव्यता अध्ययन गरी घरहरूमा निरोधक यन्त्र जडान गर्ने नीति थियो थियो । सोही अनुरूप गाउँपालिका र सम्बन्धित लाभग्राहीको लागत सहभागितामा हालसम्म ७६ घरमा निरोधक यन्त्र जडान गरिएको गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । यन्त्रको आवृत्ति जडान गरिएको स्थान वरपरबाट १० मिटर ठेकेदार कम्पनीमार्फत जडान गरिएको छ । उक्त एरेस्टरको ढुवानी र जडानसहितको लागत प्रति यन्त्र १२ हजार रहेको छ ।
यसमा सात हजार गाउँपालिकाले अनुदान दिने र चार हजार व्यक्तिले राख्नेभन्दा पनि स्थानीयले उक्त रकम जुटाउन नसक्दा उपकरण गाउँपालिकामै थन्किएको छ । निरोधक यन्त्र जडानका लागि स्थानीयको निवेदन आह्वान गर्दा करिब छ सय घर परिवार भएको वडा नं ८ मा दुई परिवारले मात्र यन्त्र जडान गरे भने समग्र गाउँ पालिकामा करिब एक सय घर परिवारले मात्र फाराम भरे ।
निरोधक यन्त्र जडान स्थानीय बासिन्दाले गरेनन् भन्ने गुनासो स्थानीय जनप्रतिनिधिको छ । गरिब स्थानीय बासिन्दाले आर्थिक अभावको कारणले यन्त्र जडान गरेनन् भनिन्छ तर वास्तविकता भने अर्कै रहेको अध्ययनबाट खुलेको छ । अधिकांश स्थानीय चेपाङ जातिले खोरिया खनेर बस्ती बसाएका हुँदा उनीहरूसँग घरजग्गाको लालपुर्जा छैन । वडा नं ५ ठाडेचुरीमा भएको छलफलमा सहभागीले उनीहरू सुकुमवासीको रूपमा रहेको, आफ्नो नाममा जग्गा जमिन नरहेको तर घरमा निरोधक यन्त्र जडान गर्न निवेदन दिनकै लागि गाउँपालिकाले लालपुर्जा अनिवार्य गरेको छ । ठाडेचुरीमा ३७ घरमध्ये २० घर सुकुमवासीको रूपमा बसोबास गर्दै आएका छन् ।
सुकुमवासीको रूपमा बसोबास गर्दै आएकाको जग्गा प्रजा विकास समितिको नाममा छ । समितिकै नाममा हाल राक्सिराङ गाउँपालिका भवन रहेको ठाउँको जमिन गाउँपालिकाको नाममा नामसारी भइसकेको छ तर स्थानीय वासिन्दाको नाममा आउन सकेको छैन । स्थानीय चुनावमा मुख्य एजेन्डाका रूपमा आउने जग्गा लालपुर्जा मुद्दा चुनावपछि सेलाउने गरेको छ । ठाडेचुरीबासीले उनीहरू सुकुमवासीको रूपमा रहन बाध्य हुनु नै विपत्को कारण मानेका छन् । उनीहरूको मान्यता छ, चेपाङको जग्गा चेपाङ बासिन्दाको नाममा आउनु पर्छ ।
अध्ययनका क्रममा राक्सिराङ गाउँपालिका अधिकांश ठाउँमा गरिएको एफजिडिबाट पत्ता लागेको कुरा भनेको अधिकांश ग्रामीण स्थानीय बासिन्दालाई चट्याङ उपाय छ भन्ने थाहै छैन । उनीहरूका अनुसार चट्याङ प्राकृतिक विपत् हो, भोग्नु पर्छ । चट्याङको जोखिम न्यूनीकरणका लागि कुनै प्रविधि राखेर बच्न सकिन्छ भन्ने जानकारी तथा जनचेतना छैन । चेतना हुनेहरूलाई पनि आर्थिक पक्ष र आफ्नो नाममा घरको लालपुर्जा नहुँदा समस्या पारेको छ । दामराङ, चौतारीमा भएको छलफलमा एक सहभागी, कालीबहादुर चेपाङले चट्याङको जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने पूर्वतयारीका सम्बन्धमा आफ्नो अनभिज्ञता व्यक्त गर्दै भन्नुभयो, “चट्याङबाट बच्ने उपाय छैन, प्राकृतिक विपत् हो, भोग्नु पर्छ ।”
राक्सिराङ गाउँपालिकाको आव २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रममा ‘वन, वातावरण तथा विपत् व्यवस्थापन’ अन्तर्गत ५७ नं बुँदाले चट्याङसम्बन्धी व्यवस्था गरेको छ । उक्त बुँदाले चट्याङ प्रभावित क्षेत्रमा चट्याङ न्यूनीकरणका लागि सम्भाव्यता अध्ययन गरी घरमा निरोधक यन्त्र जडानका लागि अनुदान कार्यक्रमलाई निरन्तरता प्रदान गरिने उल्लेख गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार पिपुल इन निड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा चट्याङ न्यूनीकरणका लागि हालै आठ वटा (२ नं वडाबाहेक) ठाउँमा सेन्सर जडान गरिएको छ । अत्यधिक चट्याङ हुने मानिएको २ नं वडामा वडा १ र ३ मा जडान गरेको सेन्सरले नै काम गर्ने हुँदा त्यहाँ जडान आवश्यक नभएको अध्यक्ष मल्लले बताउनुभयो । सेन्सरले बादल लाग्दै आएपछि सम्भावित चट्याङ पर्ने ठाउँमा आवाज निकालेर स्थानीय बासिन्दालाई सचेत गराउन थालेको छ । जनचेतनाका कारण यो वर्ष सामान्यबाहेक ठुला दुर्घटना भएको छैन । सेन्सरले सचेत मात्र गराए पनि गाउँपालिका र सँगै रहेको एक विद्यालयमा भने अर्थिङ जडान गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।