• ९ जेठ २०८२, शुक्रबार

एसियाली भूराजनीतिक सङ्कट

blog

‘एसियाली शताब्दी’ भन्ने पदावली आजकल खुबै चल्तीमा छ । यसले शक्तिको केन्द्र बदलिएको आभास दिन्छ । यसले एसियाको आर्थिक सफलताको गुणगान गाउँछ तर यो पदावली आफैँमा एक प्रश्न हो । हामी वास्तवमा कुन एसियाको चर्चा गरिरहेका छौँ ? एसिया एउटा विशाल भूखण्ड हो तर यो कुनै एउटै एकीकृत क्षेत्र होइन । यसलाई युरोप वा उत्तर अमेरिकासँग दाँज्न मिल्दैन । ती क्षेत्रमा जस्तो ऐतिहासिक वा सांस्कृतिक निकटता यहाँ पाइँदैन ।

एसियाभित्र धेरै ठुलो विविधता छ । यो गहिरोसँग विभाजित पनि छ । यहाँ कम्तीमा चार वा पाँच फरक भौगोलिक र सांस्कृतिक क्षेत्र छन् । पूर्वी एसियाको आफ्नै पहिचान छ । दक्षिण एसियाको भिन्नै सामाजिक–सांस्कृतिक परिवेश छ । दक्षिणपूर्वी एसिया बहुलताले भरिपूर्ण छ । मध्य एसियाको बेग्लै ऐतिहासिक पृष्ठभूमि छ । पश्चिम एसियाको छुट्टै भूराजनीतिक जटिलता छ । यी क्षेत्रबिच आपसी सम्बन्ध पनि सहज छैन । प्रतिस्पर्धा र तनावहरू विद्यमान छन् ।

‘एसिया’ शब्द नै पश्चिमाहरूले तय गरेको नाम हो । यो १९ औँ शताब्दीमा युरोपेलीले आफ्नो सुविधाका लागि बनाएको भौगोलिक वर्गीकरण हो । यसले महादेशभित्रको अपार विविधतालाई एउटै सामान्य नामले छोप्ने प्रयास गर्छ । यसले भित्री असमानता र शक्ति सम्बन्धलाई पनि लुकाउँछ । त्यसैले ‘एसियाली शताब्दी’ को विश्लेषण गर्नुअघि यस शब्दावलीको अर्थ र यसको प्रतिनिधित्वबारे सोच्नु जरुरी छ ।

आर्थिक वृद्धिको नालीबेली 

पछिल्ला केही दशकमा एसियाका केही देशले उच्च आर्थिक वृद्धि हासिल गरेका छन् । यो तथ्याङ्कले विश्वलाई आकर्षित गरेको छ तर यस वृद्धिको प्रकृति र असरबारे विचार गर्नु पर्छ । आर्थिक वृद्धिका पछाडि केही महìवपूर्ण प्रश्न छन् । पहिलो यो वृद्धिले सबैका लागि रोजगारी सिर्जना गर्न सकेको छैन । धेरै देशमा ‘रोजगारीविहीन वृद्धि’ एउटा प्रमुख समस्या बनेको छ । वृद्धि प्रायः ठुला उद्योग वा निर्यातमा केन्द्रित छ । यसले परम्परागत कृषि वा साना व्यवसायमा पर्याप्त फाइदा पु¥याएको छैन । ठुलो जनसङ्ख्या अझै पनि अनौपचारिक क्षेत्रमा काम गर्छ । त्यहाँ रोजगारी असुरक्षित छ र ज्याला कम छ । आम्दानीको खाडल डरलाग्दो किसिमले बढेको छ । यसले समाजमा असन्तोष बढाउन सक्छ ।

दोस्रो, धेरै एसियाली अर्थतन्त्र विश्वव्यापी प्रणालीमा अझै पनि सहायक भूमिकामा छन् । उनीहरू विश्वव्यापी उत्पादन प्रक्रियामा सहभागी छन् तर उनीहरूको काम प्रायः सस्तो श्रम उपलब्ध गराउने हो । उनीहरू कच्चा पदार्थ निर्यात गर्छन् । उत्पादन प्रव्रिmयाको कम मूल्य सिर्जना हुने काममा उनीहरू बढी संलग्न छन् । उच्च प्रविधि, अनुसन्धान र व्यवस्थापनमा पश्चिमा कम्पनीको दबदबा छ । यो एक प्रकारको ‘संरचनात्मक परनिर्भरता’ हो । केही देशले यसबाट माथि उठ्ने प्रयास गरेका छन् तर धेरै देश ‘मध्यम आयको पासो’ मा पर्ने खतरामा छन् । उनीहरू सस्तो श्रममा टिक्न सक्दैनन् । उनीहरू उच्च प्रविधिमा अगाडि बढ्न पनि सकिरहेका छैनन् । एसिया विश्वको प्रमुख उत्पादन स्थल बन्यो तर विश्व अर्थतन्त्रको नीति निर्माता बन्न सकेन ।

तेस्रो, यो तीव्र आर्थिक विकासले वातावरणमा गम्भीर असर पारेको छ । वायु प्रदूषण विकराल छ । सफा पानीको अभाव बढ्दो छ । वनजङ्गल विनाश भइरहेको छ । माटोको उर्वरा शक्ति घट्दै छ । जैविक विविधता खतरामा छ । आर्थिक वृद्धिको गणनामा यो वातावरणीय नोक्सानीलाई अक्सर बिर्सिइन्छ । यसले प्रगतिको तस्बिरलाई भ्रामक बनाउँछ । विकासको यो तरिका लामो समयसम्म चल्न सक्दैन । यसले भविष्यका लागि ठुलो सङ्कट निम्त्याइरहेको छ ।

प्राविधिक क्षमता 

कुनै पनि युगको नेतृत्व ज्ञान र प्रविधिमा आधारित हुन्छ । एसियाले नयाँ प्रविधि अपनाउनमा राम्रो प्रगति गरेको छ तर मौलिक वैज्ञानिक अनुसन्धानमा यो क्षेत्र पछाडि परेको छ । अत्याधुनिक प्रविधि निर्माण गर्ने क्षमता अझै सीमित छ । चीनले यसमा उल्लेख्य लगानी गरेको छ तर आधारभूत विज्ञानमा पश्चिमकै अग्रता छ । महत्वपूर्ण सूक्ष्म प्रशोधक (सेमिकन्डक्टर), सञ्चालन प्रणाली (अपरेटिङ सिस्टम) र जटिल औषधीमा एसिया अमेरिका र युरोपमाथि निर्भर छ । यसका केही खास कारण छन् । धेरै देशमा अनुसन्धान र विकासमा लगानी कम छ । शिक्षा प्रणालीले आलोचनात्मक सोच र सिर्जनात्मकतालाई भन्दा घोक्नलाई बढी महत्व दिन्छ । विश्वविद्यालय र उद्योगबिच समन्वयको अभाव छ । बौद्धिक सम्पत्ति संरक्षणका नियमहरू प्रभावकारी छैनन् । प्रतिभाशाली युवा राम्रो अवसर खोज्दै विदेश जान्छन् (प्रतिभा पलायन) । यो प्राविधिक परनिर्भरताले एसियाको आर्थिक सम्भावनालाई सीमित गर्छ । यसले देशहरूको रणनीतिक स्वायत्तता पनि घटाउँछ । अमेरिका र चीनबिचको प्रविधि प्रतिस्पर्धाले यो अवस्थालाई झनै जटिल बनाएको छ ।

शासनप्रणाली

एसिया महादेशमा विभिन्न प्रकारका शासनप्रणाली छन् । यहाँ लोकतान्त्रिक देश छन् । यहाँ एकदलीय कम्युनिस्ट शासन छ । यहाँ सैन्य नियन्त्रण भएका देशहरू छन् । यहाँ राजतन्त्र पनि छन् तर चीन जस्ता केही देशबाहेक, धेरै जसो शासनका ढाँचाहरू बाह्य प्रभावबाट आएका हुन् । उपनिवेशकालका प्रशासनिक नियम अझै बाँकी छन् । शीतयुद्धकालका विचारधाराका असरहरू देखिन्छन् । पश्चिमा प्रजातन्त्रको नक्कल गर्ने प्रयास भएको छ । यी बाहिरबाट ल्याइएका ढाँचा सधैँ स्थानीय समाज र संस्कृतिसँग मिल्दैनन् । यसले गर्दा सरकार र जनताबिच दुरी हुन सक्छ । शासन प्रणालीले जनताको पूर्ण विश्वास जित्न नसक्ने अवस्था आउन सक्छ । भ्रष्टाचार एक ठुलो समस्या हो । कानुनी शासन कमजोर हुन सक्छ । राजनीतिक अस्थिरता देखिन सक्छ । मानव अधिकारको अवस्था पनि चिन्ताजनक हुन सक्छ । चीन आफ्नो शासन प्रणालीलाई एसियाली मोडेलको रूपमा प्रस्तुत गर्छ तर त्यसको पारदर्शिता र नागरिक स्वतन्त्रतामाथि प्रश्नहरू छन् । एसियाली देशले आफ्नो समाज सुहाउँदो मौलिक र उत्तरदायी शासनव्यवस्था खोज्नु आवश्यक छ ।

आन्तरिक कलह 

एसियाको एउटा प्रमुख कमजोरी यसको आन्तरिक विभाजन हो । यहाँ निरन्तर द्वन्द्व र तनावहरू भइरहन्छन् । यो महादेश संसारका केही सबैभन्दा लामो र नसुल्झिएका द्वन्द्वको थलो हो । भारत र पाकिस्तानबिचको कटुता पुरानो छ । भारत र चीनको सीमा विवाद चर्किरहन्छ । जापान र चीनबिच समुद्री क्षेत्रमा तनाव छ । कोरियाली प्रायद्वीप अझै विभाजित छ र आणविक खतरा छ । दक्षिण चीन सागर शक्ति प्रदर्शनको केन्द्र बनेको छ । पश्चिम एसिया दशकौँदेखि अस्थिर छ । राज्य राज्यबिचका यी द्वन्द्व मात्रै होइनन् । हरेक देशमा जस्तै आन्तरिक तनाव पनि छन् । जातीय, धार्मिक, वा क्षेत्रीय आधारमा हुने झगडा छन् । यी द्वन्द्वले लाखौँ मानिसलाई असर गरेका छन् । अफगानिस्तान, म्यानमार, सिरिया जस्ता देश यसका उदाहरण हुन् । यो निरन्तरको अशान्तिले एसियाली एकताको कुरालाई कमजोर बनाउँछ । साझा क्षेत्रीय पहिचान बन्न दिँदैन । बाहिरी शक्तिले पनि यी विभाजनको फाइदा उठाउँछन् । क्षेत्रीय सुरक्षा र सहकार्यका लागि बलियो संयन्त्रको अभाव छ ।

निर्णायक तत्व : चीन र भारतबिचको सम्बन्ध

एसियाको भविष्य धेरै हदसम्म चीन र भारतबिचको सम्बन्धमा निर्भर गर्छ । यी दुई देश एसियाका सबैभन्दा ठुला शक्ति हुन् । जनसङ्ख्या, अर्थतन्त्र र भूगोलका हिसाबले यिनको महत्व धेरै छ । यी दुई देशले आपसमा विश्वास बढाउन सके, उनीहरूले सहकार्यको बाटो रोज्न सके त्यसले सम्पूर्ण एसियामा सकारात्मक प्रभाव पार्ने छ । विश्व राजनीतिमा पनि यसको असर पर्ने छ । उनीहरू मिलेर साझा चुनौतीको सामना गर्न सक्छन् । जलवायु परिवर्तन वा गरिबी निवारणमा नेतृत्व लिन सक्छन् तर अहिलेको अवस्था ठिक उल्टो छ । दुई देशबिच गहिरो अविश्वास व्याप्त छ । सीमा विवादले सम्बन्ध चिसिएको छ । दुवै देश क्षेत्रीय र विश्वव्यापी रूपमा आफ्नो प्रभाव बढाउन प्रतिस्पर्धा गर्दै छन् । उनीहरूका विश्व दृष्टिकोण र राष्ट्रिय स्वार्थहरू बाझिन्छन् । एकअर्कालाई शङ्काको दृष्टिले हेर्छन् । यो अवस्था कायम रहेसम्म एसिया विभाजित नै रहने छ । चीन र भारतबिचको समझदारीबिना ‘एसियाली शताब्दी’ केवल एउटा कल्पना मात्र हुने छ । उनीहरूबिचको सम्बन्ध सुधार गर्नु आजको प्रमुख चुनौती हो ।

यथार्थ स्वीकार, नयाँ दिशाको खोजी

‘एसियाली शताब्दी’ पदावली आकर्षक भए पनि यथार्थभन्दा टाढा छ । यसले एसियाको आन्तरिक जटिलतालाई बेवास्ता गर्छ । आर्थिक वृद्धिको पछाडिका समस्यालाई लुकाउँछ । प्राविधिक कमजोरीलाई कम आँक्छ । शासनप्रणालीका चुनौतीलाई महत्व दिँदैन । निरन्तरको द्वन्द्वको वास्तविकतालाई ढाक्छ । एसियाले विश्वमा आफ्नो स्थान बनाउने हो भने उसले आफ्ना संरचनात्मक समस्या समाधान गर्नु पर्छ । आर्थिक वृद्धिलाई समावेशी र वातावरणमैत्री बनाउनु पर्छ । मौलिक प्रविधि विकास गर्नु पर्छ । जनताप्रति जवाफदेही शासन व्यवस्था निर्माण गर्नु पर्छ । आन्तरिक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नु पर्छ । प्रमुख शक्तिहरू, विशेष गरी चीन र भारतले समझदारी बढाउनु पर्छ ।

यी चुनौती पार नगरी एसियाले २१ औँ शताब्दीको नेतृत्व गर्न सक्दैन । भविष्य कुनै एउटा निश्चित ‘शताब्दी’ मा छैन । बरु एसियाको विविधता र जटिलतालाई स्वीकार गर्दै अघि बढ्नु पर्छ । सहकार्यका नयाँ अवसरहरू खोज्नु पर्छ । यसका लागि सतही नारा होइन । गहिरो चिन्तन, यथार्थपरक योजना र निरन्तर कूटनीतिक प्रयास आवश्यक छ ।