सन्तोष सुवेदी
पाख्रीबास, वैशाख, २८ गते । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल धनकुटाले विभिन्न समयमा विशेष योगदान पुर्याएकाेमा तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आइतबार जिल्ला महासङ्घ धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका–९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समूह र चौबिसे गाउँपालिका–३ र ४ मा स्थित भोटेपौवा चिसापानी सामुदायिक वन उपभोक्त समूह कुरुले तेनुपा रहेका छन् ।
सम्मानित हुने वन उपभोक्ता समूहका अध्यक्षहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली, वन उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले सम्मानपत्र खादा माला लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सांसद इन्द्रमणि पराजुलीले देशमा विभिन्न नमुना वन रहेका र ती वनहरूमा जिल्लामा आबद्ध वन उपभोक्ता समूह अवलोकनमा गई धेरै कुरा सिकेर लागु गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, "नमुना वनहरूबाट सिपमूलक, क्षमता विकास सिप हासिल गरी आय अर्जनको पाटोमा जोड्न सकिन्छ ।" यस्तै वनलाई व्यवस्थित गर्न महासङ्घ, स्थानीय र सरोकारवलाले मुख्य भूमिका खेल्नु पर्ने बताउँदै जिल्लामा ठुला वन उपभोक्ता समूह रहेको तर क्रियासिल नभएका कारण तत्काल क्रियाशील बनाउनुपर्ने बताउनुभयो ।
यस्तै सांसद पराजुलीले भन्नुभयो, उपभोक्ताहरूलाई परिचालित गरी क्रियाशिल बनाई सूसुचित गर्नुपर्ने बताउनुभयो । सरकारलाई जिम्मेवारी वनाउन महासङ्घले काम गरी समुदायहरूलाई फाइदा हुने काम, जडीबुटी र वनमा लगाइने बाली लगाई आम्दानीमा जोड्न सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सात वटा पालिकाका महासङ्घको उपस्थिती रहेको थियो । धनकुटामा ३ सय ५७ वटा भन्दाबढी सामुदायिक वन रहको सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार तीमध्ये २ सय २० वटा क्रियाशील रहेका जानकारी दिनुभयो । वन उपभोक्ता समूहहरूलाई क्रियाशील बनाउनु महासङ्घ लागि परिरहेको समेत बताउनुभयो ।