घोराही, वैशाख २५ गते । दाङको देउखुरीमा निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको करिब आठ किलोमिटर नहरमा पानी छोड्ने तयारी भएको छ । सिँचाइ आयोजनाको मुहान भालुवाङदेखि गढवा गाउँपालिका–१, वनघुर्सीसम्मको करिब ८.२ किलोमिटर नहरसँगै सहायक नहर निर्माणको काम सकिएपछि सिँचाइका लागि पानी छोड्न थालिएको हो ।
बड्कापथ सिँचाइ आयोजना कार्यालय लमहीका प्रमुख निश्चल छत्कुलीले वनघुर्सीसम्मको मुख्य नहरसँगै सहायक नहर निर्माणको काम सकिएपछि सिँचाइका लागि पानी छोड्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।
सरसफाइको काम सकिएपछि वैशाखको अन्तिमसम्म नहरमा पानी छोडिने छ । कार्यालय प्रमुख छत्कुलीले सिँचाइ आयोजना सञ्चालन भएपछि वनघुस्र्रीसम्मको करिब ५० देखि ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताउनुभयो । सिँचाइ आयोजना सुरु भएको करिब १२ वर्षपछि नहरमा पानी छोड्ने तयारी भएपछि वनघुर्सी, कुलापानीलगायत क्षेत्रका किसान खुसी भएका छन् ।
सिँचाइ आयोजनाको अहिले दोस्रो खण्ड अन्तर्गत वनघुस्रीदेखि सिक्रहवा खोलासम्मको नहर निर्माणको काम भइरहेको छ । सिक्रहवा खोलासम्म नहर निर्माणको काम सकिएपछि सिँचाइ छत्कुलीले आयोजनाको करिब १४.४५ किलोमिटर नहर निर्माणको काम सकिने बताउनुभयो । उहाँका अनुसार वनघुस्रीदेखि सिक्रहवा खोलासम्मको करिब ६.४३ किलोमिटर नहर निर्माणको काम कालिका–बन्धन–भगवती–बुद्ध हिमाली निर्माण जेभीले गरिरहेको छ । दोस्रो खण्डको काम चालु आर्थिक वर्षभित्रै सक्ने गरी तयारी भए पनि सुरुमा काम गर्न नपाउँदा समस्या भएको छ । कार्यालय प्रमुख छत्कुलीले ३० किलोमिटर लामो नहरमध्ये तेस्रो खण्डमा सिक्रहवा खोलादेखि मानपुरसम्मको २२.२ किलोमिटरसम्म नहर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेकोसमेत बताउनुभयो ।