• २२ वैशाख २०८२, सोमबार

आइसियु र भेन्टिलेटर चलाउने चिकित्सक पाइएन

blog

नवलपुर सर्पदंश उपचार केन्द्रमा छ वर्षदेखि थन्काएर राखिएको भेन्टिलेटर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख २२ गते ।
सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर चलाउन जान्ने चिकित्सक पाउनै मुस्किल परेको छ ।

दक्ष जनशक्ति नहुँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियु र भेन्टिलेटर छ वर्षदेखि थन्काएर राख्नुपरेको उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले गुनासो गर्नुभयो । आइसियु र भेन्टिलेटर सञ्चालन गर्न जान्ने चिकित्सक नियुक्त गर्ने उद्देश्यले सर्पदंश उपचार केन्द्रले अघिल्लो महिनामा मात्रै चिकित्सकको आवेदन लिएर परीक्षा समेत सञ्चालन गर्यो ।

पाँच जना चिकित्सकको आवेदन परेकामा एक जना उत्तीर्ण समेत भए तर ती चिकित्सक नियुक्ति लिनै नआएका सर्पदंश उपचार केन्द्रका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । पटक–पटक दरखास्त माग गर्दा र विभिन्न व्यक्ति तथा निकायमार्फत पहल गर्दा समेत आइसियु र भेन्टिलेटर चलाउने चिकित्सक नपाइएको अध्यक्ष पौडेलको भनाइ छ ।

उपचार केन्द्रमै कार्यरत चिकित्सकसहित दुुई जना स्वास्थ्यकर्मीलाई धरान लगेर तालिम दिएर ल्याए पनि उहाँहरु आइसियु र भेन्टिलेटर चलाउन डराउनुभएको पौडेलले बताउनुभयो । सर्पदंश उपचार केन्द्रमा २०७६ असार २३ गते राति उपचारका हरिवनबाट ल्याइएको दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको आफन्तले आइसियु र भेन्टिलेटर तोडफोड गरी स्वयंसेवकको रुपमा कार्यरत डा. अर्जुन लामामाथि हातपात गरेका थिए ।

सो घटनापछि मधेश प्रदेश सरकारको ३० लाख रुपियाँ र लालबन्दी नगरपालिकाको पाँच लाख रुपियाँ खर्चिएर अर्को आइसियु र भेन्टिलेटर खरिद गरेर ल्याइए पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । सर्पले डसेपछि गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई तुरुन्त आइसियु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने तर अत्यन्त जोखिम मोलेर उपचार गर्दा बिरामीलाई तलमाथि भए आफू माथि नै आक्रमण हुने डर चिकित्सकमा रहेको पाइएको छ ।

दक्ष चिकित्सक ल्याउँदा अहिले कार्यरत आठ जना स्वास्थ्यकर्मीको भन्दा बढी अर्थात् मासिक दुई लाख रुपियाँसम्म तलब, भत्ता दिनुपर्ने अवस्था रहेपछि समस्या परिरहेको सर्पदंश उपचार केन्द्रका अध्यक्ष पौडेलको भनाइ छ । पौडेल भन्नुुहुन्छ, “एक त यहाँ बिरामीलाई तलमाथि केही भयो भने डाक्टरलाई नै पिट्छन् भन्ने त्रास सिर्जना गरिएकाले आइसियु, भेन्टिलेटर चलाउने एमडी गरेका चिकित्सक आउनै मान्दैनन्, अर्कोतर्फ एउटै चिकित्सकलाई मासिक दुई लाख रुपियाँ तिरेर राख्ने हाम्रो क्षमता पनि छैन ।”

सर्पले डसेका बिरामीलाई प्रयोग गर्ने एन्टिस्नेक भेनम सरकारले निःशुल्क उपलब्ध गराउने गरेको भए पनि अन्य औषधी र केमिकल सर्पदंश उपचार केन्द्र आफैँले खरिद गर्दै आइरहेको छ । सर्पले डसेपछि उपचार गर्न आउने प्रतिबिरामी दुई हजार पाँच सय रुपियाँ लिने गरिएको छ ।

संस्थाका आजिवन सदस्यसँग पाँच सय रुपियाँ मात्रै लिने गरिएको उपचार केन्द्रले जनाएको छ । सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न लालबन्दी, ईश्वरपुर, हरिपुर र हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाका केही वडा कार्यालयले नियमितजसो बजेट विनियोजन गर्दै आइरहेका छन् ।

नवलपुर सर्पदंश उपचार केन्द्रमा अहिले एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । आठ जनाका लागि तलब बापत मासिक एक लाख ७३ हजार रुपियाँ खर्च हुने गरेको छ भने नेपाली सेनाले आफ्नै खर्चमा दुई जना कर्मचारी चौबिसै घण्टा राख्दिने गरेको छ ।

सर्पदंश उपचार केन्द्रका इन्चार्ज एवम् हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले सर्पले डस्ने वित्तिकै ल्याइएको बिरामीलाई एन्टिभेनम चलाएर उपचार गरिरहे पनि चिन्ताजनक अवस्थामा ल्याइएका बिरामीलाई आइसियु र भेन्टिलेटरको सुविधा रहेको ठाउँमा रेफर गर्ने गरिएको बताउनुभयो ।

“सर्पले डस्नासाथ सामान्य अवस्थामै ल्याइएका बिरामीको उपचार गरिरहेका छौँ तर गम्भीर अवस्थामा ल्याइएकालाई त उपचार गर्न आइसियु र भेन्टिलेटर सञ्चालनमा छैन्,” यादवले भन्नुभयो, “जटील अवस्थाका बिरामीलाई वीरगञ्ज, जनकपुर रेफर गर्ने गरेका छौँ ।”

तुरुन्त उपचार पाउनुपर्ने सर्पदंशका बिरामीलाई टाढा रेफर गर्दा ज्यान नै तलमाथि पर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन् । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले नगर अस्पतालमा कार्यरत चिकित्सकमध्ये कसैलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा खटाएर भए पनि भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने प्रयास गरे पनि अस्पतालमा पनि आइसियु र भेन्टिलेटर चलाउन सक्ने दक्ष चिकित्सकको अभाव रहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले सर्पदंश उपचार केन्द्रको आइसियु र भेन्टिलेटर चलाउन प्रयासरत् रहे पनि सफल हुन नसकेको बताउनुभएको छ । “नगर अस्पतालमा कार्यरत चार/पाँच जना डा. मध्ये कसैले पनि आइसियु, भेन्टिलेटर चलाउन जान्नुभएको छैन भन्ने भयो,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “अनेक उपाय लगाउँदा पनि सर्पदंश उपचार केन्द्रको आइसियु र भेन्टिलेटर चलाउन सकेनौँ ।” 

गर्मी चढेसँगै सर्पदंशका बिरामी बढिरहे पनि उपचार केन्द्रको आइसियु र भेन्टिलेटर रहेको कोठामा भने ताला झुण्ड्याएर राखिएको छ ।