साँफेबगर समाचारदाता
अछाम, वैशाख २१ गते । १३ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि छाउगोठमा बस्न सुरु गर्नुभएकी अछामको चौरपाटी गाउँपालिका–२की जानकी साउद १६ वर्षकी हुनुभयो । उहाँ महिनैपिच्छे छाउको पालो आएपछि छाउगोठ बस्नुपर्ने बाध्यताले चिन्तित हुनुहुन्थ्यो ।
अहिले भने उहाँ छाउगोठमा बस्नु हुन्न । “छाउ त बार्ने होइन, सरसफाइ गर्नुपर्ने रहेछ,” उहाँ भन्नुहुन्छ । जानकी अहिले टोल छिमेकमा छाउगोठमा बस्ने महिलालाई सुरक्षित रूपमा बस्नु पर्छ भनेर सल्लाह दिँदै आउनुभएको छ ।
चौरपाटी गाउँपालिका–२, सोकटका किशोरी विनिशा भूल एक वर्षअघि छाउगोठ त्यागेर घरमा बस्नुहुन्छ तर गाउँका धामीझाँक्रीको करकापमा पुनः छाउगोठ बस्न बाध्य हुनुभयो । “गाउँघरका देवीदेवता मान्ने अभिभावक र धामीझाँक्रीलाई जनचेतनामूलक तालिम दिनु पर्छ,” उहाँले भन्नुभयो, “तालिम र जनचेतनामूलक कार्यक्रमको अटेरी गर्नेलाई कारबाही हुनु पर्छ ।” अनि मात्रै छाउगोठमा बस्ने प्रथाको अन्त्य हुन्छ ।
सोही गाउँपालिकाको मूलीगाउँकी उर्मिला साउदले छाउगोठ त्यागेर घरमा बस्न थालेको झन्डै सात वर्ष पुगेको छ । “छाउगोठमा बस्दा पुस महिनाको जाडो र बर्सातको पानीले साह्रै दुःख हुने गरेको थियो,” साउदले भन्नुभयो, “अहिले महिनावारीको समयमा घरमै बस्दा कुनै पनि समस्याको पिरलो छैन । साउदले महिनावरीको समयमा घरमै बस्ने मात्रै नभई घरपरिवारलाई खाना, गाईभैँसीसमेत आफैँ दुहुने गर्नुभएको छ ।
सोही गाउँकै कविता साउदले आजभन्दा २० वर्ष अगाडि विवाह गर्नुभएको थियो । विवाह गरेपछि पहिलो पटक महिनावारी हुँदा छाउगोठमा बस्नुभयो । छाउगोठमा बस्दा सर्पले टोक्छ कि भन्ने डर, अनि घरबाट टाढाको गोठमा बस्दा एक हप्तासम्म राम्रोसँग सुत्न पाइएन अनुभव उहाँले सुनाउनुभयो । दोस्रो पटक महिनावारी हुँदा श्रीमान्सँगको सल्लाहपछि महिनावारी हुँदा कहिल्यै पनि छाउगोठमा बस्नु भएन ।
“महिनावारी भएका बेला खाना पकाउनेदेखि घरभित्रको सबै काम गर्दै आएको छु,” उहाँले भन्नुभयो, “अझ भन्नु पर्दा महिनावारीको समयमा धामीझाँक्रीलाई खानासमेत खुवाएकी छु ।” अहिलेसम्म न आफूलाई न त धामीझाँक्रीलाई कुनै समस्या भएको छैन । “महिनावारी भएको बेला सरसफाइमा ध्यान दिनु पर्छ,” उहाँले भन्नुभयो, “घरमा बसे पनि केही नहुने रहेछ ।”
केही वर्षअघिसम्म महिनावारी हुँदा घरभन्दा टाढा छाउगोठमा बस्ने चौरपाटी गाउँपालिका–२, सोकटका महिला अहिले विस्तारै बढ्दै गएको शिक्षा र चेतनाले छाउपडी कुप्रथा छोड्न थालेका छन् ।
गोठबाट घरमा महिलालाई बसाउनका लागि चौरपाटी गाउँपालिकाले बिहीबारबाट छाउगोठमुक्त अभियानको सुरुवात गरेको छ । चौरपाटी गाउँपालिकाको आयोजना समविकास नेपालको सहजीकरण र रेडियो जनप्रिय एफएमको समन्वयमा मर्यादित महिनावारी र छाउगोठमुक्त अभियान सुरु भएको छ ।
छाउगोठमुक्त अभियानमा सहभागी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी छाउगोठको अवस्था बुझ्न गाउँ गाउँमा आफैँ पुगिरहनुभएको छ । अछाममा विभिन्न समयमा गरेर छाउगोठमा बस्दा १५ जनाको ज्यान गएको छ । चौरपाटी गाउँपालिकामा मात्रै तीन महिलाले ज्यान गुमाएका छन् ।
अब पनि छाउगोठमा बसेमा मुलुकी अपराध संहिता २०७४ ले परिभाषित गरे अनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले बताउनुभयो । चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने दुवैको सेवासुविधा रोकिने चेतावनी दिनुभएको छ ।