बैतडी समाचारदाता
बैतडी, वैशाख २१ गते । बैतडीका एक ज्योतिष पण्डितले दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्नुभएको छ ।
पाटन नगरपालिका–८, खोड्पेको जसुलीखाली निवासी ज्योतिष पण्डित गणेशप्रसाद पन्तले धार्मिक कुरीति हटाउन दलित बस्तीमा अहिलेसम्म २२ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक, न्वारन, व्रतबन्धलगायतका एक सयभन्दा बढी कर्मकाण्ड गरिसकेको बताउनुभयो ।
जिल्लाको प्रसिद्ध वनारसीधामका पुजारीसमेत रहनुभएका ज्योतिष पं. पन्तले शुक्रबार दशरचन्द नगरपालिका–८, त्रिपुरास्थित पूर्वप्रहरी उपरीक्षक एवं हाल अधिवक्ता रहनुभएका गोविन्दराम परियारको घरको गृहप्रवेशको विधिवत् पूजा गर्नुभयो । घरको गृहप्रवेश पूजापछि परियारले धार्मिक गुरुबाट नयाँ कामको थालनी हुँदा खुसी लागेको बताउनुभयो ।
ज्योतिष पं. पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईंलाई जनैधारण गराइसकेको बताउनुभयो । आचार्य कृष्ण दमाईंले पशुपति कोटीहोमको व्यासबाट प्रवचनसमेत दिइसक्नुभएको छ । धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिष पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने बताउनुभयो । कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहणसमेत गर्दै आइरहेको छु ।”
उहाँले सन्या पूजा गर्दा अहिले पनि अथर्ववेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा काम रहेको बताउनुभयो । अथर्ववेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनेको उहाँले दाबी गर्नुभयो । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ तर त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेका यस्ता कुरीति हटाउनुपर्ने उहाँले जोड दिनुभयो ।
कुरीति हटाउन खोज्दा यजमान छुटे
ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलित बस्तीमा कर्मकाण्ड गर्न सुरु गरेपछि बुवा बाजेका पालादेखिका गैरदलित समुदायका पुख्र्यौली यजमान छुटेको बताउनुभयो । उहाँले सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जालमार्फत आफूमाथि तुच्छ गालीगलौजसमेत हुँदै आएको पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “धेरै यजमान छुटेपछि जीविका चलाउन श्रीमतीले गाई पालेर दुध बेच्ने गरेकी छिन् । पण्डितको श्रीमतीले दुध बेच्न थालेको भन्दै समाजमा खिसीट्युरी गर्छन् । यद्यपि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन ।”
जीविका चलाउन गाई पालेर दुध बेच्दै आएको उहाँले बताउनुभयो । छोराछोरी पढाउन गाईसँगै बाख्रासमेत पालेको उहाँले बताउनुभयो । दुःखसुख गरेर पन्त परिवारले दुई छोरामध्ये एक गौरीशङ्कर संस्कृत महाविद्यालय पिथौरागढबाट शास्त्री प्रथम वर्षमा र अर्को छोरा कक्षा १२ मा अध्ययन गर्न सघाइरहनु भएको छ ।