जनार्जन खत्री
सर्लाही, बैशाख २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, फूलजोर खोलामा ८० भन्दा बढी घरधुरीमा खानेपानी सुविधा पुर्याउने लक्ष्यसहित इन्टेक निर्माण गरिएको छ ।
चुरेको फेदीमा पर्ने फूलजोर गाउँमा ‘एक घर, एक धारा’ को अवधारण अन्तर्गत प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यसहित काम भइरहेको फूलजोर–झोलुुङ्गे पुल खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्रराज खत्री (राजु) ले जानकारी दिनुुभयो । उहाँका अनुसार फूलजोर खोलामा ३० हजार लिटर क्षमताको खानेपानी इन्टेक ट्याङकी निर्माण गरिएको छ ।
इन्टेकमा सङ््कलन भएको पानी र नजिकै बाह्रैमास रसाइरहने पानी फिल्टर गरेर घर–घरमा खानेपानी वितरण गर्ने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताउनुुभयो । फूलजोर–झोलुङ्गे पुल खानेपानी आयोजनाका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले ५२ लाख रुपियाँ र वडा तथा नगरबाट पाँच लाख ५६ हजार रुपियाँ बजेट विनियोजन भएको छ ।
इन्टेकमा सङ्कलन भएको पानी वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले उपलब्ध गराउने सोलार प्लान्टमार्फत घर–घरको धारामा पुर्याउने उपभोक्ता समितिले जनाएको छ । फूलजोर खोलाको किनारमै रहेको फूलजोर गाउँका स्थानीयले अहिले बाँके खोलातर्फबाट ल्याइएको खानेपानी पिउँदैआएका छन् ।
बाँके खोलाबाट ल्याइएको पानी कहिले आउने, कहिले नआउने हुँदा खानेपानीको समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । ईश्वरपुर १२ को बाँके खोलातर्फ पनि मधेश प्रदेश सरकारले उपलब्ध गराएको ७० लाख रुपियाँ बजेटबाट एक हजार घरधुरीमा खानेपानी सुविधा पुर्याउने लक्ष्यसहित काम भइरहेको छ ।
ईश्वरपुर –१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले फूलजोर र बाँके दुवै तर्फको खोलामा खानेपानी आयोजनाको काम भइरहेको र आयोजना सफल भए वडाभित्र खानेपानीको समस्या धेरै हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो । सर्लाहीको चुरेका डाँडापाखा र चुरेफेदीका गाउँहरुमा खानेपानीको समस्या छ ।