• २० वैशाख २०८२, शनिबार

सिसी क्यामरा नहुँदा सुरक्षामा चुनौती

blog

पूर्वपश्चिम राजमार्गको भरतपुर र रत्ननगरबिचको टिकौली जङ्गल ।

चितवन समाचारदाता

चितवन, वैशाख २० गते  । चितवनको टिकौली जङ्गलमा वन्यजन्तुसँगै अन्य गतिविधि निगरानी गर्न राखिएको सिसी क्यामरा बिग्रेको बर्सौं हुँदा पनि मर्मत गर्न कुनै निकायले चासो दिएको छैन । भरतपुर महानगरपालिकाको पूर्वी क्षेत्र गोन्द्राङदेखि टिकौली जङ्गल हुँदै रत्ननगर नगरपालिका प्रवेश गर्ने स्थानमा निगरानी गर्न १० वर्षअगाडि सिसी क्यामरा राखिएको थियो । राखेको केही वर्षमा नै बिग्रेपछि पनि मर्मत गर्न चासो दिएको छैन । 

पूर्वपश्चिम राजमार्ग भएकाले सडक दुर्घटना, आपराधिक गतिविधि, वन्यजन्तुलाई सवारीसाधनले ठक्कर दिनेलगायतका घटना हुने गरेको थियो । यसैलाई निगरानी गर्न राखिएको क्यामरा बिग्रेपछि मर्मत तथा नयाँ राख्न चासो दिएको छैन । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी देवीप्रसाद पौडेलले भन्नुभयो, “सहयोगी संस्थाले क्यामरा राख्ने व्यवस्था गरेको थियो बिग्रेपछि मर्मत तथा नयाँ राख्न बजेट अभावमा राख्न सकिएको छैन ।”  

तत्कालीन समयमा सिसी क्यामराले सवारीसाधनको ठक्करबाट हरिण मरेको रेकर्डसमेत गरेको थियो । निकुञ्जको कोरिडोर क्षेत्र भएकाले यहाँ सिसी क्यामरा राख्नुपर्ने मागसमेत हुँदै आएको थियो । अहिले पनि सिसी क्यामरा राख्न दबाब दिए पनि बजेट व्यवस्थापनमा कुनै निकायको सहयोग नभएपछि चासो नभएको सूचना अधिकारी पौडेलले भन्नुभयो । 

चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले कोरिडोर क्षेत्रमा निगरानी अति आवश्यक भए पनि क्यामरा राख्नका लागि कार्यालयसँग बजेट नभएको बताउनुभयो । तत्कालीन अवस्थामा क्यामराको निगरानीमा सुरक्षा व्यवस्था चुस्त भएको थियो । अहिले क्यामराको अभावमा निगरानी गर्न चुनौती थपिएको बताउनुभयो । “निकुञ्ज र महाभारत जोड्ने जौविक मार्गका रूपमा समेत परिचित वन्यजन्तु र आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामरा जडान गर्नु अवश्यक छ,” मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो । 

१० वर्षअगाडि १० वटा सिसी क्यामरा जडान गरिएको थियो । क्यामराको निगरानी टिकौली वनरक्षक तालिम केन्द्रमा राखिएको थियो । विश्व वन्यजन्तु कोषको १७ लाख रुपियाँको सहयोगमा चार किलोमिटर क्षेत्रमा १० वटा नाइट भिजनसहितको क्यामरा जडान गरिएको थियो । क्यामराले ४० मिटर टाढाको दृश्य कैद गर्ने क्षमता राख्थ्यो भने ९० दिनसम्म भण्डारण गर्ने क्षमता रहेको थियो । क्यामरालाई चौबिसै घण्टा चलाउन सोलार जडान गरिएको छ ।

सिसी क्यामराको टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरी सम्मिलित टोलीले संयुक्त रूपमा निगरानी राख्ने गरेका थिए । सिसी क्यामरा जडान गरेपछि जथाभाबी फोहोरमैला फाल्ने, तीव्रगतिका कारण जङ्गली जनावर घाइते हुने र मर्ने व्रmमसमेत घटेको थियो ।