• २० वैशाख २०८२, शनिबार

बैतडीका बिस हजार परिवार स्वास्थ्य बिमामा आबद्ध

blog

बैतडीमा २० हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध स्रोत स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडी । तस्बिरः गोरखापत्र

केशव राज भट्ट 

बैतडी, वैशाख १९ गते । बैतडीका २० हजार ८३ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । अहिलेसम्म २० हजार ३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताउनुभयो । 

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दस ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको बडालले बताउनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै स्वास्थ बिमा संयोजन समिति गठन भइसकेको छ । बाँकी पालिकाहरूमा पनि समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

अहिले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बिमा संयोजन समिति गठन गर्न लागिएको बडालले बताउनुभयो । सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रहेको छ ।  

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य  बिमामा आबद्ध हुँदा ५ जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक वर्षका लागि १ लाखसम्मको उपचार सुविधा पाउने बडालले बताउनुभयो । स्वास्थ्य बिमाको सेवा निरन्तर रूपमा पाउन हरेक वर्ष बिमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।

५ जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप सात सय रुपियाँका दरले प्रिमियम तिर्नुपर्ने र उहाँहरूले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको बडालले बताउनुभयो । हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागु हुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागु हुने भएको छ ।

बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीमा स्वास्थ्य बिमाका बिरामीले सेवा पाउने व्यवस्था छ । 

जिल्लामै तीन ठाँउबाट स्वास्थ्य सेवा प्रवाह भएपछि दुर्गमका नागरिकलाई सेवा लिन सहज भएको छ । सहजै परिवारका पाँच जनासम्मको उपचार गर्न मिल्ने भएकाले २०७६ सालदेखि   स्वास्थ्य बिमामा आबद्ध रहेको पाटन नगरपालिका ६ का लालसिंह विष्टले बताउनुभयो ।

गरिब तथा विपन्न नागरिकको लागि स्वास्थ्य बिमा धेरैनै प्रभावकारी रहेको  र पुजीमा नभएको अवस्थामा पनि ढुक्क भएर उपचार गर्न मिल्ने भएको हुँदा ज्यादै खुसी लागेको पन्चेश्वर गाउँपालिका ३ का कालु जोशी बताउनुभयो ।

रोजगारी नभएका, एकल महिला, विपन्नलाई तथा खर्च नभएर उपचार गराउन नसक्नेका लागि स्वास्थ्य बिमा साहारा बनेको दशरथचन्द नगरपालिका ६ का नारायणदत्त जोशीले बताउनुभयो ।