‘हामी यो चाहँदैनौँ कि कुनै देशले हामीले कस्तो विचार गर्नु पर्छ, अथवा हामीले आफ्नो भित्री मामिलामा कस्तो कारबाही गर्नु पर्छ भनी सिकाओस् । १९६० को सेप्टेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको महासभामा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले भन्नुभएको थियो, “हामीलाई दृढ विश्वास छ कि चिरस्थायी शान्ति र स्थिर विश्व व्यवस्था स्वतन्त्रता र न्यायको आधारमा मात्र प्राप्य छ । यही लक्ष्यका निमित्त हामी अरू राष्ट्रहरूसँग सहयोग गर्न चाहन्छौँ ।”
राष्ट्रसङ्घको दायरा, दायित्व र विश्वव्यापी महत्व फैलिँदै जाँदा नेपालका कुनै सरकार प्रमुखले पहिलो पटक उसको महासभालाई सम्बोधन गर्नुभएको थियो । यस हिसाबले बिपी कोइराला राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने पहिलो नेपाली प्रधानमन्त्री हुनुभयो । उहाँ नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि हो ।
त्यो बेला भर्खरै दोस्रो विश्वयुद्ध सकिएको थियो र सबै देश मिलेर विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको जन्म भएको थियो । त्यो बेला नेपाल र भारत पहिला नै राष्ट्रसङ्घको सदस्य भइसकेका थिए । चीन छुटेको थियो । चीनलाई राष्ट्र सङ्घको सदस्यता दिने कि नदिने भन्ने विषयमा राष्ट्रसङ्घको उच्च परिषद्मै विवाद थिए । तथापि बिपी कोइरालाले चीनलाई पनि सदस्यता दिनु पर्छ भनेर महासभामा भन्नुभयो ।
“म चीनको प्रतिनिधित्वका विषयमा पनि केही नबोलिरहन सक्दिनँ । चीनको विषय एक खास किसिमको छ । हाम्रो रायमा संयुक्त राष्ट्रसङ्घ यस संस्थामा गणतन्त्र चीनलाई यसको यथोचित स्थान नदिउन्जेलसम्म न विश्वव्यापी हुन सक्छ न त यसले यसबाहिरको संसारमा रहेको राजनीतिक वास्तविकता प्रतिविम्बित गर्न सक्छ । गणतन्त्र चीनलाई सदस्यता प्रदान नगरुन्जेलसम्म राष्ट्रसङ्घले पूरा गर्नुपर्ने आफ्ना केही महत्वपूर्ण कामकारबाही राम्रो तौरले पूरा गर्न सक्ने छैन” चीनलाई सदस्यता दिनु पर्छ भनेर उहाँले महासभामा यस्तो भन्नुभएको थियो ।
त्यो बेला बिपीले यस्तो किन भन्नुभएको थियो भने चीन र भारत दुवै नेपालका असल छिमेकी राष्ट्र हुन् । भविष्य शक्ति राष्ट्रका लागि दुई देशबिच हुन सक्ने प्रतिस्पर्धाबारे बिपी त्यो बेलै जानकार हुनुहुन्थ्यो । नेपालका लागि त दुवै छिमेकी उत्तिकै महत्वपूर्ण थिए, छन् र सधैँ रहने छन् । बिपी चाहनुहुन्थ्यो यी दुवै छिमेक राष्ट्रहरू विश्वमञ्चमा पनि समान र सम्मानित तरिकाले अघि बढून् । बिपीले त्यो बेला लिनुभएको देशको वैदेशिक नीति, छिमेक हेर्ने दृष्टिकोण अनि विश्वलाई हेर्ने नेपाल नीति निकै दूरगामी, प्रभावकारी र सूक्ष्म थिए । त्यसको सान्दर्भिकता आज पनि उत्तिकै ओजपूर्ण छ र आज खट्किएको एउटा मात्रै विषय के हो भने त्यस्तो प्रभावकारी विश्वनीति, कूटनीति अनि त्यसको प्रभावकारितालाई औँल्याउन सक्ने राजनेता हामीकहाँ कोही पनि जन्मिन सकेनन् ।
आज सारा विश्व फेरि खलबलिएको छ । पृथ्वीका हरेक धु्रव आपसमै विभाजित छन् । आपसी द्वन्द्वमा नराम्रोसँग फँसेका छन् । विश्वका हरेक राष्ट्रहरू स्वायत्त हुन्छन् । उनीहरूको आआफ्नै स्वतन्त्रता छन् । सार्वभौम छन् । केही उन्माद अनि केही आपसी द्वन्द्वको परिणाम फेरि पनि युद्ध भइरहेका छन् । एकाध देश आपसमा जुधिरहेका छन् । वाक्युद्धदेखि हतियारसहितको युद्धले गर्दा आज फेरि विश्व एक पटक नराम्रोसँग अशान्त हुन पुगेको छ । प्राकृतिक रूपमै विश्वका हरेक देश कुनै न कुनै रूपमा जोडिएका हुन्छन् । एक देशमा नभएका आवश्यकताका चिजवस्तु अर्को देशमा हुन सक्छन् । एक देशमा नहुने उत्पादन अर्को देशमा हुन्छ । त्यसले विश्वलाई यसरी एउटा चक्रमा बाँधिरहेको हुन्छ कि छिमेकी होस् वा चाहे सात समुद्रपारिको राष्ट्र किन नहोस् सबैसँग सबै कुरा नहुँदा एकअर्कोमा निर्भर हुनुपर्ने अवस्था छ ।
विश्वमा कतै न कतै भइरहेका लडाइँ तथा द्वन्द्वहरूले त्यो चक्रलाई बिथोलेको छ । व्यापारिक भाषामा भन्दाखेरि त्यो आपूर्ति चक्रलाई कुनै न कुनै देशमा भइरहेको तनावले बिथोलिरहेको हुन्छ । आजको विश्व अझ भनौँ नेपाल जस्ता भूपरिवेष्टित र विकासशील देश त्यसको मारबाट झन् पीडित हुन्छन् र हुँदै आएका पनि छन् । विश्वको कुनै पनि कुनामा हुने त्यस्ता लडाइँ–झगडाले नेपाल जस्ता देश नै आखिरमा पीडित हुने हो । त्यही भएर हो नेपालले सुरुदेखि नै पञ्चशील सिद्धान्तको आधारमा आफ्नो परराष्ट्र नीति अवलम्बन गरेको छ । त्यसमा पनि बिपी कोइरालाले सुरुवात गर्नुभएको असंलग्न राष्ट्रका रूपमा नेपालले आफूलाई एउटा सार्वभौम, स्वायत्त, स्वतन्त्र अनि तटस्थ राष्ट्रका रूपमा आफ्नो परिचय बनाएको छ । यो सिद्धान्त र नीतिका आधारमा नेपाल कुनै पनि युद्धको पक्षमा हुनु हुँदैन । यसको अर्थ हरेक कुरामा मौन वा तटस्थ बस्नु पर्छ भनेको होइन । कुनै पनि युद्धलाई समर्थन नगर्ने भन्नुको अर्थ नेपाल सधैँ विश्व शान्तिको पक्षमा रहन्छ र रहँदै आएको छ ।
मध्य गोलाद्र्धका रुस र युक्रने करिब तीन वर्षदेखि युद्धमा छन् । हजारौँ मानिस मारिएका छन् । लाखौँ मानिस अङ्गभङ्ग र विस्थापित भएका छन् । आफ्नो थातथलो छोडेर कैयौँ लाख मानिस शरणार्थी हुन बाध्य भएका छन् । त्यसबाट दुवै देशको ठुलो भौतिक क्षति भएको छ तर पनि युद्ध रोकिएको छैन । विश्वका शक्ति राष्ट्रसमेतले पहल गर्दा पनि त्यो युद्ध रोकिएको छैन । त्यसले विश्व आपूर्ति चक्रलाई यस्तो नमिठोसँग बिथोलेको छ कि नेपाल जस्ता देशले पनि त्यसको परिणाम कैयौँ अभाव झेल्नु परेको छ । त्यहीबिचमा सुरु भएको इजरायल–हमास युद्धका कारण फेरिको ध्वंस हुन पुग्यो । यसबाट पनि उत्तिकै परिणाममा जनधनको क्षति भइरहेको छ । यी दुवै युद्धमा कैयौँ नेपालीले पनि ज्यान गुमाउनु परेको छ । त्यसमा न नेपालीको कुनै साइनो छ न कुनै सम्बन्ध । मात्रै रोजगारीका सिलसिलामा काम गर्ने क्रममा उनीहरूले ज्यान गुमाउनु परेको छ । त्यसअघि देखि नै कैयौँ वर्षदेखि मध्यपूर्वका देशहरू आफैँमा शान्त छैनन्, कतै आतङ्कवादको बिगबिगी छ भने कतै देश–देशबिचको लडाइँका कारण उसै पनि एक गोलार्ध वर्षौंदेखि तनावग्रस्त नै रहँदै आएको छ ।
हालै मात्र भारत र पाकिस्तानबिचको द्वन्द्व फेरि चरमोत्कर्षमा पुगेको छ । खास गरी भारत प्रशासित जम्मु–काश्मीरको पहलगाममा भएको एउटा घटनाले दुवै देश फेरि एक पटक युद्धकै तयारीमा जुटेको देखिन्छ । पहलगाममा एउटा आतङ्कवादी सङ्गठनले २६ जना निर्दोष पर्यटकको हत्या ग¥यो । त्यसमा एकजना नेपाली युवकको पनि हत्या भयो । दक्षिण एसियाकै कतिपय देश पनि पहिलादेखि नै अशान्त थिए ।
कुनै राष्ट्र आन्तरिक राजनीतिक कलह, कतै विद्रोह अनि कतै त्यस्ता आतङ्कवादी सङ्गठनले यी देशहरू आफैँमा हायलकायल भइरहेका बेला फेरि दक्षिण एसियाका ठुला राष्ट्र भारत र पाकिस्तान युद्धको सँघारमा पुगेको सङ्केत आइरहेका छन् । यसअघि पनि पटक पटक भारत–पाकिस्तान तथा भारत–चीनबिच युद्ध हुँदै आएको छ । यस्ता युद्धमा नेपाल कसैको पक्ष वा विपक्षमा नरहे पनि त्यसको असर भने नेपालसम्मै पनि आइपुग्छ । आखिर नेपाल र नेपाली नगाँसिएको विश्वको बिरलै ठाउँ होला । त्यसमा पनि भारतलगायत दक्षिण एसियाली राष्ट्रहरूमा त नेपालीका पूर्खासमेत छन् ।
म्यान्मारको आन्तरिक गृहयुद्धमा नेपालभाषी नै बढ्ता पीडित देखिएका छन् । केही दिनअघि बङ्गलादेशमा भएको राजनीतिक परिवर्तन होस् वा श्रीलङ्कामा भएको घटना । अफगानिस्तान पनि अझै शान्त भइसकेको छैन । भुटानी शरणार्थीको उल्झन् अझै पनि नेपालले नै झेल्दै आएको छ । यसरी प्रत्यक्ष नगाँसिए पनि नेपाल कतै न कतैबाट त्यहाँ जोडिएकै हुन्छ । यी सबका बाबजुद पनि नेपालले आतङ्कवादको समर्थन कहीँ, कतै र कहिल्यै गरेको छैन । हालै मात्र पहलगाममा भएको आतङ्कवादी आक्रमणको पनि नेपालले खुलेर विरोध गरेको छ । त्यस्ता हिंसात्मक आक्रमण तथा निर्दोष व्यक्तिको हत्या जस्ता घटनामा नेपालले जहिल्यै खुलेर बोल्नु पर्छ र सधैँ त्यसको विपक्षमा रहनु पर्छ । अहिंसा अनि असंगल्न नेपालका मूलखम्बे नीति पनि हुन् ।
सारा विश्व अनि छिमेक नै यसरी युद्धको सँघारमा पुगिरहँदा नेपाल भने टुलुटुलु रमिता हेरर बस्नु पनि हुन्न । कतैतिर संलग्न वा कसैको पक्ष विपक्षमा नलागेर पनि नेपालले विश्व अनि क्षेत्रीय शान्तिका निम्ति अगुवाइ गर्न सक्छ । क्षेत्रीय शान्ति, सद्भाव, सहकार्य र आपसी योगदानका लागि दक्षिण एसियाली राष्ट्रहरू मिलेर बनाएको सार्क अझै पनि जीवित छ । त्यसलाई सक्रिय बनाउन नेपालले पहल गर्न सक्छ र पहल गर्नु पनि पर्छ । उसै पनि सार्कको सचिवालय नेपालमै छ । त्यस हिसाबले पनि नेपालले कम्तीमा यो क्षेत्रीय शान्ति कायम गर्नका लागि अगुवाइ गरेर योगदान गर्न सक्छ । त्यसका लागि कसैको पक्ष वा विपक्षमा रहनु पर्दैन । कसैलाई कुनै युद्धमा साथ दिनु पनि पर्दैन । मात्रै पवित्र मनले, शान्तिको पवित्र उद्देश्य राखेर युद्धको सँघारमा पुगेका र द्वन्द्वको चपेटामा परेका देशहबिच आपसी मेलमिलापको नीति लिएर नेपाल अघि बढे मात्रै पुग्छ । त्यसका लागि बलियो, दृढ अनि सर्वस्वीकार्य राजनीतिक नेतृत्व चाहिन्छ ।
नेपालले सबैको विश्वास जित्ने खालको राजनीतिक वातावरण बनाउन सक्छ । यो भनेको नेपालले आफूलाई विश्व शान्तिका पक्षमा उभ्याउने एउटा अवसर पनि हो । आफ्नै मौलिकतामा पनि आपसी द्वन्द्व समाप्त गरेर शान्तिको बाटोमा हिँड्न अनि हिँडाउन सकिन्छ भनेर विश्वमाझ चिनिने यो नेपालका लागि एउटा महìवपूर्ण घडी पनि हो । त्यसो त टुङ्गोमा पुग्न नसके पनि दसबर्से सशस्त्र द्वन्द्व अन्त्य गरेर मुलुकलाई शान्तिमा रूपान्तरण गर्ने नेपालको शान्ति प्रक्रियालाई विश्वले प्रशंसा गरेको थियो ।