काठमाडौँ, बैशाख १८ गते । प्रदेश युवा परिषद बाग्मतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ । २०८० देखि लगातार प्रदेश युवा सम्मेलन आयोजना गर्दै आएको परिषदले लगातार तेस्रो श्रृङ्खलाका रुपमा युवा सम्मेलनको तयारी गरिरहेको छ । प्रदेशभरबाट गुुगल फर्म भरेर छानीएका तीनसय ५० जना युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुनेछन् । परिषदले आफ्नो वेभसाईट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट लाखौं युवाहरुलाई कार्यक्रममा सहभागी गराउने तयारी गरिरहेको छ । यसै सन्दर्भमा रहेर प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईसँग गरिएको संक्षिप्त कुराकानी :
बाग्मती प्रदेश युवा परिषदले युवा सम्मेलनको अबधारणा कसरी अघि बढायो ?
युवाहरु अध्ययन, रोजगारी र सीपका लागि संसारभर अवसरको खोजीमा लाग्न थालेका छन् । यसरी देशविदेशमा अवसरको खोजी गर्दै हिडीरहेका युवाहरुलाई सरकारसंग अन्तरसंवादमा जोड्नुपर्छ भन्ने मुख्य ध्येयका साथ बाग्मती प्रदेश युवा परिषदले युुवा सम्मेलनको आयोजना गर्ने अबधारणा अघि सारेको हो । युवाहरुलाई सीप सिकाई दक्ष जनशक्तीका रुपमा स्थापित गर्दा उनीहरुलाई स्वदेश वा विदेशमा अवसरको खोजीमा सहज हुने कुरा पहिला बागमती प्रदेश सरकारलाई बुुझाउन सकिन्छ की भन्ने लागेर हामीले सरकार र युवालाई एउटै थलोमा अन्तर संवाद गराउने अबधारणा अघि बढाएका हौँ ।
प्रदेश युवा सम्मेलन तेस्रो श्रृङ्खलासम्म आइपुग्दा युवा र प्रदेश सरकारमा यसको प्रभाव कस्तो परेको छ ?
राजनितीप्रति वितृष्णा राख्ने युवाहरु पनि सरकारले बनाउने निती नियमले आफ्ना अवसरहरु सृजना हुन सक्दछ भन्ने कुरामा कन्भीन्स भएका छन् । सरकार युवाका क्षेत्रमा के कस्ता योजना बनाउने अलमलमा देखिन्थ्यो । युवाहरु पनि सरकारलाई आफ्ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए । हामीले यी दुुबै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौँ । युवा सम्मेलनले बागमती प्रदेश सरकारलाई युवा निती र बजेटमै युवा सीप बर्ष घोषणा गराउने वातावरण सृजना गरेको छ । सरकारप्रति युवाको सरकारात्मक धारणा बन्दै गएको छ । तेस्रो श्रृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनले बागमती प्रदेशका १०,५०० भन्दा बढी युवाहरूलाई दक्ष जनशक्तीका रुपमा स्थापित गरेको तथ्यांक हामीसंग छ । विशेष गरी ग्रामीण क्षेत्रका युवाले पहिलोपटक सरकारी निकायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका छन्, जसले उनीहरूमा सशक्तिकरणको अनुभूति गराएको छ ।
बागमती प्रदेश सरकार र स्थानीय सरकारसँग युवालाई यो कार्यक्रमले कसरी जोडेको छ ?
प्रदेश युवा सम्मेलन नीति संवाद प्लेटफर्मको रूपमा स्थापित भएको छ । यो सम्मेलनले युवा र सरकारबीचको दूरी घटाई एकअर्कालाई सामिप्यमा ल्याउने काम गरेको छ । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकूद मन्त्री, स्थानीय सरकार प्रमुखहरू र अन्य उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ । युवाले नीतिगत विषयमा सुुझाब दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नितीमा युवाहरुको सुुझाबका आधारमा युवा परिषद्का सिफारिसमा जिल्ला युवा नीति तथा कार्यक्रमहरू परिमार्जन भएका छन् ।
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई कत्तिको प्राथमिकतामा राखेको छ ?
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजनमार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८१/८२ मा सम्मेलनको आयोजनाका लागि बजेट छुट्याइएको छ । साथै, युवा खेलकूद मन्त्रालय अन्तर्गतको युवा कार्यक्रमको मूल हिस्साको रूपमा यो सम्मेलनलाई औपचारिक रूपमा स्थान दिइएको छ । हाम्रो पहलकदमीमा प्रदेश सरकारले “युवा सीप बर्ष २०८१” घोषण गरेर युवालाई सिप बिकास कार्यक्रम संचालन गरिरहेको छ । यही सम्मेलनको घोषणापत्रलाई आधार मानेर युवा लक्षित कार्यक्रम अघि बढाएको छ ।
बाग्मती प्रदेश युवा सम्मेलन आयोजना गर्न सरकारलाई कसरी सहमत गराउनुुभयो ?
प्रदेश युवा परिषदले युवा सम्मेलनको आवश्यकता पुष्टि गर्न २०७८ सालमा युवा आवश्यकता मूल्याङ्कन सर्वेक्षण सञ्चालन गर्यो, जसमा ७२% युवाले नीति संवादका प्लेटफर्मको अभाव भएको उल्लेख गरेका थिए । यो डेटा र नागरिक समाजसँगको छलफलका आधारमा सम्मेलन प्रस्ताव तयार पारियो र सामाजिक विकास मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्तुति गरियो । युवाको सशक्तिकरणमा प्रत्यक्ष प्रभाव पर्ने नीति कार्यक्रम भएकाले सरकार सहमत भयो ।
सीप सिक्न र उद्यमशील बन्न चाहने युवालाई यो सम्मेलनले के के कुरा दिन सक्छ ?
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायतका विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको हुन्छ । सहभागी युवा यसबाट आफ्ना व्यवसायिक सोचलाई परिष्कृत गर्न सक्ने र सरकारी उद्यम सहयोग कार्यक्रम (जस्तै युवा स्वरोजगार कार्यक्रम) मा पहुँच बनाउने उपायहरूबारे जानकारी पाउँछन् । तेस्रो श्रृङ्खलामा मात्र ४०% सहभागीले कार्यक्रममा भाग लिएपछि उद्यम सुरु गर्ने प्रेरणा पाएको तथ्य परिषद्को मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । युवालाई सरकारसँग जोड्ने, उनीहरूको आवाज नीति निर्माणमा पुर्याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा कार्यक्रम बन्न थालेको छ ।