• १८ वैशाख २०८२, बिहिबार

अटिजम केयर सेन्टर स्थापना गर्न अभिभावकको माग

blog

कावासोती नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका अभिभावकहरू । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी
मध्यविन्दु , वैशाख १८ गते ।
कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्न  अभिभावकहरूले माग गरेका छन् । कावासोती नगरपालिकाको आयोजनामा भएको अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकका लागि अपाङ्गता अधिकारसम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएका अभिभावकहरूले कावासोतीमा अटिजम केयर सेन्टरको एकदमै खाँचो रहेको समेत औँल्याएका छन् ।

कावासोती तीन निवासी अनु श्रेष्ठले कार्यक्रममा बोल्दै भन्नुभयो, ‘‘यहाँ एउटा अटिजम केयर सेन्टरको निकै खाँचो छ । अहिले मेरा छोरा ६ वर्षको भयो । मैले काठमाडौँमा उसको थेरापी गराइराखेको छु । आफ्नै ठाउँमा सेन्टर नहुँदा बच्चा बोकेर आउजाउ गर्न पनि  कत्ति गाह्रो हुन्छ, खर्च पनि धान्नै गाह्रो भएको छ ।’’

कावासोती १६ का विष्णु परियारले भन्नुभयो, ‘‘अटिजम भएका बच्चाहरूलाई घरमा त सम्हाल्न गाह्रो हुन्छ । झनै बोकेर  अन्यत्र लैजानुपर्दा निकै समस्या आइपर्छ । अरूजस्तो नर्मल हुँदैनन् । जतासुकै हिँड्दिन्छन् । दिसापिसाब गराउन  पनि समस्या हुन्छ । त्यसैले आफ्नै ठाउँमा केयर सेन्टर भए हामीजस्ता अभिभावकलाई धेरै राहत हुने थियो ।’’

कार्यपालिका सदस्य समेत रहनुभएका गीता विकको ६ वर्षीय छोरामा पनि अटिजम छ । उहाँले चितवनको केयर सेन्टरमा छोरालाई राख्नुभएको छ । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘‘मैले मेरो छोरालाई केयर सेन्टरमा राखेपछि धेरै सुधार भएको छ । नाम भन्न नजान्ने बच्चाले नाम भन्न सिकेको छ । अटिजम भएका बच्चालाई घरभित्रै राख्नु भन्दा केयर सेन्टरमा राख्दा केही कुरा सिक्ने, आनीबानीमा पनि सुधार आउने हुने रहेछ त्यसैले यहाँ केयर सेन्टरको आवश्यकता छ । मैले यो कुरा महसुस गरेर बैठकमा समेत राखेको हो ।’’

कार्यक्रम सहभागी भएका ५० जना अभिभावकहरूले एकै स्वरमा कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्नुपर्ने माग गर्दै नगर प्रमुख विष्णुप्रसाद भुसाल र उपप्रमुख फूल कुमारी थनेतलाई ध्यानाकर्षण समेत गराउनुभयो ।

अटिजम र बौद्धिक अपाङ्गता भएकाहरूलाई लक्षित गर्दै पालिकाले पहिलो पटक यसरी कार्यक्रम आयोजना गरेको नगर उपप्रमुख फूलकुमारी थनेतले  बताउनुभयो । नगर उपप्रमुख थनेतले अटिजम र बौद्धिक अपाङ्गता भएकाहरूप्रति आफू  संवेदनशील रहेको भन्दै केयर सेन्टर बनाउनेमा कुरामा  आफू सकारात्मक रहेको समेत बताउनुभयो ।

कावासोती नगरपालिका बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अधिकृत सुभद्रा शर्माले कावासोतीमा ६० जनाको सङ्ख्यामा अटिजम र बौद्धिक अपाङ्गता भएकाहरू रहेको जानकारी दिनुभयो । प्रत्येक वर्ष जस्तो यो समस्या वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । समयमै केयर सेन्टर स्थापना गर्न सके त्यस्ता बालबालिकाहरूलाई केही न केही टेवा पुग्ने मनसायले यसरी कार्यक्रम राखेको भन्दै उहाँले अभिभावक तथा सरोकारवालाहरू समेतलाई बोलाएर छलफल गरेको  बताउनुभयो ।

कार्यक्रममा अटिजम केयर चितवन सोसाइटीका अध्यक्ष प्रमिला न्यौपानेले सहजीकरण गर्दै केयर सेन्टर स्थापनाका लागि सरकार मात्रैको मुख ताक्न नहुने अभिभावकहरू सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो । उहाँले अटिजमका बारेमा जानकारी गराउँदै यो कुनै रोग नभएको बताउनुभयो । १८ महिनादेखि ३ वर्षभित्र बच्चामा अटिजम छ भन्ने कुरा थाहा पाउन सकिने बताउनुभयो । अटिजम भएका बच्चाहरू अन्य नर्मल बच्चाहरू भन्दा फरक व्यवहार गर्ने हुँदा उनीहरूलाई स्नेहको खाँचो पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेल, शिक्षा शाखा अधिकृत राजन पाण्डे, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यसहित अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरू, सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।