• १८ वैशाख २०८२, बिहिबार

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक

blog

काठमाडौँ,  वैशाख १८ गते ।  बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ । 

वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक डा स्वामी केशवानन्द गिरीले बताउनुभयो । 

पुस्तकको पाठ एकमा कुमारीवन्दना, जानकीवन्दना, पृथ्वीवन्दना, बुद्धवन्दना, गोवन्दना, गण्डकीवन्दना, किरातेश्वरवन्दना, भैरववन्दना, प्रकृतिवन्दना, वैदिकस्तुति, हिमालयवन्दनालगायत विषयवस्तु राखी बालबालिकालाई आदरसम्मान भावको विकास गर्ने उद्देश्य राखिएको छ । यसैगरी पाठ दुईमा स्वच्छता, शास्त्रको मर्यादा, मित्रता, बुद्धको जीवनी, गाई, कालीगण्डकी, देवालयको प्रातःकालीन भ्रमण, नित्य विद्याभ्यास, बगैँचाको हेरचाह, शयननियम, षट्कर्मलगायत विषयसम्बनधी  जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पुस्तकको पाठ तीनमा बालिकासम्मान, बोट वनस्पति, क्षमाशीलता, गाली आफैँतिर, गाईको सेवा, नदी स्नान, मुन्धुमका आचारपक्ष, सरसफाइ, सम्पदाको संरक्षण, आफ्नो धर्मको पालना, कर्मनिष्ठालगायत विषय राखिएका छन् । पाठ चारमा गुन्युचोली, तुलसीविवाह, संसार साझा घर, पञ्चशील, कामधेनु, नदीमा तोरण तार्ने, किराँत संस्कृतिमा शिवपार्वती, कुकुरपूजा, रक्षाबन्धन, असारको पन्ध्र, मकरसङ्क्रान्तिजस्ता उपयोगी एवं जानकारीमूलक सामग्री समावेश गरिएको छ । 

पाठ पाँचमा पौराणिक विषयसँग सम्बन्धित ११ वटा कथा राखिएका लेखकले जानकारी दिनुभयो । कुमारीको उत्पत्ति, जानकीको उत्पत्ति, पृथ्वीको जन्म, धैर्यधन, अनुमति, यक्षसंवाद, पाशुपतास्त्र, भैरवको शक्ति, बालागुरु षडानन्द, जुठो पानी, मिल्दा साथीजस्ता विषय राखिएको छ । आवरणसहित एक सय २४ पृष्ठको पुस्तकले बालबालिकालाई अनुशासनमा हिँड्नसमेत प्रेरणा दिने विश्वास गरिएको स्वामी केशावनन्दले बताउनुभयो । 

पुस्तक विमोचन कार्यक्रममा स्वामी केशवानन्दले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले संस्कार शिक्षा भाग एकलाई पाठ्यक्रममा समावेश गरेको जानकारी दिनुभयो । संस्कार शिक्षाको तेस्रो भाग पनि अन्तिम चरणमा पुगेको सो अवसरमा उहाँले बताउनुभयो । 

कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका अध्यक्ष दीपक रिमालले प्रत्येक घर र विद्यालयमा संस्कार शिक्षाका पुस्तक पु¥याएर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । 

भाना फाउन्डेसनकी अध्यक्ष श्रीमती नानीबाबा रिसालले संस्कृतमा जति ज्ञान अन्यत्र नभएकाले संस्कार शिक्षा प्रकाशनका लागि फाउन्डेसनले सहयोग गरेको बताउनुभयो । फाउन्डेसनका कार्यकारी अतुल्य रिसालले पिता भाष्कर रिसाल र आमा नानीबाबाको नाममा खोलिएको संस्थाले आध्यात्मिक जागरणमा काम गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा संस्कार शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो । रासस