• १८ वैशाख २०८२, बिहिबार

श्रम सम्मानको आयाम

blog

आज विश्व श्रमिक दिवस । विश्वभर मनाइने श्रमिक दिवस नेपालमा पनि यताका दशकमा मनाउन थालिएको छ । श्रमबाटै संसारको विकास सम्भव भयो । शारीरिक वा मानसिक श्रमले सृजिएको आजको संसारमा श्रमको उच्च महत्व छ । श्रमकै सम्मान र व्यवस्थापनका निम्ति इतिहासमा लामो सङ्घर्ष भयो । सन् १८८६ मा अमेरिकाको सिकागोमा श्रमिकले अधिकारको आवाज सघन बनाए । त्यतिबेलासम्म श्रमिकले दिनरात काम गर्नुपर्ने दुरवस्था थियो । ज्यालाको मापदण्ड थिएन । विदाको व्यवस्था थिएन । श्रमिकको भलाइलाई बेवास्ता गरिन्थ्यो । त्यसै बेला सिकागोका श्रमिकले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गरी आन्दोलन गरे । यो श्रमिक आन्दोलन कठिन थियो । श्रमिकमाथि दमन भयो । बम विस्फोट पनि भयो । दमनका क्रममा सात जना श्रमिकको ज्यान गयो तर श्रमिकका आन्दोलन रोकिएन, झनै फैलियो । श्रमिक सङ्गठित हुन थाले । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठक बस्यो । सोही बैठकमा विश्व श्रमिक दिवस मनाउने निष्कर्ष निस्कियो । फलस्वरूप सन् १८९० देखि हरेक वर्ष अङ्ग्र्रेजी महिनाको मे १ मा विश्वभर श्रमिक दिवस मनाउन थालियो । विश्वका श्रमजीवीका निम्ति यो दिवस एउटा उत्सव नै हो । श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्ने यो दिनले ठुलो सन्देश दिने गरेको छ ।

नेपालका प्रत्येक राजनीतिक परिवर्तनमा श्रमजीवी वर्गको ठुलो योगदान छ । विराटनगरमा सुरु भएको श्रमिक आन्दोलनले परिवर्तनको आधार सिर्जना गरेको पाइन्छ । राणा शासनविरुद्धको सफल क्रान्तिसँगै नेपालमा श्रमिक दिवस मनाउन थालिए पनि त्यसले व्यापकता पाएको थिएन । छयालिस सालको परिवर्तनले नेपालमा पुनः प्रजातन्त्रको स्थापन भएसँगै श्रमिक दिवस फराकिलो हुँदै गयो । सरकारले यो दिनमा सार्वजनिक बिदा दिन थाल्यो । नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायतका श्रमिक सङ्गठनले यो दिनलाई औपचारिक र भव्य रूपमा मनाउने थाले । दिवस औपचारिक र भव्य तवरले मनाउन थालिए पनि नेपालमा अझै पनि श्रमको सही तवरले सम्मान र व्यवस्थापन हुन सकेको छैन तर सामाजिक सुरक्षा कोष जस्ता श्रमजीवीको हितमा संस्थागत प्रयास अगाडि बढेको छ । देशभित्र श्रमको सम्मान र उचित बजार हुन नसक्दा दैनिक दुई/तीन हजार नेपाली वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीप्रतिको आकर्षण तथा बाध्यताले स्वदेशी उत्पादनमा प्रतिकूल असर पर्न थालेको छ । कृषि क्षेत्र बिस्तारै उजाड बन्दै छ । गाउँबेँसीका उर्वर फाँट र खेत बाँझिन थालेका छन् । कुनै बेला धानचामल निर्यात गर्ने देश अहिले आयाततर्फ अग्रसर छ । चामललगायत खाद्यान्न, फलफूल, तरकारी, प्रशोधित खानेकुरा आदिले आयातको शृङ्खला निरन्तर उकालोमा छ । श्रम र उत्पादनका साधनको अव्यवस्थापनले नै यो विडम्बनायुक्त यो अवस्था सिर्जना भएको हो ।

कुनै पनि देशको विकास श्रमको सम्मान तथा उचित व्यवस्थापनबाट मात्रै सम्भव हुन्छ । अन्य उत्पादनका साधन भूमि, पुँजी, प्रविधिलाई श्रम सिञ्चनपछि मात्र त्यसले वस्तु वा सेवाको उत्पादन गर्छ । विकसित देश एकै दिनमा त्यहाँ पुगेका होइनन् । उत्पादनका साधनलाई श्रमले सिँगार्न ती मुलुकले लामो र कठिन यात्रा गरेका छन् । अर्थशास्त्रले श्रमलाई बचत गर्न नसकिने उत्पादनका साधनको कोटीमा राखेको छ । हुन पनि श्रम बचत गरेर राख्न सकिँदैन । दक्षतापूर्ण तवरले श्रमको सही उपयोग हुन सक्यो भने त्यसले उत्पादनलाई सहयोग गर्छ । स्वयम् श्रमिकको आयमा सकारात्मक परिवर्तन हुँदै जान्छ । ज्ञान, सिप, दक्षता र तालिमले श्रमको गुणात्मक क्षमता बढ्छ । वैदेशिक रोजगारीमा गएका अधिकांश श्रमिक कम दक्ष भएको गुनासो आउने गरेको छ । दक्ष श्रमिकले मात्र राम्रो अवसर पाउन सक्छन् । देशभित्रै पनि शिक्षा र तालिमको सम्बन्ध श्रम बजारसँग प्रभावकारी रूपमा जोड्न सकिएको छैन । यसले एकातिर देशभित्र बाह्य श्रमिक तथा कामदार आएर आयआर्जन गरिरहेका छन् । पाँच लाखभन्दा बढी कामदार नेपालमा विदेशी भएको अनुमान गरिन्छ । नेपाली भने विदेश जानु परेको छ । कम ज्याला र न्यून उत्पादकत्वका कारण पनि देशभित्र श्रमको बजार साँघुरिएको छ । श्रम सम्मान तथा व्यवस्थापनको फराकिलो आयाम नै अगाडि बढ्ने आधार हो । सरकारका नीति र योजना त्यसतर्फ अग्रसर हुनु वाञ्छनीय छ ।