• १८ वैशाख २०८२, बिहिबार

पत्रकारितामा नेपाल र अस्ट्रेलिया

blog

सूचना प्रविधिको निरन्तर र तीव्र विकाससँगै सञ्चार क्षेत्रमा आएको परिवर्तनलाई नियाल्दा, आजको युगमा हरेक व्यक्ति आफूमा एक सूचना प्रसारक बनेको देखिन्छ । सामाजिक सञ्जालमार्फत प्रवाह हुने सूचनाको गति यति तीव्र छ कि परम्परागत पत्रकारिताले त्यसको प्रतिस्पर्धा गर्न हम्मेहम्मे पर्छ । आज एउटा ‘क्लिक’ ले संसारका कुनाकाप्चासम्मको जानकारी पत्ता लगाउन सकिने अवस्था आएको छ । प्रविधिको यस्तो उत्कर्षमा पुगेको समयमै पनि पत्रकारिताको आवश्यकता र महत्व घटेको छैन । कारण, तथ्यमा आधारित, निष्पक्ष र विश्वसनीय सूचना सम्प्रेषणको दायित्व अझै पनि पत्रकारिताकै काँधमा रहेको छ ।

राष्ट्रको चौथो अङ्गका रूपमा चिनिएको ‘पत्रकारिता’ सञ्चारमाध्यमलाई प्रायः प्रजातन्त्रको चौथो स्तम्भका रूपमा मानिन्छ, जसले जनमत निर्माण, विकासको गति प्रवर्धन, तथा सत्तालाई जवाफदेही बनाउन महìवपूर्ण भूमिका निर्वाह गर्छ । प्रगतिका लागि सञ्चार माध्यम एक शक्तिशाली साधन भएकाले यसको निष्पक्षता कायम रहनु र जनसमुदायलाई जानकारी दिनु तथा शिक्षित गराउनु अनिवार्य हुन्छ । प्रजातन्त्र सफल हुनका लागि मात्र संस्थागत नियन्त्रण र सन्तुलन पर्याप्त हुँदैन; जनताको सक्रिय निगरानी र सञ्चार माध्यमको स्वतन्त्र अनुगमन पनि अत्यावश्यक हुन्छ । यसका लागि प्रेस स्वतन्त्रता, सङ्घ संस्थाहरूको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित हुनु अपरिहार्य छ ।

पत्रकारिता कुनै पनि देशको लोकतान्त्रिक अभ्यासको मेरुदण्ड हो । पत्रकार न केवल सूचनाको आदानप्रदान गर्ने माध्यम हुन्, उनीहरू समाजको चेतना, आलोचक र परिवर्तनका वाहक पनि हुन् । विश्वका विभिन्न देशमा पत्रकारिताको स्वरूप, स्वतन्त्रता र स्तर फरक हुन्छ । यस लेखमा अस्ट्रेलिया र नेपालको पत्रकारिता क्षेत्रको विस्तृत तुलना गरिएको छ, ताकि दुवै मुलुकका सञ्चार अभ्यासहरूलाई बुझ्न मद्दत मिलोस् ।

ऐतिहासिक पृष्ठभूमि

अस्ट्रेलियामा पत्रकारिता १९ औँ शताब्दीको सुरुवातदेखि नै व्यवस्थित रूपमा विकास भएको पाइन्छ । प्रारम्भिक रूपमा उपनिवेशकालीन प्रशासनिक सूचना प्रसारणका लागि सञ्चार सुरु भए पनि बिस्तारै स्वतन्त्र प्रेसको अभ्यास मौलायो । अहिले अस्ट्रेलिया विश्वका सबैभन्दा स्वतन्त्र र व्यावसायिक पत्रकारिता अभ्यास गर्ने देशमध्ये एक मानिन्छ । नेपालमा भने पत्रकारिताको औपचारिक सुरुवात गोरखापत्र (१९०१) बाट भएको हो, जुन तत्कालीन राणाशासनको नियन्त्रणमा थियो । लामो समयसम्म सरकारी नियन्त्रणमा रहेको सञ्चार माध्यमले जनताको आवाजभन्दा राज्यको नीति प्रचार गर्ने काम ग¥यो । बहुदलीय प्रणाली स्थापनापछि मात्रै नेपालमा पत्रकारिताको स्वतन्त्रता विस्तार हुन थाल्यो ।

प्रेस स्वतन्त्रता

अस्ट्रेलियामा प्रेस स्वतन्त्रता संविधानमा प्रत्यक्ष उल्लेख नभए पनि कानुनी व्यवस्था, स्वतन्त्र अदालत र सार्वजनिक समर्थनले प्रेसलाई उच्च स्वतन्त्रता दिएको छ । यद्यपि पछिल्ला वर्षहरूमा राष्ट्रिय सुरक्षासम्बन्धी केही कानुनले गोप्य स्रोत उजागर गर्ने पत्रकारलाई केही चुनौती थपेका छन् । उदाहरणका लागि, २०१९ मा अस्ट्रेलियन फेडरल पुलिसले एबिसी न्युज र पत्रकार अन्निका स्मिथ्रस्टको घरमा छापा मारेको घटना प्रेस स्वतन्त्रतामाथिको दबाबको प्रतीक मानिन्छ । 

नेपालमा संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ (नेपालको संविधान २०७२, धारा १७ र १९) । व्यवहारमा पत्रकारले अझै पनि राजनीतिक दबाब, धम्की, तथा दण्डहीनताको समस्या भोग्नु परेको छ । उदाहरणका लागि २०२० मा केही अनलाइन पत्रकारलाई राजनीतिक विवादास्पद रिपोर्टिङ गरेको आरोपमा पक्राउ गरिएको थियो ।

सञ्चार माध्यम र प्रविधिको प्रयोग

अस्ट्रेलियामा प्रिन्ट मिडिया, रेडियो, टेलिभिजन र अनलाइन मिडिया सबै अत्याधुनिक प्रविधिबाट सञ्चालित छन् । प्रमुख समाचार संस्थाहरूमा एबिसी (अस्ट्रेलियन बोर्डकास्टिङ कर्पोरेसन, एसबिएस इस्पेसल बोर्डकास्टिङ सर्भिस, दी सिड्नी मर्निङ हेराल्ड र दी अस्ट्रिेलियन न्युज आदि पर्छन् । डिजिटल मिडिया प्लेटफर्मको प्रयोग व्यापक छ, जहाँ आम नागरिकले पनि सजिलै मोबाइल वा इन्टरनेटमार्फत समाचार पहुँच गर्न सक्छन् ।

नेपालमा सञ्चार माध्यमको क्षेत्रमा पछिल्ला दुई दशकमा उल्लेखनीय क्रान्ति आएको छ । अनलाइन न्युज पोर्टलहरू जस्तै, अनलाइन खबर, सेतोपाटी, कान्तिपुर अनलाइन आदि लोकप्रिय छन् । रेडियो पत्रकारिता ग्रामीण क्षेत्रमा अझै प्रभावकारी माध्यम बनेको छ । यद्यपि प्रविधि र पहुँचमा सहरी र ग्रामीण क्षेत्रबिच ठुलो खाडल छ, जहाँ ग्रामीण भेगमा अझै पनि रेडियो र सामुदायिक मिडियामा बढी निर्भरता छ ।

पत्रकारको सुरक्षा र चुनौती

अस्ट्रेलियामा पत्रकारको सुरक्षा अवस्था सामान्यतः सुरक्षित मानिन्छ । तर नयाँ सुरक्षा कानुनले अनुसन्धानात्मक पत्रकारितामा चासो र विवाद उठाएका छन् । पत्रकार सङ्घहरू र नागरिक समाजले प्रेस स्वतन्त्रता र गोपनीय स्रोतको सुरक्षाका लागि निरन्तर दबाब सिर्जना गरिरहेका छन् । नेपालमा पत्रकारको सुरक्षामा चुनौती अझै पनि ठुलो छ । दुर्गम क्षेत्रका पत्रकारलाई धम्की, आक्रमण र राजनीतिक दबाब भोग्नु पर्ने अवस्था सामान्य छ । उदाहरणका लागि, द्वन्द्वकाल (१९९६–२००६) मा थुप्रै पत्रकार अपहरण, कुटपिट र हत्या गरिएका थिए । शान्ति प्रक्रियापछि अवस्थाले केही सुधार ल्याए पनि दण्डहीनताको समस्या कायमै छ ।

व्यावसायिकता र आचारसंहिता

अस्ट्रेलियामा पत्रकारलाई उच्चस्तरीय व्यावसायिकता अपेक्षित छ । प्रेस काउन्सिलले पत्रकारका लागि आचारसंहिता निर्धारण गरेको छ, जसमा निष्पक्षता, सन्तुलन, स्रोतको गोप्यता र मानव अधिकारको सम्मान अनिवार्य रूपमा समेटिएको छ । कुनै पनि समाचार संस्थामा गुनासो परेमा स्वतन्त्र निकायले छानबिन गर्छ र आवश्यक निर्णय लिन्छ । नेपालमा पनि प्रेस काउन्सिल नेपालले आचारसंहिता तयार पारेको छ । यसको कार्यान्वयन सबै सञ्चार माध्यममा समान रूपमा भएको देखिँदैन । कतिपय अवस्थामा पत्रकारहरू व्यावसायिकभन्दा पनि व्यक्तिगत वा राजनीतिक स्वार्थमा आधारित रिपोर्टिङ गर्ने प्रवृत्ति देखिन्छ, जसले पत्रकारिताको विश्वसनीयता घटाउने खतरा निम्त्याउँछ ।

अस्ट्रेलिया र नेपालको पत्रकारिता दुवै देशको राजनीतिक, सामाजिक र ऐतिहासिक पृष्ठभूमिले निर्धारित गरेको देखिन्छ । अस्ट्रेलिया जस्तै विकसित राष्ट्रमा पत्रकारिताले उच्च स्वतन्त्रता, प्रविधि र व्यावसायिकताको नमुना प्रस्तुत गरेको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा पत्रकारिताले द्रुत गतिमा प्रगति गरिरहेको भए पनि अझै राजनीतिक हस्तक्षेप, सुरक्षाको अभाव र व्यावसायिकताको चुनौतीहरूबाट पूर्णतः मुक्त हुन सकेको छैन । नेपालमा नयाँ पुस्ताका पत्रकारको उदय, डिजिटल पत्रकारिताको विकास, र जनचेतनाको वृद्धिले निकट भविष्यमा नेपाली पत्रकारितालाई अझ सक्षम, सशक्त र स्वतन्त्र बनाउन सक्ने सम्भावना उज्यालो देखिन्छ । दुवै देशका पत्रकारिताबाट सिकेर, नेपाली पत्रकारिताले आफ्नो मौलिकता जोगाउँदै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अघि बढ्न आवश्यक छ ।

सुझाव 

नेपालमा पत्रकारिताको प्रभावकारिता, जवाफदेहिता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न आवश्यक रणनीति पत्रकारिता र लोकतन्त्रको आधारशिला हो, जसले नागरिक अधिकार, शासनको पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नेपालको सन्दर्भमा पत्रकारिताको विकास प्रशंसनीय भए पनि अझ प्रभावकारी, जवाफदेही र प्रतिस्पर्धात्मक बनाउने दिशामा धेरै कार्य आवश्यक छन् । प्रस्तुत आलेखमा सोही सम्बन्धमा विभिन्न आयामलाई समेटिएको छ ।

१. पेसागत आचारसंहिता र नीतिगत मजबुती : नेपालमा सञ्चार माध्यमको वृद्धि भए पनि पेसागत आचारसंहिताको पालनामा कमजोरी देखिन्छ । सत्यता, निष्पक्षता र उत्तरदायित्वका मूल्यलाई आत्मसात् गराउन प्रेस काउन्सिल नेपाललगायतका नियामक निकायले आचारसंहिता पालनामा निगरानी र कार्यान्वयनलाई कडाइका साथ अघि बढाउनु पर्छ । उल्लङ्घन गर्ने सञ्चार माध्यम र पत्रकारलाई उचित कारबाही गरिनु पर्छ ।

२. अनुसन्धानमूलक पत्रकारितामा प्रवर्धन : समसामयिक विषयमा गहिरो अनुसन्धान र विश्लेषण गरी तथ्यपरक र सुसूचित सामग्री प्रस्तुत गर्न अनुसन्धानमूलक पत्रकारिताको विकास अपरिहार्य छ । यसका लागि सञ्चारगृहहरूले स्रोतसाधन, तालिम तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नु पर्छ । साथै, अनुसन्धानमूलक पत्रकारलाई कानुनी संरक्षण र आवश्यक स्रोत प्रदान गरिनु पर्छ ।

३. पत्रकारको क्षमता विकास र प्रविधि समावेश : गुणस्तरीय पत्रकारिता प्रवर्धनका लागि पत्रकारलाई निरन्तर तालिम र अद्यावधिक ज्ञान आवश्यक हुन्छ । डिजिटल युगसँग मेल खाने गरी तथ्य–जाँच, डेटा विश्लेषण, मल्टिमिडिया प्रयोग र साइबर सुरक्षासम्बन्धी तालिम प्रदान गरिनु आवश्यक छ । सञ्चार माध्यमले प्रविधिको सशक्त प्रयोग गरेर सामग्रीको प्रभावकारिता बढाउनु पर्छ ।

४. आर्थिक स्वतन्त्रता र पारदर्शिता : नेपालमा सञ्चारगृह मुख्यतः विज्ञापनमा निर्भर छन्, जसले समाचारको निष्पक्षतामा आँच पु¥याउने खतरा बढाउँछ । त्यसैले, आर्थिक स्वतन्त्रता सुनिश्चित गर्दै विज्ञापन र समाचार सामग्रीबिच स्पष्ट भेद कायम गर्नु आवश्यक छ । सञ्चार संस्थाहरूको आम्दानीका विविध स्रोतहरू विकास गर्नुका साथै वित्तीय पारदर्शिता कायम राख्नु पर्छ ।

५. प्रेस स्वतन्त्रताको संरक्षण : पत्रकार र सञ्चार माध्यमलाई राजनीतिक हस्तक्षेप, दमन र धम्कीबाट जोगाउन कडा कानुनी संरक्षण आवश्यक छ । प्रेस स्वतन्त्रतालाई बाधा पु¥याउने कुनै पनि नीति वा कानुनलाई संशोधन गरी अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्नु पर्छ ।

६. ग्रामीण पत्रकारिताको प्रवर्धन : नेपालको ठुलो जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ । ग्रामीण पत्रकारिता अझै पनि कमजोर अवस्थामा रहेको देखिन्छ । ग्रामीण क्षेत्रका समस्या, आवाज र सफलताका कथा उजागर गर्न ग्रामीण पत्रकारितामा लगानी बढाइनु जरुरी छ । स्थानिय पत्रकारलाई तालिम र स्रोतसाधन उपलब्ध गराई उनीहरूको क्षमता अभिवृद्धि गर्नु पर्छ । यसले विकासको मूल प्रवाहमा गाउँलाई पनि समेट्न मद्दत गर्ने छ ।

७. महिला पत्रकारिताको सशक्तीकरण : महिला पत्रकारको सहभागिता पत्रकारितामा उल्लेखनीय भए पनि, निर्णय तहमा उनीहरूको उपस्थिति न्यून देखिन्छ । महिला पत्रकारलाई नेतृत्व तहमा पुग्न प्रोत्साहन गर्नुका साथै सुरक्षाका गम्भीर चुनौती समाधान गर्न विशेष रणनीति अपनाउनु जरुरी छ । लैङ्गिक समानताको सुनिश्चितताले पत्रकारितालाई अझ समावेशी र जनताको प्रतिनिधि बनाउने छ ।

८. स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीयता : पत्रकारितामा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्दै सनसनीपूर्ण वा अपुष्ट समाचारहरूको अभ्यास घटाउनु पर्छ । पत्रकारिताको मूल्याङ्ककन तथ्यपरकता, विश्लेषण क्षमता र सार्वजनिक चासोलाई सम्बोधन गर्ने आधारमा गरिनु पर्छ । पत्रकारितालाई व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्वमा आधारित बनाउनु पर्छ ।

निष्कर्ष

नेपालमा पत्रकारिताको प्रभावकारिता, जवाफदेहिता र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्न बहुआयामिक सुधार आवश्यक छ । पेसागत मूल्य, अनुसन्धानशीलता, प्रविधिको प्रभावकारी प्रयोग, आर्थिक स्वतन्त्रता, ग्रामीण र महिला पत्रकारिताको प्रवर्धन जस्ता पक्षलाई सँगै अगाडि बढाउन सके मात्र नेपाली पत्रकारिता सशक्त, विश्वसनीय र लोकतन्त्रको मजबुत आधार बन्न सक्छ ।

(लेखक तीन दशकदेखि अस्ट्रेलियामा कानुन व्यवसायमा संलग्न हुनुहुन्छ)