• १८ वैशाख २०८२, बिहिबार

आत्मसम्मान­­­­ खोजिरहेको आन्दोलन

blog

झन्डै एक दशकदेखि शिक्षक कुनै न कुनै रूपमा आन्दोलनमा छन् । सारमा हेर्दा आन्दोलनको मुख्य एजेन्डा विद्यालय शिक्षा विधेयकमार्फत नयाँ शिक्षा ऐन जारी गर्नु मात्रै रहेको आमबुझाइ छ । यसमा केही सत्यता पनि छ । शिक्षक आन्दोलनको एजेन्डा पेसागत हक अधिकार सुनिश्चितता, सेवा सुविधा एवं तलबका लागि मात्रै नभई वर्षौंदेखि खोजिरहेको आत्मसम्मान हो । विद्यमान कानुनी व्यवस्था, शिक्षकलाई गरिने व्यवहार तथा अन्य संरचनागत अवस्थालाई राम्रोसँग नियाल्ने हो भने यस्ता आन्दोलनको पुष्टि हुन्छ । 

शिक्षकले समयमा तलब नपाएको र स्थानीय सरकारले अनावश्यक दबाब र तनाव दिएको गुनासो छ । पेसागत विकास गर्ने अवसरको अभाव छ । सरुवा बढुवाका अप्ठ्यारा छन् । १७ थरीभन्दा बढी शिक्षक विद्यालयमा कर्यरत छन् । उनीहरू सबैका आआफ्ना समस्या एवं अप्ठ्यारा छन् । यस्ता थुप्रै समस्या हुँदाहुँदै पनि शिक्षक कर्ममा खटिरहेकै छन् । यति हुँदाहुँदै पनि शिक्षकलाई सशक्त बनाउने, आत्मबल बढाउनेसँगै उचित सम्मान र हैसियत प्राप्त भयो भने मात्र शिक्षाको गुणस्तर तथा शिक्षा प्रणाली पनि बलियो हुँदै जान्छ भन्ने सरोकारवालाले बुझ्न सकेनन् । 

शिक्षा प्रणाली मात्र धानेका छैनन्, शिक्षकले कक्षाकोठाको औपचारिक पढाइसँगसँगै बालबालिकाको कलिलो दिमागलाई हुर्काउने, बढाउने र भविष्यको मार्ग प्रशस्त गर्ने महत्वपूर्ण जिम्मेवारी पनि निर्वाह गरिरहेका छन् । सामाजिक मूल्यमान्यता र संस्कृतिको संरक्षण, राष्ट्र, राष्ट्रियता पनि सिकाउँदै मनोवैज्ञानिक रूपमा प्रभाव पार्न सक्ने शिक्षक आफैँ स्वस्थ मनोविज्ञानमा रहनु पर्छ । हाम्रा धेरै शिक्षकलाई राज्य तथा समाजबाट सम्मानजनक व्यवहार गरेको पाइँदैन । स्थायित्व, तलब, ग्रेड, बिदा, पेसागत विकासका समस्या र स्थानीय राजनीतिक हस्ताक्षेप तथा नीतिगत एवं व्यवस्थापनगत कमजोरीका कारण शिक्षकको आत्मसम्मानमा ठेस पुगिराखेको देखिन्छ ।

नियमित रूपमा बालबालिकाको वृद्धि र विकाससँग जोडिरहेको शिक्षण पेसा अरू पेसाको तुलनामा बढी संवेदनशील छ । आफ्ना आवाज नसुनिँदा हाम्रा शिक्षकमा आत्मसम्मानको डिग्री घटिरहेको छ । सम्मानित पेसा बनाउन सक्रिय हुँदै गर्दा धर्ना जुलुस र आन्दोलनको विकल्प हुँदो रहेनछ । शिक्षण पेसालाई अवमूल्यन गरिँदै जाँदा अहिले चलिरहेको सशक्त आन्दोलनको माध्यमबाट शिक्षकका धेरै पीडा पनि उजागर भइरहेका छन् । 

राज्यले नै समयसमयमा धेरै प्रकारका शिक्षकको नियुक्ति, नियुक्ति प्रक्रिया एवं शिक्षकका प्रकार अनुसारका सेवा, सुविधा र पेसागत विकासका अवसर जस्ता नीतिगत व्यवस्थाले पनि शिक्षक आन्दोलनलाई बल पु¥याइरहेको देखिन्छ । कतिपय अवस्थामा यस्ता नियुक्ति आवश्यकता र बाध्यता पनि थियो । यसमा अब पनि विवाद मात्रै गरेर हुन्न । आन्दोलनमा नै होमिनुपर्ने मुख्य कारण पेसागत सुरक्षा र सम्मानजनक व्यवहार नै हो । शिक्षक सरुवा, बढुवा एवं नियुक्ति प्रक्रिया आदिमा राजनीति र अस्थिर प्रक्रियागत समस्याले शिक्षकमा असुरक्षाको चिन्ता हुँदोरहेछ । अब ती शिक्षकले कसरी सम्मानित महसुस गर्ने ? कसरी शिक्षक आदर्श बन्ने ? अझ भनौ पढाइराखेका सिकाइराखेका विद्यार्थीका अगाडि कसरी आदर्श गुरु बन्ने ? 

परिवर्तित नेपाली समाजले हेर्ने दृष्टिकोण र शिक्षक आफ्नै कारणले पनि नेपाली समाजमा शिक्षण पेसाप्रति आदर, सम्मान र आकर्षण देखिएको छैन । हाम्रो संस्कारमा शिक्षकलाई पेसाको रूपमा गुरु नाम दिइन्छ । आमाबाबुपछिको सम्मानित पेसा सम्मानित व्यक्तिको रूपमा शिक्षक अथवा गुरुलाई हेरिन्छ । अहिले यो खालको सांस्कृतिक श्रद्धा घटेको देखिन्छ, व्यक्तिको जीवनमा समेत शिक्षकको महìव घट्दै गएको आभास हुन थालेको छ । अपमानित र भेदभाव महसुस गरिरहेको शिक्षकले आफ्नो कक्षाकोठामा कस्तो सिकाइ डेलिभर गर्लान् ? शिक्षण सिकाइ प्रक्रियामा कति धेरै सक्रिय होलान् ? कति मेहनत गर्लान् ? कस्तो संस्कार देलान् ? आफ्ना आवाज त सुनिँदैन भने कसरी विद्यार्थीको आवाज सुन्लान् ? धेरै विकसित देशले शिक्षण पेसालाई सम्मानित बनाउँदै लगेको पाइन्छ । 

शैक्षिक प्रणाली अब्बल भएका देश फिनल्यान्ड, जापान र दक्षिण कोरियामा एउटा कुरा समान छ, उक्त देशमा शिक्षकप्रति उच्च सम्मान गरिन्छ । पेसागत स्वतन्त्रता छ, उच्च तलबमान छ एवं समाजले समेत सम्मानित पेसाका रूपमा हेर्छ । हाम्रो देशले पनि शिक्षा प्रणालीमा सुधार गर्ने हो भने र सुधार गर्न चाहने हो भने माथिका उदाहरणबाट पनि सिक्नु पर्छ । शिक्षण पेसालाई उच्च सम्मानयुक्त पेसाका रूपमा विकास गरिनु पर्छ ।

यो शिक्षक आन्दोलनले उठाएका मुख्य मुद्दालाई आर्थिक पक्षबाट भारका रूपमा पनि हेरिँदै आएको देखिन्छ । शिक्षकमा गरिएको लगानी आर्थिक सहयोग होइन, यो शिक्षामा गरिरहेको लगानी हो, सम्मानजनक वातावरण सुनिश्चित गर्नका लागि हो भन्ने कोणबाट बुझ्नु जरुरी छ । पेसागत विकासका अवसर प्रदान गर्न हो र शिक्षकले निरन्तर समाजका लागि गरिरहेको महìवपूर्ण योगदानको कदरका लागि पनि शिक्षा र शिक्षकमा लगानी गर्न कन्जुस्याइ गर्नु हुँदैन । 

शिक्षकले गरेको आन्दोलन विद्यार्थी, अभिभावक, समाज र राज्यको विरुद्ध पनि होइन, यो त अव्यवस्थित शिक्षा प्रणालीको सुधारको आन्दोलन हो । विद्यार्थीलाई सशक्त बनाउन शिक्षक आफू पनि सशक्त हुनु प¥यो नि । विद्यार्थीलाई उत्प्रेरित बनाउन शिक्षक आफू पनि उत्प्रेरित हुनु पर्‍यो नि । त्यसैले त्यसैले यो आन्दोलन विशुद्ध शिक्षकको पेसागत आत्मसम्मानको आन्दोलन हो ।

अन्त्यमा राज्यसँग केही सम्झौता वा सहमतिमा यो आन्दोलनका रूप चाहिँ फेरिन सक्ने छ तर शिक्षकको आत्मसम्मानको आन्दोलन भने चलिरहने छ । जुन भद्र आन्दोलन हुने छ । यस्ता आन्दोलन शिक्षकले नेतृत्व गरे पनि समग्र मुलुकको शिक्षा प्रणालीको सुधारको लागि हुने छ । सरकारलाई सहयोग गर्ने र शिक्षाम लगानी बढाउन प्रेरणा दिने आन्दोलन हुने छ त्यो । आन्दोलन जुन दिन रोकिने छ त्यो दिन शिक्षण पेसा गौरवको पेसा हुने छ । आकर्षणको पेसा हुने छ । त्यतिबेला प्रतिभावान् एवं असल व्यक्ति अरू विकल्प पाउने छैनन् र शिक्षण पेसा नै रोज्ने छन् । किनकि यो पेसा सम्मानित पेसा हो, मर्यादित पेसा हो र कर्मशील पेसा हो । त्यसैले यो आन्दोलन शिक्षकको आर्थिक लाभका लागि गरिएको होइन उनीहरूको आत्मसम्मानका लागि गरिएको आन्दोलन हो ।