भ्याटिकन सिटीमा नयाँ पोप (इसाई धर्मगुरु) को खोजी सुरु भएको छ । पोप फ्रान्सिसको निधनसँगै नयाँ पोपको खोजी सुरु भएको हो । यही अप्रिल २१ मा पोप फ्रान्सिसको निधन भएपछि अबको नयाँ पोप चयन को हुने हो, कौतुहलको विषय बनेको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको अप्रिल २६ मा अन्त्येष्टि गरियो । अन्त्येष्टिमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताको सहभागिता थियो ।
पोप फ्रान्सिसको कार्यकालमा थुप्रै नयाँ र नौला कामको थालनी भयो । क्याथोलिक चर्चमा सुधार गर्दा उहाँ परम्परावादी माझ पनि लोकप्रिय बन्नुभयो । सादा जीवन उच्च विचारका धनी उहाँको इच्छा अनुसार सामान्य रूपले अन्त्येष्टि गरियो ।
दक्षिणी गोलार्धबाट चयन हुने उहाँ प्रथम पोप हुनुहुन्थ्यो । सन् ७४१ मा सिरियामा जन्मेका पोप ग्रेगोरी तृतीयको निधनपछि गैरयुरोपेली व्यक्ति पोप चयन भएका थिएनन् । उहाँ सेन्ट पिटरको आसन समाल्ने पहिलो जेजुइट पनि हुनुहुन्थ्यो । ऐतिहासिक रूपमा नै रोमले जेजुइटहरूलाई शङ्काको दृष्टिले हेर्ने गर्दथ्यो । फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौँ झन्डै छ सय वर्षको अवधिमा स्वेच्छाले पद त्याग गर्ने पहिलो पोप हुनुहुन्थ्यो । त्यसपछि एक दशकसम्म भ्याटिकन गार्डन्समा दुई जना पोपको उपस्थिति थियो ।
अर्जेन्टिनाको कार्डिनल बेर्गोग्लियोका रूपमा रहेका फ्रान्सिस सन् २०१३ मा पोप नियुक्त हुँदा नै ७० वर्षको हुनुहुन्थ्यो । थुप्रै क्याथोलिकहरूले नयाँ पोप पहिलेको दाँजोमा केही थोरै कम उमेरको हुने अपेक्षा गरेका थिए । उहाँले आफूलाई सम्झौताको उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभयो । यौनसँग सम्बन्धित विषयमा पुरातनवादी विचारका परम्परावादीले रूचाउने र सामाजिक न्यायका विषयमा उहाँको उदार धारणका कारण सुधारवादीलाई पनि आकर्षित गर्ने व्यक्तिका रूपमा चर्चित बन्नुभयो । उहाँको गैरपुरातनवादी पृष्ठभूमिका कारण उहाँलाई भ्याटिकनमा पुनः प्राण भर्न र त्यसको धार्मिक अभियानलाई पुनः दरिलो बनाउन सहयोग पुग्ने विश्वास गरिएको थियो । भ्याटिकनको प्रशासनयन्त्र भित्र फ्रान्सिसको सुधारका प्रयासले अवरोधको सामना गर्नु परेको थियो । सन् २०२२ मा निधन भएका उहाँका पूर्ववर्ती बेनेडिक्ट सोह्रौँ नै परम्परावादीमाझ लोकप्रिय बन्नुभएको थियो ।
आफ्नो चयन भएको समयदेखि नै फ्रान्सिसले आफूले भिन्न ढङ्गले काम गर्ने सङ्केत दिनुभएको थियो । उहाँले कार्डिनलहरूको स्वागत पनि अनौपचारिक रूपमा उभिएर गर्नुभयो । यसअघि पोपको आसनमा बसेर त्यसो गर्ने चलन थियो ।
उहाँ परम्परागत चमकदमकभन्दा भद्रता र विनम्रताका पक्षमा देखिनुभयो । उहाँले पोपले चढ्ने विशेष लिमोजिन गाडी त्याग गर्नुभयो भने अन्य कार्डिनलहरूले प्रयोग गर्ने बस नै प्रयोग गर्ने कुरामा जोड दिनुभयो । नयाँ पोप नियुक्त भएपछि उहाँले एक अर्ब २० करोड क्याथोलिक इसाई धर्मावलम्बीका निम्ति नैतिक अभियान चलाउनुभयो । उहाँको भनाइ थियो, “मलाई गरिब चर्च र गरिबहरूको हेरविचार गर्ने चर्चको चाहना छ ।”
पोप फ्रान्सिस जन्म सन् १९३६ को डिसेम्बर १७ मा अर्जेन्टिनाको ब्युनर्स एरिजमा भएको थियो । उहाँ आमाबाबुका पाँच सन्तानमध्ये सबैभन्दा जेठा हुनुहुन्थ्यो । उहाँका आमाबाबुले फासिवादबाट जोगिन पुख्र्यौली इटली छाडेर भाग्नु परेको थियो । उहाँलाई ट्याङ्गो नृत्य र फुटबल मन पथ्र्यो । बाल्यकालमा निमोनियाको गम्भीर बिरामी भए पनि उहाँ बाँच्न सफल हुनुभयो । उहाँको फोक्सोको एउटा भाग नै शल्यक्रिया गरेर हटाउनु परेको थियो । त्यसका कारण बाँकी जीवनभर नै उहाँले सङ्क्रमणको सामना गर्नु परेको थियो । वृद्धावस्थामा उहाँलाई दाहिने घुँडा दुखिरहने समस्या आइलाग्यो ।
उहाँ केमिस्टका रूपमा अध्ययन पूरा गर्नुभन्दा अगाडि एउटा नाइट क्लबमा बाउन्सर र भुइँ सफा गर्ने कामदारका रूपमा काम पनि गर्नुभएको थियो । एउटा स्थानीय कारखानामा उहाँले अर्जेन्टिनाको सैनिक तानाशाहीको विरोधमा अभियान चलाउने एस्थर बालेस्ट्रिनोसँग पनि निकट रहेर काम गर्नुभएको थियो । ती अभियानकर्मीलाई पव्रmाउ गरेर यातना दिइएको थियो तर उनको शरीर कहिल्यै फेला परेन । फ्रान्सिस पछि जेजुइट बन्नुभयो । उहाँले दर्शनशास्त्रको अध्ययन गर्नुभयो । साहित्य र मनोविज्ञान पढाउने काम पनि गरेको एक दशकपछि उहाँ पादरी बन्नुभयो । त्यसपछि उहाँको छिटो छिटो पदोन्नति भयो । उहाँ सन् १९७३ मा अर्जेन्टिनाको प्रोभिन्सिएल सुपेरिअर बन्नुभयो । केही मानिसलाई उहाँले आर्जेन्टिनामा क्रूर सैन्य शासनको नेतृत्व गर्ने जर्नेलहरूको पर्याप्त विरोध गर्नुभएन भन्ने लाग्थ्यो । उहाँमाथि अर्जेन्टिनामा चलेको युद्धका बेला दुई पादरी अपहरण परेको घटनामा संलग्नता भएको आरोप पनि लाग्यो । सन् १९७६ देखि १९८३ सम्म चलेको उक्त रक्तपात युद्धका बेला हजारौँ मानिसलाई यातना दिइएको वा बेपत्ता पारिएको वा हत्या गरिएको थियो ।
ती दुई पादरीले पनि यातना पाएका थिए । पछि उनीहरू अचेत बनाइएको र अर्धनग्न अवस्थामा जीवितै फेला परे । चर्चले उनीहरूलाई गरिब बस्तीमा काम गर्ने अनुमति दिएको थियो तर त्यो जानकारी सरकारी अधिकारीलाई नदिएको अभियोग फ्रान्सिसमाथि लाग्यो । त्यो अभियोगको अर्थ ती दुई जनालाई हत्यारासमक्ष परित्याग गरिएको थियो भन्ने लाग्थ्यो । उहाँले त्यस्तो अभियोग अस्वीकार गर्दै ती दुईको मुक्तिका लागि परोक्ष प्रयास गरेको दाबी गर्नुभयो । समकालीन जेज्युइटहरू फ्रान्सिसलाई ‘लिबरेसन थिओलजी’ प्रति रुचि नभएको ठान्थे । उनीहरूबिच मतभिन्नता थियो । इसाई अवधारणा र माक्र्सवादी समाजशास्त्रको उक्त संश्लेषणमार्फत अन्याय हटाउन सकिन्छ भन्ने उनीहरू ठान्थे । उहाँ पादरीहरूले प्रदान गर्ने सहयोगको पक्षमा हुनुहुन्थ्यो ।
सन् १९९२ मा फ्रान्सिस ब्युनर्स एरिजका सहायक बिसप हुँदै आर्चबिसप बन्नुभयो । सन् २००१ मा पोप जन पोल द्वितीयले उहाँलाई सन् २००१ मा कार्डिनल नियुक्त गर्नुभयो । फ्रान्सिसले सादा जीवन रुचाउने व्यक्तिको छवि बनाउनुभयो । उहाँ प्रायजसो हवाईयात्रा गर्दा इकोनमी क्लासको टिकट लिनुहुन्थ्यो । आफ्नो नयाँ ओहदा चिनाउने रातो र गुलाबी गाउनभन्दा उहाँ प्रायः पादरीहरूले लगाउने जस्तो कालो गाउन नै लगाउनुहुन्थ्यो । आफ्ना उपदेशहरूमा उहाँले सामाजिक समावेशिताको आह्वान गर्दै समाजमा अतिविपन्न सदस्यप्रति ध्यान दिन नसक्ने सरकारहरूको आलोचना गर्नुहुन्थ्यो ।
पोपका रूपमा उहाँले इस्टर्न अर्थोडक्स चर्चसँगको हजारौँ वर्ष पुरानो विवाद कम गर्न उल्लेख्य प्रयास गर्नुभयो फलस्वरूप सन् १०५४ को ‘ग्रेट स्किजम’ पछि पहिलो पटक ‘द प्याट्रिआर्क अफ कन्स्ट्यान्टिनोपल’ ले रोमका बिसपको कार्यकाल सुरु हुँदा आयोजना गरिएको कार्यक्रममा भाग लिनुभयो ।
उहाँले इसाई धर्म अन्तर्गतका एङ्गिलकन, लुथरन र मेथडिस्ट समूहहरूसँग पनि काम गर्नुभयो । उहाँले इजरायल र प्यालेस्टाइनका नेताहरूलाई आफूसँगै शान्तिका लागि आह्वान गर्न प्रोत्साहित गर्नुभयो । मुस्लिम लडाकु समूहहरूले विभिन्न ठाउँमा आक्रमण गरेका बेला उहाँले इस्लाम धर्मलाई हिंसासँग जोड्नु सही नभएको बताउनुभयो । “मैले इस्लामिक हिंसाका बारे बोल्ने हो भने मैले क्याथोलिक हिंसाबारे पनि बोल्नु पर्छ,” उहाँले भन्नुभयो । राजनीतिक रूपमा उहाँले अर्जेन्टिनाको सरकारले फकल्यान्डमा आफ्नो दाबी पेस गर्दा समर्थन गर्नुभयो ।
स्पेनिस भाषा बोल्ने ल्याटिन अमेरिकीका रूपमा उहाँले अमेरिकी सरकारले क्युबासँग ऐतिहासिक सहमति गर्न चाहेका बेला मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गर्नुभयो । कुनै युरोपेली पोपले यस्तो भूमिका निर्वाह गर्ने कुरा बिरलै कल्पना गर्न सकिन्छ । उहाँका दिने गरेका उपदेशमा फ्रान्सिस परम्परावादी भए झैँ लाग्थ्यो । युथनेजिआ, मृत्युदण्ड, गर्भपतन, जीवनको अधिकार, मानव अधिकार र पादरीको ब्रह्मचर्यबारे उहाँ पोप जन पोल द्वितीय जस्तै सम्झौता नगर्ने खालको हुनुहुन्थ्यो ।
उहाँले यौनिकता जे भए पनि चर्चले सबै मानिसलाई स्वागत गर्नुपर्ने बताउनु हुन्थ्यो यद्यपि उहाँले समलिङ्गी जोडीले धर्मसन्तान ग्रहण गर्दा बालबालिकाविरुद्ध विभेद हुने तर्क गर्नुभएको थियो । उहाँले समलिङ्गीबिचको सम्बन्धलाई विवाह भन्न अस्वीकार गर्नुभयो । उहाँका अनुसार त्यसो गर्नु ‘ईश्वरको योजना नष्ट गर्ने प्रयास’ हुन्थ्यो । सन् २०१३ मा पोप बनेलगत्तै उहाँ रोममा आयोजित गर्भपतनविरुद्धको ¥यालीमा सहभागी हुनुभयो । गर्भाधानदेखि नै गर्भस्थ मानिसको अधिकार सुरु हुने उहाँको तर्क थियो । साथै उहाँले महिलालाई पादरी बनाउने कार्य ओर्डिनेसनको पनि विरोध गर्नुभयो । उहाँले सुरुमा रोगबाट बचाउने सामग्री भनी गर्भनिरोधक साधनलाई अनुमति दिइनुपर्ने धारणा राखे पनि पछि पोल छैटौँको उपदेशको प्रशंसा गर्दै यस्ता साधनले महिलालाई पुरुष सन्तुष्टिको साधन बनाउन सक्ने चेतावनी दिनुभयो ।
सन् २०१५ मा फिलिपिन्समा आयोजित प्रार्थना सभामा बोल्दै उहाँले बालबालिकाको अनुपस्थिति आफैँमा समस्या नभए पनि बच्चा नपाउन जानाजान गरिने निर्णय समस्याकारी भएको टिप्पणी गर्नुभयो । पोपका रूपमा आफ्नो कार्यकालमा उहाँले दुई ठुला चुनौती बेहोर्नु प¥यो । केहीले उहाँलाई बाल यौनशोषणको मुद्दा तह लगाउन विफल भएको आरोप लगाए । कट्टरपन्थी आलोचकहरूले उहाँले आस्थालाई कमजोर बनाइरहेको आरोप लगाए ।
खास गरी वैवाहिक सम्बन्धविच्छेद गरेका र पुनर्विवाह गरेका क्याथलिकलाई धार्मिक सभामा सहभागी हुन अनुमति दिने उहाँको कदमका आधारमा उनीहरूले आलोचना गरेका हुन् । कट्टरपन्थीहरूले लामो समयसम्म चालेका अभियानमा बाल दुव्र्यवहारसम्बन्धी मुद्दालाई हतियार नै बनाए ।
कोभिड महामारीका बेला फ्रान्सिसले भाइरस फैलनबाट रोक्न सेन्ट पिटर्स स्क्वाएरमा उहाँको नियमित धार्मिक भेला बन्द गर्नुभयो । नैतिक नेतृत्वको एक महत्वपूर्ण उदाहरणस्वरूप उहाँले कोभिडविरुद्ध खोप लगाउने विश्वव्यापी दायित्व भएको बताउनुभयो ।
सन् २०२२ मा पोप बेनेडिक्टको ९५ वर्षको उमेरमा निधन भएपछि उहाँ एक शताब्दी यताकै आफ्ना पूर्ववर्तीलाई समाधिस्थ गर्ने पहिलो पोप पनि बन्नुभएको थियो । त्यस बेलासम्म उहाँ विभिन्न स्वास्थ्य समस्याका कारण पटक पटक अस्पतालमा भर्ना हुनुप¥यो । फ्रान्सिस विश्व शान्ति र अन्तर धार्मिक संवादलाई बढावा दिनका लागि आफ्ना प्रयास निरन्तर गर्न दृढ हुनुहुन्थ्यो । सन् २०२३ मा उहाँले दक्षिण सुडानको धार्मिक यात्रा गरेर त्यहाँका नेताहरूलाई द्वन्द्व अन्त्य गर्न अपिल गर्नुभयो । उहाँले युक्रेनमा उदेकलाग्दो र क्रूर युद्ध समाप्त गर्न आग्रह गर्नुभयो । त्यसको एक वर्षपछि उहाँले चार देश र दुई महादेशको महत्वाकाङ्क्षी यात्रा गर्नुभयो । त्यसबेला उहाँ इन्डोनेसिया, पपुवा न्यु गिनी र सिङ्गापुर पुग्नुभयो ।
उहाँले गैरयुरोपेली देशका १४० भन्दा बढी कार्डिनल नियुक्त गर्नुभयो । उहाँले आफ्ना उत्तराधिकारीलाई यस्तो चर्च सुम्पिनुभएको छ, जुन चर्च उहाँले विरासतमा पाएको भन्दा बढ्दा विश्वमुखी छ । उहाँमा संस्थामा परिवर्तन ल्याउन सक्छु भन्ने आशा थियो । आन्तरिक कलह समाप्त गरेर चर्चको ध्यान गरिबहरूमाथि ध्यान केन्द्रित गर्दै चर्चलाई सर्वसाधारणमाझ नै फिर्ता गर्नमा आफू केन्द्रित हुन्छु भन्ने उहाँले ठान्नुभएको थियो । पोपमा आफ्नो चयनलगत्तै उहाँले भन्नुभएको थियो, “हामीले आफ्नै दुनियाँमा उल्झिरहेको चर्चलाई आध्यात्मिक रोगबाट बचाउनु छ ।”
समग्रमा उहाँले केही अपवाद छाडेर राम्रा काम गरेर जानुभएको छ । अब बन्ने नयाँ पोपबाट उहाँका कामलाई कसरी मूल्याङ्कन हुने हो केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।