एक दिन कुनै जङ्गलमा बाघ र गधाको भेट हुन पुग्छ र भलाकुसारी गर्न थाल्छन् । बाघ र गधाका कुराकानीमा गधाले घाँसको रङ्ग निलो हुन्छ भन्छ । बाघले कस्तो बकम्फुसे कुरा गरेको, घाँस त हरियो हुन्छ भन्छ । एउटाको कुरा अर्कोले स्वीकार गर्दै गर्दैनन् । गधाले आफ्नो जिद्दी छाड्दैन । हरियो घाँसलाई हरियै हुन्छ भन्ने बाघले त यसै हार मान्ने कुरै भएन । करिब करिब आधा दिन जसो उनीहरूले यही विवादमै बिताउँछन् । हाम्रो सहमति हुन सकेन, त्यसोभए अब हामी दुवै जङ्गलको राजा सिंहकहाँ जाऔँ र त्यहीँबाट निक्र्योल निकालौँ भनेर गधाले प्रस्ताव राख्छ । गधाको प्रस्तावमा बाघसमेत राजी हुन्छ ।
सिंह भएको ठाउँमा गएपछि दुवैले स्वस्ति गर्छन्, सिंहले आउनुको कारण सोध्छ । गधाले हत्तपत्त आफूहरूका बिचमा भएको विवादका बारेमा बताउँदै त्यसका बारेमा निर्णय दिन अनुरोध गर्छ । सिंहले गधाले भने झैँ नै घाँसको रङ्ग निलो हुने निर्णय सुनाउँछ । आफूले जितेको उन्मादमा गधा दुई/चार पटक हिन्हिनाउँदै उफ्रन्छ पनि । बाघले सित्तैमा विवाद झिकेर आफ्नो समय खाइदिएको हुँदा बाघलाई दण्ड सुनाउन पनि गधाले अनुरोध गर्छ । गधाको मागलाई सम्बोधन गर्दै बाघले पाँच दिन कुनै सिकार गर्न नपाउने र आफ्नै आडमा बसेर उक्त दण्ड पालना गर्नुपर्ने आदेश सिंहले दिन्छ । त्यसपछि गधा खुसी हुँदै फर्कन्छ भने बाघ त्यहीँ बन्दी जस्तै भएर बस्न बाध्य हुन्छ ।
यद्यपि बाघलाई सिंहको निर्णय मन परिरहेको थिएन । सिंहको फुर्सदको बेलामा बाघले सोध्छ–होइन महाराज, घाँस हरियो हुन्छ भन्ने सबैलाई थाहा छ र पनि उल्टो निर्णय सुनाएर मलाई किन दण्ड दिनुभयो ? सिंहले भन्छ– हो, घाँस हरियै हुन्छ । यो कुरा लोकलाई थाहा छ । यस्तो कुरामा गधासँग विवाद गरेर तिमीले किन समय फाल्यौ ? तिमीले आझ्नो मात्रै होइन, मेरो पनि समयको बर्बाद गरिदियौ ? त्यो त गधा हो, गधाले गर्ने यस्तै हो तर गधासँग फाल्तु कुरामा विवाद गरेर राजाकहाँ आउने तिमी कस्तो हौ ? हो, त्यसैको दण्ड मैले तिमीलाई दिएको हो । के मैले पनि त्यो गधासँग घाँसको रङ्ग कस्तो हुन्छ भनेर विवाद गर्दै बस्नु छ र ? सिंहले भनेछ ।
वैशाख ११ गते नेपालमा लोकतन्त्र प्राप्तिको १८ वर्ष पुगेको छ । नेपालको लोकतन्त्र १९ वर्षको लक्का जवानीमा प्रवेश गरेको छ तर यतिबेला कतैकतैबाट लोकतान्त्रिक व्यवस्थाका विरुद्धमा प्रश्न उठाइने गरेको सुन्न थालिएको छ । नेपालमा लोकतन्त्र अफापसिद्ध भएको हुँदा वंश परम्परामा आधारित राजतन्त्रको पुनस्र्थापन गरी नागरिकलाई रैतीमा परिणत गरे मात्रै नेपालको उन्नति सम्भव छ भन्ने धारणा राख्नेहरू देखापर्न थालेका छन् । अहिले कतिपय लोकतान्त्रिक नेता तिनै राजावादीका कुराको खण्डन गर्दै लोकतन्त्र नै सर्वाधिक उपयुक्त व्यवस्था हो भन्ने सिद्ध गर्न कामले नभई कुराले कम्मर कसेर लागेका भेटिन्छन् ।
संसारमा प्रचलित विभिन्न खाले शासन व्यवस्था जस्तै लोकतन्त्र कुनै एक शासन व्यवस्था वा प्रणाली मात्रै होइन, यो त मानवको जीवन पद्धति नै हो । लोकतन्त्र शासन व्यवस्थाको आदर्श हो । मानिसलाई सार्वभौम अधिकार सम्पन्न बनाई स्वानुशासन सिकाउने प्रणाली लोकतन्त्र हो । आफ्नो अधिकारको भरपूर उपयोग गर्न र अधिकारको प्रयोग गर्दा अर्काको अधिकार कतै हनन त भएको छैन भनेर सचेत गराउने व्यवस्था लोकतन्त्र हो । राष्ट्र, समाज र सत्ताका अगुवाले सत्चरित्रताको मार्ग अनुसरण गरी अन्यलाई अनुशासनहिन हुनबाट जोगाउने प्रणाली लोकतन्त्र हो । अगुवाले बाटो बिराउँदा लोकतन्त्रमाथि प्रश्न उठेको छ ।
स्वतन्त्रता सबैका लागि प्यारो हुन्छ । अधिकार आफ्नै हातमा रहँदा सबैलाई सन्तुष्टि मिल्छ । कसैको दमनमा बसी अधिकार विहिनताको अवस्थामा भन्दा स्वतन्त्रता र अधिकारसहित कर्तव्य निर्वाह गर्दा मानिसमा बेग्लै जाँगर चल्छ । लोकतान्त्रिक प्रणालीमा सत्ता गठनमा आमनागरिकको अधिकार र सहभागिता हुन्छ । आवधिक निर्वाचनमार्फत सरकार चयन गर्ने सम्प्रभुता जनतामा रहने हुँदा नागरिकलाई हरेक निर्णय प्रक्रियामा आफैँ सहभागी भएको अनुभूति हुन्छ । अहिले विश्व नै लोकतान्त्रिक व्यवस्थातर्फ आकर्षित हुँदै गएको छ । कम्युनिस्ट शासन व्यवस्था रहेका मुलुकमा समेत लोकतन्त्रले जरो गाड्दै गएको देखिएकै छ । बाँकी रहेका केही कम्युनिस्ट मुलुकले समेत शासन व्यवस्थामा सुधार गरी अर्थ तथा सामाजिक व्यवस्थामा लोकतान्त्रिक परिवर्तन ल्याउँदै गएका छन् ।
यो परिस्थितिमा कुन व्यवस्था ठिक र कुन बेठिक ? कुन परिपाटी ठिक र कुन बेठिक ? जस्ता विवादमा रुमल्लिनु भनेको व्यर्थमा समय फाल्नु मात्रै हो । उही बाघ र गधाका बिचको तर्कवितर्क जस्तै मात्रै हुन्छ । बरु चिन्ता र चिन्तन गर्ने नै हो भने बितेका १८ वर्षमा लोकतान्त्रिक सत्ताले के के काम ग¥यो र के के गर्न सकेन भनेर विश्लेषण गर्नु पर्छ । लोकतन्त्रका हिमायती भनिएका राजनीतिक दलले सरकार सञ्चालन गर्न थालेदेखि कुन कुन कुरा सही भए र के कति काम लोकतान्त्रिक सिद्धान्त, मान्यता र आचरणविरुद्धका भए भनेर दुई महले खाता बनाई गलत व्रिmयाकलापकाप्रति आत्मालोचना गर्नु पर्छ ।
गएका १८ वर्षमा सही व्यक्तिलाई सही स्थान दिन चुकेका उदाहरण पर्याप्त छन् । योग्यलाई पन्छाएर दलको निकटताका आधारमा अयोग्यलाई प्राथमिकता दिने क्रम अझै टुटेको छैन । दलभित्रको पनि गुट र उपगुटलाई अधिकार विशेष बनाई क्षमतावान्लाई पाखा पारेर अक्षमलाई काखा च्यापी जिम्मेवारी सुम्पने बानी पनि दलहरूले सुधार्न सकेनन् । प्रतिस्पर्धा गराउने तर प्रतिस्पर्धामा खरो उत्रिएकालाई पछाडि धकेलेर योग्यता क्रमको सूचीमा आउनै नसकेकालाई अवसर प्रदान गर्ने काम पनि भएकै हुन् र अझै रोकिने छाँटकाँट देखिन्न । यस्तै परिघटनाले लोकतन्त्रका पक्षपातीमा निराशा बढ्ने र लोकतन्त्र विरोधी हौसिने अवस्था निर्माण भएको हो ।
पछिल्ला दिनमा बिग्रेका नेताका अग्रपङ्क्तिमा राखेर लोकतन्त्रलाई उडाउने काम भइरहेका छन् । लोकतन्त्र आएपछिका भ्रष्टाचार र विकृतिलाई उछालेर लोकतन्त्र भनेकै विकार हो भन्ने परिभाषित गर्न केही समूह जुटिरहेका छन् । लोकतन्त्रले ल्याएको गणतन्त्रमा सुशासन, समृद्धि र समुन्नति सम्भव नै हुँदैन भन्ने प्रमाणित गर्न जुटेकाहरू जुर्मुराइरहेका छन् । लोकतन्त्रका लागि लडेका र विश्वसामु उदारहरणस्वरूप प्रस्तुत गर्न सुहाउने व्यक्तित्व भने पर्दा पछाडि बसेर चिन्ता र चिन्तन गर्न बाध्य भएका छन् । यो अवस्थामा लोकतन्त्रवादीले सहिदको रगतबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न मेहनत नगर्ने हो भने पश्चगामीले टाउको उठाउने छन् ।
लोकतन्त्रमा विरोधीलाई दमन गरी तह लगाइँदैन । आफ्नो विरोध गर्नेलाई धरपकड गर्ने, गोली हान्ने, हत्या गर्ने, जेलमा कोच्ने आदि क्रियाकलाप लोकतन्त्रवादीका निमित्त सुहाउने काम होइनन् । यो व्यवस्थामा त राम्रा काम गरेर जनतालाई प्रभावित पार्ने र कामका माध्यमबाटै विरोधीका मुख थुन्ने गर्नु पर्छ । त्यसैले विगतका सबै कर्मका बारेमा मूल्याङ्कन गर्दै राम्रा कामको प्रचार र नराम्रा कामप्रति प्रायश्चित्त गर्दै शासन सत्ता चलाएका र आगामी दिनमा सत्तामा पुग्ने सम्भावना भएका दल सुध्रिनु नै एक मात्र विकल्प छ ।
लोकतन्त्र आएपछि के नेपाली जनताले बोल्ने अधिकार मात्रै पाएका हुन् र ? स्वतन्त्रताका नाममा छाडातन्त्र मात्रै फस्टाउने अवसर पाएको हो र ? गणतन्त्रमा मुलुक प्रवेश गरेपछि नागरिकको समृद्धिका खातिर सिन्को भाँच्ने सम्मको पनि काम भएको छैन र ? लोकतान्त्रिक कालमा देशको समुन्नतिको मार्गमा एकरत्ति पनि प्रगति भएको छैन र ? देश विकासको गति पञ्चायतकालको भन्दा लोकतान्त्रिक कालको तुलना गर्नै नमिल्ने गरी सुस्त छ र ? होइन भने १८ वर्षको प्रगति विवरणको श्वेतपत्र जनतासामु प्रस्तुत गर्न लोकतन्त्रपछिका सरकारमा बसेकाहरू किन सकिरहेका छैनन् ?
विकासको श्वेतपत्र प्रकाशन गर्दा विनाशको समेत अगाडि सारेर सच्चिने प्रतिबद्धता प्रकट गर्नु पनि लोकतन्त्रको सौन्दर्य हो । गल्तीलाई लुकाएर आफ्ना कुकर्मलाई नजरअन्दाज गरियो भने त्यसले निरङ्कुश सत्ताकै झल्को दिन पुग्छ । कमी कमजोरी स्वीकार गर्दै त्यसको निराकरणमा अग्रसर हुनु नै लोकतान्त्रिक शासन व्यवस्थाको गुण हो । काम गर्दा अनजानमा भएका वा परिस्थितिवश हुन पुगेका कमजोरी र जानाजान गरिएका गल्तीका बिचमा भिन्नता छुट्याइ माफी र दण्डका कदमहरू लोकतान्त्रिक सरकारले चालेमा जनताका असन्तुष्टिका स्वर आफैँ मलिन हुँदै जान्छन् ।
सके एक्लै बहुमत ल्याउनु, नसके दुई वा तीन दल मिलेर सदनमा बहुमत पु¥याइ सरकार गठन गर्नु मात्रै लोकतन्त्र होइन भन्नेमा पनि हेक्का राख्न सक्नु पर्छ । बहुमतको सत्ताले अल्पमतलाई थिचेर मनोमानी गर्ने स्वतन्त्रता पनि लोकतन्त्रले दिँदैन । लोकतन्त्र भनेको त त्यस्तो व्यवस्था हो जसले बहुमतले गरेको गल्तीलाई एक जनाले मात्रै औँल्यायो भने पनि स्वीकार गर्नु र सच्याउने व्यवस्था हो । प्रतिपक्षको सही आवाजलाई सुनेर देश र जनताका प्रति बफादार, उत्तरदायी र जिम्मेवारीपूर्वक कार्य गर्ने व्यवस्था लोकतन्त्र हो ।
सत्तामा रहँदा जनतासँग आमनिर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न कटिबद्ध रहने र प्रतिपक्षमा रहँदा तिनै प्रतिबद्धता सदन र सडकमा उठाउने व्यवस्था लोकतन्त्र हो । निर्वाचन सकिएपछि ती सबै वाचा बिर्सने दल र नेता कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन् । यस्तो गर्नेहरू लोकतन्त्रका कलङ्क मात्रै हुन्छन् । अहिले मुलुकका दुई ठुला राजनीतिक दलको सरकार भएका बेलामा ती दलले विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने र आगामी कदम निर्धारण गर्ने भनेका यस्तै विषयमा हो । गल्ती समीक्षा गर्दै सच्चिने बेला भनेको यही हो ।
राजनीतिक स्थिरता दिने भनेर गठबन्धन गर्ने, सुशासनको प्रत्याभूति गराउने भनेर दलहरू मिल्ने, संविधानमा देखिएका अप्ठेरा संशोधन गर्ने भनेर जनतालाई विश्वास दिलाउने अनि क्रियाकलाप त्यतातर्फ उन्मुख हुन सकेनन् भने ती दलहरूप्रतिको जनताको विश्वास घट्दै जान्छ । लोकतन्त्रवादी भनेर चिनिएका दलहरूमाथि जनताको भरोसा उड्दै गयो भने लोकतन्त्रमाथि नै प्रश्न उठ्छ । यस्ता सन्दर्भमा सचेत भई दलहरूले कदम चालेनन् भने नेपाली जनता विश्वपरिवेशमा अझै दशकौँ पछि पर्नेबाहेक केही परिणाम हात लाग्दैन ।
लोकतन्त्रप्राप्ति पछि ठुला दलका रूपमा परिचय पाएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जस र अपजस दुवैको भागी बन्नै पर्छ । जेजति राम्रा काम भए ती सबै यिनै दलका कारणबाटै भएका हुन् र जति हुन नपर्ने काम भए ती सबैमा पनि यिनै तीन दलका नेताको भूमिका छ । यी तीन वटै दलमा सबै दुधले धोएका नेता पनि छैनन्, सबै विष्टामा डुबेका मात्रै पनि छैनन् । लोकतन्त्रप्रति चिड्चिडाहट हुनेहरूले सबैलाई एउटै डालोमा राखेर एउटै मूल्याङ्कन गर्ने गरेका छन् र यसलाई हौवा बनाउने गरेका छन् । यसैका पछि कुरै नबुझी दौडने पनि धेरै नै छन् । यसबाट मुक्ति पाउन तीन दलले सच्चिनु नै अहिलेका आवश्यकता हो ।