• ६ वैशाख २०८२, शनिबार

दुगुनागढीको पुनर्निर्माण

blog

भोटेकोशी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक दुगुनागढी ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख ४ गते । भोटेकोशी गाउँपालिका–३ मा अवस्थित १६० वर्ष पुरानो ऐतिहासिक दुगुनागढीको पुनर्निर्माण गरिएको छ । 

बागमती प्रदेश सरकारले ३० लाख रुपियाँ उपलब्ध गराएपछि दुगुनागढीको पुनर्निर्माण गरिएको हो । दुगुनागढीलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि दुगुनागढी पुनः आकर्षणको केन्द्र बन्न थालेको उक्त वडाका अध्यक्ष निमासोना शेर्पाले जानकारी दिनुभयो ।

विसं. १९९२ मा नेपाल–तिब्बतबिच भएको लडाइँमा नेपालको युद्ध सुरक्षाका लागि उक्त दुगुनागढी तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गरेको इतिहासमा उल्लेख छ । नेपालका १० गढीमध्ये दुगुनागढी एक हो । यो गढी करिब ४२ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

दुगुनागढीमा रहेको विशाल पहराको खोँचमा तिब्बतसँग लडाइँ गर्दा निर्माण गरिएको उल्लेख छ । गढीमा तोप, ढुङ्गा, घोडाको टापको छापदेखि गोलघर, गोदाम घरलाई पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । दुगुनागढीलाई पुरातत्त्व विभागले गढीसम्बन्धी तथ्याङ्कमा विशेष महत्त्व दिएको छ । 

भूकम्पले ध्वस्त बनाएपछि लयमा फर्काउने कार्य भइरहेको छ । भूकम्पअघि गढीमा आन्तरिक र बाह्य गरेर दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका थिए । वार्षिक दुई हजारभन्दा बढी विदेशी आउने गरेका थिए । तातोपानी धारा स्नान गर्न, भैरवकुण्ड, लिस्तिमाई मन्दिर, छगाम बगामममा रहेको आनीगाउँको अवलोकन गर्न पर्यटक आउने गरेको विवरण छ । बिस्तारै अहिले यहाँ आउनेको सङ्ख्या बढिरहेको अध्यक्ष शेर्पाले बताउनुभयो । 

सोही पालिकाको ५ नम्बर वडामा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृतिमा पुनर्निर्माण गरिएको ‘अरनिको गाउँ’ रहेको छ । त्यहाँ घरवास पनि सञ्चालनमा ल्याइएकाले गढीमा आउनेको सङ्ख्या बढिरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।