चितवन समाचारदाता
चितवन, वैशाख ४ गते । शिक्षकको आन्दोलनका कारण चितवनका सामुदायिक विद्यालयको भर्ना अभियान रोकिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएपछि वैशाख २ गतेबाट हुने भर्ना अभियान रोकिएपछि जिल्लाका सामुदायिक विद्यालयमा भर्ना नभएको शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख लक्ष्मण देवकोटाले बताउनुभयो । “शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । यसैले जिल्लाका सामुदायिक विद्यालयमा कतै पनि भर्ना कार्यव्रmम चलेको छैन । आन्दोलनका कारण यस वर्षको शैक्षिक कार्यव्रmम नै प्रभावित भएको छ,” उहाँले भन्नुभयो ।
सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा समेत भर्ना कार्यव्रmम सञ्चालन नगर्नू भनेर अनुरोध गर्न थालेको उहाँले बताउनुभयो । भर्नाका समयमा आन्दोलन गरेपछि नयाँ विद्यार्थी मात्र नभएर एसइईको कापी परीक्षण, कक्षा १२ को परीक्षासमेत प्रभावित हुन सक्ने उहाँले बताउनुभयो ।
शैक्षिक तालिम तथा प्रशिक्षक कार्यक्रमसमेत प्रभावित भएको प्रमुख देवकोटाले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक विद्यालयतर्फका सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द भएको कार्यालयले जानकारी दिएको छ । चितवन जिल्लामा मात्रै सामुदायिक विद्यालय ३३९ वटा रहेका छन् । तीमध्ये कक्षा १ देखि ५ सम्म अध्यापन हुने १६४ वटा रहेका छन् । कक्षा १ देखि ८ सम्म पढाइ हुने ६७, कक्षा १ देखि १० सम्म पढाइ हुने ४५ र कक्षा १ देखि १२ सम्म पढाइ हुने ६३ वटा सामुदायिक विद्यालय छन् । संस्थागत १६४ र सामुदायिक गरेर ५०३ वटा विद्यालय जिल्लामा रहेका छन् । विद्यालयमा नयाँ भर्ना हुने, एउटा विद्यालयबाट अर्को विद्यालयमा सरेर जाने सबै कार्यव्रmम अहिले ठप्प भएको छ ।
जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्यापन हुने नारायणी नमुना माध्यमिक विद्यालयले सूचना प्रकाशित गरेर सबै कार्यव्रmम स्थगित भएको जानकारी गराएको छ । विद्यालयका प्राचार्य रामशरण दुवाडीले शैक्षिक हडताल जारी रहेकाले सबै कार्यक्रम स्थगित गरिएको सूचना प्रकाशित गर्नुभएको छ । यो विद्यालयमा तीन हजार ५३३ विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
नारायणीले गत वर्ष सबै तहमा गरेर ८४१ विद्यार्थी नयाँ भर्ना गरेको विद्यालयका सूचना अधिकारी खिमानन्द सापकोटाले जानकारी दिनुभयो । शैक्षिक आन्दोलनका कारण विद्यालयमा नयाँ भर्ना नलिए पनि अभिभावकलाई सूचना दिने र फोन सम्पर्क नम्बर राख्ने काम भइराखेको उहाँले बताउनुभयो । यस विद्यालयमा नयाँ भर्ना गर्न आउने विद्यार्थीको सङ्ख्या चार हजारभन्दा धेरै हुन थालेपछि प्रवेश परीक्षामा उत्कृष्टलाई मात्र भर्ना लिने गरिएको छ ।