काठमाडौं, वैशाख ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनु भएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गर्नुभयो । उहाँले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताउनु भयो । उहाँले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्व राजा शाहले दिनुभएको शुभकामनाप्रति असन्तुष्टि जनाउनु भयो । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बदमासी गर्न खोजिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष ठाकुरले भन्नुभयो, ‘‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ । माइतीघर मण्डला कहिल्यै खालि हुँदैन । त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ । चैत्र १५ गतेको घटना त देखेका नै छौँ । जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन् । इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन । घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो । तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ । यो सबै मिलाएर इतिहास हुन्छ । राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन् । राजा त गइसकेका हुन् । उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन । तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँमा ठाउँमा उपस्थित भएका छन् । अघि बढ फागुन ७ गतेको उनको वक्तव्य । त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधीनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बदमासी यहाँ पनि स्पष्ट देखिन्छ ।’
अध्यक्ष ठाकुरले आफूहरु अझै पनि संघर्षमै रहेको जिकिर गर्नुभयो ।