लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख १ गते । तराई–मधेशका विभिन्न जिल्लामा सोमबार परम्परागत सतुवाइन पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते पर्ने यो पर्व गर्मी मौसममा फल्ने नयाँ अन्न र फलफूललाई देवी–देवतामा अर्पण गरी मनाउने परम्परा रहेको छ ।
यस दिन विहानै नुहाई–धुवाई गरी देवी–देवताको पूजा गरेर सतुवा चढाइन्छ । सतुवाइन विशेष गरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा, सप्तरी, पर्सा, बारा लगायतका जिल्लाहरूमा व्यापक रूपमा मनाइन्छ ।
पर्वको अवसरमा नयाँ जौँको सात्तु (सतुवा) बनाई गुड (मिठा) मिसाएर देवी–देवतामा अर्पण गरिन्छ । त्यसपछि सोही सतुवालाई प्रसादका रूपमा घरपरिवार र छिमेकीहरूलाई वितरण गर्ने चलन छ ।
धनुषा जिल्लाकी ४५ वर्षीया संगीता देवी यादव भन्नुहुन्छ, “यो पर्व हाम्रो संस्कृति र स्वास्थ्यसँग जोडिएको छ । चैत–बैशाखको गर्मीमा सतुवा खानु शरीरको लागि निकै लाभदायक हुन्छ ।” उहाँका अनुसार सतुवा चिसो प्रकृतिको पेय भएकाले शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ । “गर्मी सुरु भएसँगै हाम्रो भान्सामा सधैं सतुवा तयार राखिन्छ,” संगीता देवीले बताउनुभयो ।
सामान्यतया देवी–देवतामा जौँको सतुवा मात्र अर्पण गरिए पनि, सर्वसाधारणले चना, गहुँ, मकै, जौँ, चामल लगायतका अन्नको मिश्रणबाट बनाइएको सतुवा पानीमा घोली, स्वादअनुसार गुड, चिनी वा नुन मिसाएर ग्रहण गर्ने चलन रहेको छ ।
यसले शरीरलाई शीतलता प्रदान गर्ने विश्वास गरिन्छ । त्यसैले तराई–मधेशमा गर्मी बढेपछि विहान घरबाट बाहिर निस्कनुअघि सतुवा खाएर जानु सामान्य अभ्यास बन्न गएको छ।
यसै सन्दर्भमा संस्कृतिकविद् परमेश्वर कापरी भन्नुहुन्छ, “सतुवा स्वास्थ्यका दृष्टिले पनि अति उपयोगी मानिन्छ । यसमा आवश्यक भिटामिन र पोषक तत्व पाइन्छ ।” उहाँका अनुसार, सतुवाइन पर्व संस्कृति, प्रकृति र परम्परागत जीवनशैलीसँग जोडिएको पर्व हो ।
कापरीका अनुसार, सतुवाइनको भोलिपल्ट मनाइने जुडशीतल पर्वमा विभिन्न परिकार—विशेषगरी तरकारीका तारेका परिकार (तरुवा) खाने चलन छ । त्यसैले त्यस दिनको भारी खानालाई सुपाच्य बनाउन अघिल्लो दिन सतुवा जस्तो हल्का र स्वास्थ्यवर्धक परिकार सेवन गर्ने परम्परा विकास भएको हो ।