• ५ वैशाख २०८२, शुक्रबार

कांग्रेसले कुशासनलाई कहिल्यै बढावा दिएको छैनः कांग्रेस प्रवक्ता डा. महत

blog

जनकपुरधामस्थित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत साथमा विमलेन्द्र निधिलगायतका कांग्रेसका नेता । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, चैत २९ गते ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले कहिल्यै पनि संस्थागत रूपमा कुशासनलाई बढावा नदिएको स्पष्ट पार्नुभयो ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले कांग्रेस सधैँ सुशासनको पक्षमा अडिग रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत रूपमा कोही कुशासनको पक्षमा उभिन्छ भने उसले कानुनी सजाय भोग्नुपर्छ । इमानदार नभए सजायको भागेदार हुनैपर्छ ।”

डा. महतले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको विचार र सिद्धान्तलाई आज पनि आत्मसात गर्दै आएको उल्लेख गर्नुभयो । “कानुन अनुसार शासन हुनुपर्छ, नागरिकलाई आर्थिक समृद्धिको पहुँचमा पु¥याउनुपर्छ, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा ध्यान दिइएको छ,” उहाँले भन्नुभयो, “उत्पादनमा निजी क्षेत्रको नेतृत्व र वितरणमा सरकारको भूमिका रहने हाम्रो नीति छ ।”

डा. महतले कांग्रेस सबैभन्दा ठुलो र अनुभवसम्पन्न दल भएको उल्लेख गर्दै अरू दलहरू आउने–जाने भए पनि कांग्रेसले निरन्तर जनताको विश्वास जित्दै आएको बताउनुभयो । “गठबन्धन सरकारमा धेरै सम्झौता गर्नुपर्छ, तर कांग्रेसले सुशासन, पारदर्शिता र कानुनी शासनलाई संस्थागत गर्दै आएको छ,” उहाँले भन्नुभयो ।

जनकपुरधामजस्तो ऐतिहासिक नगरीमा सरसफाइ र हरियाली अभियान आवश्यक रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार विकासमा विमलेन्द्र निधिले उल्लेखनीय काम गरेको बताउनुभयो । जनकपुरधामको फोहोर व्यवस्थापनमा सुधार भयो भने पर्यटक आकर्षण थपिन्छ उहाँले बताउनुभयो ।

यस्तै, कमला डाइभर्सन आयोजना कांग्रेसको प्राथमिकतामा पर्ने योजना भएको उल्लेख गर्दै डा. महतले हुलाकी राजमार्गको परिकल्पना पनि कांग्रेसले नै गरेको दाबी गर्नुभयो । “कमला र बागमतीमा पुल निर्माण सम्पन्न भएपछि मधेशको लाइफलाइन बन्ने हुलाकी राजमार्गको काम तीव्र हुन्छ,” उहाँले भन्नुभयो, “यदि सरकार दृढ भयो भने दुई वर्षमै झापादेखि कञ्चनपुरसम्मको हुलाकी मार्ग पूरा गर्न सकिन्छ ।”

उद्योग, व्यवसाय, पर्यटन र कृषिको रुपान्तरण नै मधेशको समृद्धिको मार्ग भएको बताउँदै उहाँले तराईको भूगोलले गर्दा उद्योग र व्यापारको सम्भावना पहाडभन्दा बढी छ, त्यसैले मधेशको योजना प्रति कांग्रेस गम्भीर रहेको डा. मतको भनाइ छ ।”

प्रदेश सरकारको भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिँदै डा. महतले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वयबाट मात्रै देशमा सुशासन कायम हुनसक्ने उल्लेख गर्नुभयो ।

यस्तै, राजा र पञ्चायतकालको तुलना गर्दै उहाँले अहिलेको नयाँ पुस्तालाई त्यो युग सुनौलो जस्तो लागेपनि त्यतिबेला स्वास्थ्य, विद्युत्, बाटोघाटो र नागरिकको जीवनस्तर निकै कमजोर रहेको स्मरण गराउनुभयो । “सामान्य नेपालीको आयु औसत ५५ वर्ष थियो, अहिले त्यो ७३ वर्ष पुगेको छ, त्यसकारण पनि लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै उहाँको दावी छ ।

डा. महतले पार्टीको १५ औं महाधिवेशनको बारेमा बोल्नुहुँदै उहाँले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार महाधिवेशन हुन्छ, यद्यपि, चार वर्ष पूरा भए पनि मङ्सिरमा महाधिवेशन हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, कांग्रेस धनुषा सभापति योगेन्द्र पजियारलगायत कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।