• १९ जेठ २०८२, सोमबार

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइँदै

blog

सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा भिटामिन ए र जुकाको औषधीसम्बन्धी जानकारी दिनुहुँदै पोषण फोकल पर्सन ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, चैत २८ गते । यही वैशाख ६ र ७ गते महोत्तरी जिल्लामा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेकोले कुनै बालबालिका नछुट्ने गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।

पोषण विशेष र राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरूलाई सबै बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागीताका लागि सहयोग गरिदिन हुन अनुरोध गरेको छ । 

कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन प्रतिभा सिंहले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधी निःशुल्क खुवाइने कार्यक्रम रहेकोले बढी भन्दा बढी प्रचारप्रसार गरि सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले भिटामिन ए, जुकाको औषधीसँगै वालभिटा वितरण तथा पोषण सम्बन्धी चेकजाँच समेत गरिने जानकारी दिनुभयो ।

उहाँले वर्षमा दुई पटक अभियानको रूपमा सञ्चालित हुँदै आएको यो कार्यक्रम यही वैशाखको ६ र ७ गते जिल्लाको सम्पूर्ण पालिकामा हुने भएकोले कुनै बालबालिका नछुट्न भनेर प्रचारप्रसार र सहयोग गरिदिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

महोत्तरी जिल्लामा ५१ हजार ४७७ बालबालिकाहरूलाई यस अभियान अन्तर्गत औषधी खुवाउने लक्ष्य राखिएको जानकारी दिनुहुँदै उहाँले हरेक पालिकाको वडाहरूमा रहेको टोल टोलमा स्वंयसेविकाहरू मार्फत आ–आफ्नो बालबालिकालाई औषधी खुवाउन अभिभावकहरूलाई आग्रह गर्नुभयो । आँखालाई स्वस्थ राख्ने, बालबालिकाको वृद्धि विकास गर्ने कार्यमा भिटामिन एको महत्त्वपूर्ण भूमिका रहने गरेको छ ।