• २२ चैत २०८१, शुक्रबार

चहर्‍याइरहेको घाउ

बाइस वर्ष कुरेपछि कुशको शव

blog

कुशको शव बनाएर दाहसंस्कारको तयारी गर्दै बेपत्ता टटेरामकी श्रीमती रामदुलारी थरुनी । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा 

गुलरिया (बर्दिया), चैत २१ गते । एकाबिहानै रामदुलारीको घरमा भिड बढ्दै थियो । केहीले हरियो कुशमा साबुन लगाएर नुहाउँदै (धुँदै) थिए । केही युवाले बाँस काटेर खट (शव लैजान प्रयोग गरिने साधन) बनाउँदै थिए । कुश धोईपखाली भित्र लगेपछि रुवाइको आवाज सुनियो ।

बेपत्ता टटेराम थारूकी श्रीमती रामदुलारीले रुँदै भन्नुभयो, “आइहाल्नुहुन्छ कि भनेर यतिका वर्षसम्म कुर्‍यौँ, अन्त्यमा आफ्नो मान्छेलाई कुशको शव बनाएर बिदाइ गर्नुपर्‍यो । अब त आस पनि मर्‍यो अनि काजकिरिया गर्न बाध्य भयौँ ।” बारबर्दिया नगरपालिका–७, सोनपुरका टटेराम थारूलाई २२ वर्षअघि तत्कालीन शाही नेपाली सेनाले घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे तीन घण्टामा फर्काइदिन्छौँ भनेर लगेका थिए तर टटेराम हालसम्म पनि फर्किनुभएन । सरकारले बेपत्ताको स्थिति सार्वजनिक गर्छ कि भनेर २२ वर्षसम्म कुर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया गर्न थालेका छन् । 

श्रीमती रामदुलारी थरुनीले भन्नुभयो, “अब कति कुर्नु ? घर फर्कने आस पनि मरिसक्यो । सबैले तेरो मान्छे फर्किंदैन किन काजकिरिया नगरेको भन्छन् । घरमा दुःख भएको काजकिरिया नगरेर हो भन्छन् । कति सुन्नु ।”

“श्रीमान्को काजकिरिया नगरी मर्छु कि जस्तो लाग्न थाल्यो, सोही ठाउँका अर्का बेपत्ता जग्गु थारूकी श्रीमती फिरिया थारूले भन्नुभयो, “छोराहरू पनि अलग अलग भइसके, बुवाको सम्पत्तिसमेत दिन पाइनँ । त्यसैले पनि गत शनिबार कुशको शव बनाएर काजकिरिया गरेँ । अब मृत्यु दर्ता गरेर छोराहरूलाई जग्गा नामसारी गरिदिन्छु ।” सोनपुर गाउँबाट २०५९ साउन २४ गते दुई जना र २६ गते चार जना गरी छ जनालाई बर्दियाको रम्भापुर ब्यारेकबाट आएको तत्कालीन शाही नेपाली सेनाको टोलीले लगेको थियो । घरपरिवारले लामो समयसम्म सेनाको ब्यारेकमा धाएर फिर्ता पठाइदिन आग्रह गरे पनि उनीहरूलाई फिर्ता गरिएन । उनीहरूको अवस्था अझैसम्म पनि अज्ञात छ । 

छ जनामध्ये टटेरामसहित तीन जनाको कुशको शव बनाएर सदगत गरी घरपरिवारले काजकिरिया गरेका छन् । एक जनाको परिवारले वैशाखमा काजकिरिया गर्ने तयारी गरिरहेका छन् । बर्दिया जिल्लामा हालसम्म कम्तीमा ४० जना बेपत्ताका परिवारले काजकिरिया गरिसकेको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो । उहाँले हाल कति बेपत्ताका परिवारले काजकिरिया गरी मृत्युदर्ता गरे भनेर तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो । 

अध्यक्ष चौधरीले सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा बेपत्ताका परिवारलाई सामाजिक र सांस्कृतिक समस्या परिरहेको र अर्कोतर्फ बेपत्ता व्यक्तिकै नाममा भएको चलअचल सम्पत्ति नामसारी गर्न समस्या परिरहेकाले बाध्य भएर काजकिरिया गरी मृत्यु दर्ता गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबु बेपत्ता हुँदा पेटमा भएको बच्चा २०/२५ वर्षको पुगिसक्यो । अझै पनि कति वर्ष कुर्न सक्छन् ?” 

सशस्त्र द्वन्द्वका क्रममा नेपालमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो । बेपत्ता आयोगका अनुसार बर्दिया जिल्लामा २५० जना व्यक्तिहरूलाई बेपत्ता पारिएको छ । २०६३ सालको विस्तृत शान्ति सम्झौतामा दुई महिनाभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने उल्लेख भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।