गोकर्ण पौडेल
तुलसीपुर, चैत १९ गते । घोराही तुलसीपुर सडकखण्ड बेलझुण्डीकै छेउमै रहेको बेलझुण्डी रङ्गशाला हरियो देखिन्छ । चैत महिनाको गर्मीयाम त्यो पनि सुख्खा क्षेत्रका रूपमा रहेको बेलझुण्डीमा रङ्गशालामा हरियो दुबो देखिन्छ । यसले यो क्षेत्रकै सुन्दरता बढाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेको बेलझुण्डी रङ्गशालाको संरक्षण भने दाङ जिल्ला खेलकुद विकास समितिले गर्दै आएको छ । वर्षायाममा हरियो र हिउँदेमा सुख्खा देखिने रङ्गशाला अहिले भने हरियो देखिएको हो । खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार रङ्गशालाको दुबोमा सिँचाइ गर्नका लागि दैनिक जनशक्ति परिचालन गरिएको बताउनुहुन्छ ।
२०८१ साल असार महिनामा चट्याङले ट्रान्समिटरमा समस्या आएर सिँचाइ गर्न समस्या भएको थियो । लुम्बिनी प्रदेश सरकारले विद्युत् मर्मत गरेसँगै सिँचाइ गर्नका लागि सहज भएको छ । कार्यालय प्रमुख राकेश परियारले वर्षायाममा रङ्गशालामा रोपिएको बरमुडा जातको दुबो चारैतिर फैलने र त्यसको काँटछाट नेपाली सेनाले प्रत्येक वर्ष गर्दै आएको बताउनुभयो ।
चार सय ६२ सिट क्षमता रहेको प्याराफिटसहितको एथलेक्टिस ट्रयाक भएको रङ्गशालामा आठौं राष्ट्रिय खेलकुदका विभिन्न खेलहरू सम्पन्न भएका थिए । २४ करोड २४ लाख ४५ हजार दुई सय ९३ रुपियाँको लागतमा सेन्थेटिक एथलेक्टिस ट्रयाक, फुटबल मैदान, नाली निर्माण, प्याराफिट, मिडिया घर निर्माण र साधारण प्याराफिट संरचना निर्माण गरिएका छन् ।
१६ बिघा क्षेत्रफल रहेको खेलकुद विकास समितिको जग्गामा निर्माण गरिएको रङ्गशालामा विभिन्न क्लब, विद्यालयले शुल्क तिरेर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालयले खेलकुद विकास समितिलाई २०४५ सालमा १६ बिघा जग्गा हस्तान्तरण गरेको थियो।