• २० चैत २०८१, बुधबार

चितवनको ब्रान्ड तास

blog

प्रशंसा पराजुली 

कक्षाः ११, वाल्मीकि शिक्षा सदन

भरतपुर, चितवन


दसैँतिहार जस्ता चाडपर्वमा रमाइलाका लागि खेलिने तासका बारेमा पक्कै पनि सुन्नुभएकै छ । हामी खेल्ने तासका कुरा नभई खाने तासका बारेमा चर्चा गर्ने छौँ । चितवनतिर बसोबास भएका वा चितवन पुगेकालाई खाने तासका बारेमा नौलो नलाग्न सक्छ तर पहिलो पटक खाने तासका बारेमा सुन्नु भएकालाई पक्कै अनौठो लाग्न सक्ला । चितवनमा यो चर्चित परिकारका रूपमा स्थापित भइसकेको छ । 

खसीको मासुलाई तावामा एकोहोरो भुटेर बनाइने मासुको परिकार नै तास हो । मासु खानेहरूका लागि यो परिकार स्वादिष्ट हुन्छ । काठमाडौँ, पोखरा, हेटौँडालगायतका स्थानका मानिस तास खानका लागि चितवन आइपुग्छन् । हुन त अचेल कतिपय सहरका रेस्टुरेन्टमा पनि तास पाउन थालेको छ ।  

नेपालमा तासको सुरुवात चितवनको भेटघाट रेस्टुरेन्ट एन्ड तास घरका सञ्चालक गोविन्दप्रसाद तिवारीले गर्नुभएको हो । दालचिनी, अलैँची, जायापत्ति, मरिच, जिरा, लसुन, प्याज, खुर्सानी, अदुवालगायतका मसला प्रयोग गरेर तास तयार गरिन्छ । मसलाको मात्रा मिलाएर राख्दा तास स्वादिलो बनेको हो ।

उहाँले २०३७ सालदेखि नारायणगढमा रेस्टुरेन्ट सुरु गर्नुभएको थियो । रेस्टुरेन्टमा नयाँ परिकार दिने इच्छाले उहाँले तासको व्यवसाय सुरु गर्नुभयो । उहाँले तास तयार गर्न सिक्न एक वर्ष लागेको बताउनुभयो । तासलाई खाजाका रूपमा खाइन्छ र योसँगै भुजा, अचार, सलाद दिने गरिन्छ ।

अहिले चितवनका अधिकांश रेस्टुरेन्टमा तास पाइन्छ । तास राखिएन भने रेस्टुरेन्ट नै सञ्चालन हुन कठिन छ । मामाघर रेस्टुरेन्टका सञ्चालक ऋषिकेश अर्याल आफूले सुरुमा इन्डियन कन्टिनेन्टल र तन्दुरी मात्रै राखेको तर व्यापार नभएपछि तास राख्नु परेको सुनाउनुभयो । 

   मुना