• २० चैत २०८१, बुधबार

रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

blog

घोराही समाचारदाता

घोराही, चैत १९ गते । बजेट अभावका कारण घोराही उपमहानगरपालिका–८ स्थित मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको काम रोकिएको छ । दुई वर्षअघि निर्माण सुरु भएको सहरी स्वास्थ्य केन्द्रको भवन गत वर्षदेखि ठप्प रहेको छ । 

आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको बजेटमा स्वास्थ्य केन्द्रको भवन निर्माणको काम सुरु भए पनि त्यसपछि बजेटले निरन्तरता नपाउँदा भवन निर्माणको काम रोकिएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर डिसीले बताउनुभयो । प्रदेश सरकारको अनुदान कार्यक्रम अन्तर्गत परेको १५ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको हो । 

उहाँका अनुसार १५ लाख बजेटबाट चारकोठे भवनको फाउन्डेसनसँगै पिल्लर उठाउने मात्र काम गरिएको छ । नयाँ भवन निर्माणको काम सम्पन्न नहुँदा पुरानो र साँघुरो भवनबाट नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको प्रमुख डिसीको भनाइ छ । 

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भए पनि योजना बहुवर्षीय कार्यक्रममा स्वीकृत नहुँदा बजेटको समस्या भएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेले बताउनुभयो । ठुला योजनाका काम गर्दा बहुवर्षीय कार्यक्रम अन्तर्गत स्वीकृत हुनुपर्ने भए पनि सहरी स्वास्थ्य केन्द्रको भवन बनाउने कार्यक्रम स्वीकृत हुन ढिलाइ हुँदा बजेटको समस्या भएको उहाँले बताउनुभयो ।

योजना निर्माणका लागि करिब ७०/८० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको भवन निर्माणका लागि बजेट नहुँदा योजना अलपत्र परेको स्थानीय कुलप्रसाद रजौरे बताउनुहुन्छ ।