• २० चैत २०८१, बुधबार

मुगुसम्म सूचना महामार्ग विस्तार

blog

नेपाल टेलिकमको सुर्खेतस्थित प्रादेशिक कार्यालयमा रहेको टावर । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता 

सुर्खेत, चैत १९ गते । नेपाल टेलिकमले मुगु सदरमुकाम गमगढीसम्म एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कालीकोट सदरमुकाम मान्म र जुम्ला हुँदै मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको हो । 

देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रूपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवं लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यो सूचना महामार्गले कालीकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्यान्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुने नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका निर्देशक डा. कमल लामिछानेले बताउनुभयो । सडकै सडकबाट टेलिकमको महामार्गको पहुँच पुर्‍याइएको छ । 

उहाँले भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिका लागिसमेत महत्वपूर्ण आधार निर्माण भएकाले माइक्रो वेभ रेडियो लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासमा कम्पनीका फाइबर इन्टरनेट तथा मोबाइल सेवासँग सम्बन्धित उपकरण अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार टेलिकमको यस कार्यालयलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाका रूपमा लिइएको छ । सेवा विस्तारसँगै त्यस क्षेत्रका सेवाग्राहीले हाल सञ्चालनमा रहेका सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको दाबी निर्देशक डा. लामिछानेले गर्नुभयो । 

यसै गरी कर्णालीमा वैकल्पिक मार्गबाट समेत फाइबर सेवा विस्तार गरिएकोले अब प्रदेशमा नेटवर्कमा हुने समस्या समाधान भएको उहाँको भनाइ छ । प्रदेश राजधानी सुर्खेतमा नेटवर्कको ह्रास नआओस् भनी तीन वटा वैकल्पिक मार्गबाट अप्टिकल फाइबर बिछ्याइएको उहाँले बताउनुभयो । निर्देशक डा. लामिछानेले डिजिटल कर्णाली बनाउने लक्ष्य पूरा गर्न लागिरहेको भन्दै कोहलपुर सुर्खेत अप्टिकल फाइबर लिङ्कका साथै हालै चिसापानी–बाबियाचौर–सुर्खेतबाट वैकल्पिक सेवा सञ्चालनमा आएकोले सेवाको गुणस्तर थप बढेको जनाउनुभयो ।

यस्तै सेवाग्राहीलाई सेवामा सहज बनाउन कार्यालयबाट चैबिसै घण्टा कामसमेत भइरहेको कार्यालयले जनाएको छ । टेलिकम प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख मधुसुदन दाहालले सुर्खेत क्षेत्रभरि ७० ठाउँमा मोबाइल सेवाका टावर निर्माण गरेको जानकारी दिनुभयो । उहाँले विगतको तुलनामा अहिले टेलिकमको सेवामा उल्लेख्य सुधार आएको दाबी गर्नुभयो ।