• २० चैत २०८१, बुधबार

एकै दिन चार वनमा आगलागी

blog

सिमकोट गाउँपालिका–७, चोखेचौरमा लागेको आगो । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत १९ गते । सोमबार एकै दिन चार वटा वनमा आगलागी भएको छ । गुच्ची च्याउ र घाँस राम्रो उम्रियोस् भनेर अज्ञात व्यक्तिले वनमा आगो लगाएको बताइएको छ । 

सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँका स्थानीय यज्ञ शाहीले सोमबार आफ्नो गाउँपालिकाका दुई वटा सामुदायिक वनमा आगलागी भएको बताउनुभयो । सिमकोट गाउँपालिका– ५ र ६ को ठाडाढुङ्गा सामुदायिक वन र ८ को चोखेचौर सामुदायिक वनमा आगो लागेको उहाँले जानकारी दिनुभयो । यी दुवै वनमा दिउँसोबाट आगलागी भएको देखिएको छ । सिमकोटको वनमा लागेको आगो निभाउन स्थानीय बासिन्दा पुगेको भए पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी कसले लगाएको हो भन्ने यकिन नभएको उहाँले बताउनुभयो । चोखेचौरको वनमा लागेको आगो निभाउन कोही पनि नगएको उहाँले बताउनुभयो । यी सामुदायिक वनमा रहेका रुख बिरुवा आगोमा जलेर नष्ट भएको उहाँको भनाइ छ । 

त्यसै गरी सर्केगार्ड गाउँपालिका–४, पातल सामुदायिक वनमा पनि आगलागी भएको छ । यो वनमा सिकारीले सिकार खेल्ने क्रममा वा च्याउका लागि वनमा आगो लगाएको हुन सक्ने स्थानीय जानकी सिंहले बताउनुभयो । यता चङ्खेली गाउँपालिका–६, नेप्काको सामुदायिक वनमा पनि आगलागी भएको स्थानीय देवधन तामाङले बताउनुभयो । उहाँका अनुसार विशेष गरी गुच्ची च्याउ र घाँस राम्रो उम्रन्छ भनेर यतिबेला आगो लगाउने गरिएको छ । 

सो वनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिएको छैन । सिमकोट गाउँपालिकाका दुई स्थानमा आगलागी भएको जानकारी पाए पनि अन्य दुई वटा वनमा लागेको आगलागीबारे डिभिजन वन कार्यालयले अन्भिज्ञता जनाएको छ । सिमकोटको वनमा लागेको आगो नियन्त्रणका लागि कर्मचारी खटाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।