ज्योति पन्थी
बर्दिया, चैत १९ गते । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.३ मा रहेको धनौराबाट नाबालकहरूलाई सीमा पार जान रोक लगाइएको छ ।
पछिल्लो समय भारतबाट लागु औषध भित्रने क्रम बढ्दै जान थाले पछि र सो नाकाबाट मानव बेच बिखन समेत हुन सक्ने भएको भन्दै नाबालकहरूलाई सीमा पार जान रोक लगाइएको हो ।
उक्त नाकाबाट भात तर्फ गई बालबालिका लागु औषधको दुब्र्यसनिमा फस्न सक्ने भएकाले १६ वर्ष मुनिका बालबालिकालाई एक्लै सिमापारको बजार जानबाट रोक लगाइएको मधुवन नगरपालिका वडा नं.३ का वडा अध्यक्ष नारायण मल्लले बताउनु भयो । नेपाल प्रहरीको धनौरा चेकपोस्टले आयोजना गरेको सर्वपक्षीय बैठकबाट एक्लै गएका १६ वर्ष मुनिका बालबालिका सबैलाई रोक्ने र अभिभावक सँग गए जान दिने निर्णय भएको वडा अध्यक्ष मल्लले बताउनु भयो ।
ओराली बजारको धनौरा हुँदै भारतको बठनिया बजार पुगेर युवाहरू फर्किदा धेरै कुलतमा फस्दै गएको अनुमान स्थानीयले गरेको र कुलत र बेचबिखनको समस्या नहोस् भनेर सीमाबाट १६ वर्ष मुनिका बालबालिकालाई एक्लै भारत तर्फ जान नदिने गरी सर्वपक्षीय निर्णय गरी रोक लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो ।
धनौरा देखि भारतको सीमा क्षेत्रमा पर्ने बजारमा अहिले पनि दिनहुँ सयौँको सङ्ख्यामा मानिसहरू समान खरिद गर्न जाने गरेका छन् ।