• २० चैत २०८१, बुधबार

भारतबाट अवैध भित्रिएको २२ लाख मूल्य बराबरको पशुजन्य पदार्थ बरामद

blog

कल्पना खरेल

नवलपरासी पश्चिम चैत १८ गते । नवलपरासी पश्चिमको विभिन्न सीमा नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको छ । चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा यो अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशु क्वारेनटाइन चेक पोस्टको टोलीले उक्त बराबरको पशुजन्य पदार्थ बरामद गरेको हो ।

बरामद भएका पशुजन्य पदार्थमा सबैभन्दा बढी तयारी बोइलर कुखुरा ११ लाख जतिको  छ । उक्त अवधिमा विभिन्न नाकाबाट १ हजार ८४२ जिउ कुखुरा बरामद भएको पशु क्वारेनटाइन चेक पोस्टका पशु चिकित्सक मनोज अधिकारीले जानकारी दिनुभयो । त्यसै गरी उक्त अवधिमा ७ लाख ५६ हजार बराबरको ७ हजार ५६० जिउ कुखुराका चल्ला, २ लाख ६ हजार बराबरको ८२५ केजी माछा र १ लाख २० हजार बढीको ६१ केजी टर्कीको मासु बरामद भएको छ ।

सोही अवधिको आठ महिनामा विभिन्न व्यक्तिहरूलाई पक्राउ गरी ३ लाख १४ हजार जरिवाना गरिएको अधिकारीले जानकारी दिनुभयो । यसैबिच गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाबाट चोरी निकासी हुँदै गरेको अवस्थामा करिब ३० लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको थियो ।

बरामद हुनेमा १९ लाख बराबरको ३ हजार १७३ जिउ तयारी कुखुरा, ६ लाख बराबरको ६ हजार जिउ चल्ला, ४ लाख ५० हजार बराबरको १ हजार ७६० केजी माछा र १८ हजार बराबरको अण्डा रहेको पशु क्वारेनटाइन चेक पोस्टले जनाएको छ ।